शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एकल महिलाको पानी घट्ट

एकल महिलाको पानी घट्ट

दुई दशकदेखि पानीघट्टले धानको गुजारा ।


  • हरिकृष्ण गौतम
  • साउन ७ २०८०, आइतबार

म्याग्दी/उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाको घट्टेडाँडामाकी विष्णुकुमारी पूर्जा एका बिहानदेखि घरबाट निस्किएर साँझअबेर मात्र घर फर्किन्छिन् । ६० वर्षीया विष्णुकुमारीले सञ्चालन गरेको पानी घट्टमा कुटानी पिसानीका लागि आउने स्थानीयसँगै अधिकांस समय बित्छ । आधुनिक विद्युतीय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेपनि विष्णुकुमारीको गुजारा यसैबाट चल्ने गरेको छ ।

एकल महिला विष्णुकुमारीले विगत २० बर्षदेखि पानीघट्ट सञ्चालन गरेकी छन् । वितेका २० बर्षको अवधिमा विष्णुकुमारीले परिवारको आम्दानीको मुख्य सहारा श्रीमान र छोरा गुमाइन् । बिरामी भएर उपचारमै क्रममा परिवारमा एक पछि अर्को सदस्य गुमाएकी विष्णुकुमारीलाई जीविकोपार्जनको लागि परम्परागत पानीघट्ट आयस्रोतको माध्यम बनेको छ ।

वृद्ध अवस्थामा अन्य काम गर्न नसकेपनि पानीघट्टले घरखर्च चलाउने गरेको उनको भनाइ छ । ‘घरखर्च चलाउन सजिलो भएको छ,‘बुढेसकालमा पनि पानीघट्टलाई छोड्न सकेको छैन,मेरो प्रमुख आयस्रोत पानी घट्टबाट हुने आम्दानी नै हो’विष्णुकुमारीले भनिन् । उनले विगतमा जस्तो राम्रो कमाई नभएपनि पानी घट्टले आफ्नो परिचय बनाएको बताइन् ।

स्थानीयवासीले गहुँ, कोदो, चामल, मकैलगायतका अन्न पिसानी गर्न उनलाई नै रोज्ने गरेका छन् । पानी घट्टबाट अन्न पिसानी गर्दा पिसानी गरेको बस्तुको केही भाग घट्ट धनीलाई दिने चलन रहेको र केहीले थप नगद समेत दिने गरेको विष्णुकुमारीको भनाइ छ ।एक पाथी अन्न पिस्दा ज्यालावापत एक माना अन्न दिने नियमले घरखर्च चलाउन सजिलो भएको बताइन् ।स्थानीय ज्ञानप्रकाश माविको स्वामित्वमा रहेको घट्ट भाडामा लिएर सञ्चालन गरिरहेकी विष्णुकुमारीले आर्थिक अभावक कारण गाउँमा रहेका अन्य पानीघट्टलाई जस्तै आधुनिक उपकरण जडान गर्न नसकेको बताइन् । ‘घट्टेडाँडामा मात्रै लस्करै ८ वटा पानीघट्टको बीचमा रहेको विष्णुकुमारीको पुरानो घट्ट अवलोकनका लागि समेत आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->