पोखरा/ नेपाली कांग्रेसको अगुवाइमा २०७६ सालको भदौ २४ गते पोखरा ९ मा पर्ने सेती नदी किनारमा विरुवा रोपियो । वृक्षरोपणमा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता तथा हालका राष्ट्रपति रामचन्द्र पौडेल सामेल थिए । उनले पिपलको ठूलै विरुवा रोपे अनि लामो मन्तव्य दिए । मन्तव्यको क्रममा उनले कांग्रेस रुपान्तरणको लागि निरन्तर लागिरहने उद्घोष पनि गरे । विरुवा रोप्ने औपचारिकता सकियो ।
बीपी जयन्तीमा कांग्रेस र पुष्पलाल श्रेष्ठ स्मृति दिवसमा एमालेले वृक्षरोपण गर्ने पुरानै परम्परा हो । यो उपक्रम रोकिएको छैन । तर, रोपिएका विरुवाको संरक्षणमा भने ध्यान दिने चलन छैन । यसपटक भने कांग्रेसले केही फरक गर्न खोज्यो । कास्की कांग्रेस क्षेत्र नम्बर २ शुक्रबार यसअघि रोपिएका विरुवाको गोडमेल कार्यक्रम आयोजना ग¥यो ।
कास्की क्षेत्र नम्बर २ का कार्यवाहक सभापति दीनेश आचार्यले बोटविरुवा रोपिने तर संरक्षण नहुने गरेको अवस्थालाई दृष्टिगत गर्दै बीपी स्मृति दिवसको अवसरमा गोडमेल कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा बीपीपुत्र डा.शशांक कोइराला प्रमुख अतिथि रहे । उनले विरुवा गोडमेल त गरेनन् तर सो क्षेत्रलाई बीपी बाटिका घोषणा गरे । बीपीपुत्रको पछि लागेका नेताहरुले पनि त्यसपछि भाषण छाँटे । गोडमेलभन्दा बढी उनीहरुको ध्यान फोटो खिच्नमा केन्द्रीत रह्यो । शशांकको वरपर लागेका उनीहरु त्यसरी नै फर्के ।





