संसारमा जन्मिएका सबै मानिसलाई भगवानको गुणानुवाद गाउने सौभाग्य मिल्दैन । जीवन काट्ने आ–आफ्नै शैली हुन्छन् । तिनै शैलीलाई हामी भाग्य ठान्छौं । कर्म गरेर भाग्य बलियो बनाउनु पर्छ । ता की भाग्य कसै गरी कमजोर नबनोस् र पूरा आयु सत् कर्ममा लाग्न प्रेरित गरोस् । हँसिलो अनुहार र फूर्तिलो शरीरबाट उच्चरित विनयशिल बोली वचनले सबैलाई प्रभावित पारोस् । यहि उर्जाभित्र निधारमा तिलक, काँधमा हरेराम भिरेर यत्रतत्र दर्शन पाइने आमालाई मैले धर्म आमाको नामले चिन्छु ।
सबै प्राणी जगतमा भगवानको शाश्वत रुप देख्ने उहाँका करुणामय नजरले बाल, वयस्क र वृद्धलाई समान देख्छन् । उहाँ भगवान विष्णुको पुण्य धाम निरयघाटमा बस्नुहुन्छ । वैष्णव मन्त्र सुनेपछि ‘हरिप्रिय’ नाम पाउनु भो, सबैले यहीँ नामले बोलाउन थाले । हरि कै नाम जप्ने, हरिकै शरणमा बाँच्ने र हरिकै नाममा रमाउने गर्न थाल्नु भो । यहाँ ‘जे दुख पर्नी कृष्ण यहि जन्ममा परोस् । फेरि कृष्ण जन्मन नपरोस्’। भनेर भगवानसंग सधैं वरदान माग्ने आमाको धर्म यात्राको वर्णन छ । उहाँ आफुले इच्छाएको कुरा भगवानले पुर्याउनु हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ।
नातिनातिना, छोरी र आफन्तहरुको अथाह माया उहाँका लागि अविस्मरणीय छ । भगवानको सान्निद्यमा सग्लो जीवनलाई समर्पण गर्नु चानचुने कुरा होइन । ३ छोरीको जन्म भएको थियो । विवाहको चार दशक नबित्दै कान्छी छोरीलाई काखमा बुझाएर श्रीमान भगवानको प्यारो हुनु भो, घर परिवार र छोरीहरुको जिम्मेवारी आफ्नै काँधमा पर्यो ।
करिब १० वर्ष गाँउमै दुःख गरेँ । गाइवस्तु मेलापात ऐँचोपैँचोले कष्टपुर्ण जीवन बिताएँ । भएको धेरथोर सम्पत्तिले छोरीहरुको विवाह गरेर दायित्व पूरा गरेँ । पछि क्रमशः जीवनले भगवानको साथ माग्यो उतै हिडें । उहाँ थप्नुहुन्छ ।
दिनभरी भगवानका लागि पुष्प माला बनाउँछौं । गौमातालाई सेवा गर्नुपर्छ । अन्य समयमा भगवानको भजन किर्तन गर्ने चलन छ । गाउँमा बिहान बेलुका कामधन्दा गरे पनि दिउँसोमा काम हुदैनथ्यो । यहाँ आनन्द छ ।
‘हरिप्रिय माता जी’ को वास्तविक नाम हरिकला मल्ल हो । हरिलाई प्रिय ठानेर जीवन ज्युँने आधार खोज्नु भएको कारण होला उहाँलाई हरिप्रिय भनिएको, जुन नाम मलाई पनि प्रिय लागेर जीवन यथार्थ प्रस्तुत गर्दै छु । उहाँको जन्म बागलुङको भिमपोखरामा वि.सं २००५ सालमा भएको हो । उहाँ बाबु हरिबहादुर र आमा गोरी क्षेत्रीकी कान्छी छोरीका रूपमा जन्मिनु भएको थियो । १५ वर्षको कलिलो उमेरमा मल्लाजका दलबहादुर मल्लसंग कान्छी श्रीमतीका रुपमा बिहे भएको थियो । मल्लले सन्तान सुखका लागि अर्को बिहे गर्नुभएको थियो । पल्टनका लाहुरेलाई ज्वाईं बनाउन पर्यो भन्ने आफन्तको अनुरोधलाई बाबाआमाले काट्न सक्नु भएन । अन्ततः बा आमाले देखाएको बाटोमा हिंड्ने स्वीकारोक्ती उहाँमा पलायो । दुखसुख विवाहपछिको जीवन चल्दै थियो तर दैवको दृष्टि उहाँमा पर्यो । अकालमै खसमले छोडेर जानुभो, एक्लो जीवन तीन छोरीको जन्मले बाँच्ने आशा पलाउँदै गयो ।
जीवनमा धेरै अप्रत्याशित घटनाहरुको सामना गरेँ श्रीमानको देहावसानलाई नियति माने पनि जेठी छोरीको मृत्युलाई सम्झिदा कहाली लाग्छ । जीवनभर देखिएका आफन्तका त्रासद मृत्युहरुले मन पोल्छन् । तिनै घटनाक्रमहरुले भक्कानिएको मन सम्हाल्ने हरि हुनुहुन्छ । त्यसैले उहाँको शरणमा पुग्दा न्यानो अनुभव हुन्छ । शरणको मरण गर्न नजान्ने हरि भगवानले जन्म मृत्युको चक्रलाई निर्धारण गर्नु भएको छ । जुन नियम हामीले मान्नै पर्छ । संसारमा रहेका सबै प्राणीमा आत्मा हुन्छ । कोहि कसैले कसैप्रती कुभावना पैदा गर्नु हुँदैन । सबै प्राणीमा समभाव प्रकट गर्ने मानिसलाई भगवानले कल्याण गर्नुहुन्छ । भगवान नारायणको इच्छा अनुसार मेरो जन्म भएको हो । उहाँकै आज्ञाले यो लोकबाट बिदा हुनुपर्छ भन्ने आमाको बुझाइले म निक्कै प्रभावित भए जस्को चाह यसरी प्रारम्भ हुन्छ ।
जीवनमा नयाँ कार्यको थालनी गर्न कसै न कसैको प्रेरणा आवश्यक हुन्छ । उहाँलाई हरिप्रियको नाम दिनमा सालबोट घर भएकी पुरुषोत्तम माता जिको महत्वपूर्ण भुमिका रहन्छ । विवाह गरेको १५ महिनामा श्रीमानको मृत्यु भएको थियो रे ! उहाँलाई भेटेर उहाँको जीवन यथार्थ बुझ्न आतुर छु । तर समयले कलम रोकिरहेको छ । म पर्खिरहेको छु । जीवनले एक तमास गति लिइरहेछ । सानो उमेरको सिन्दुर यात्रालाई रहर नलाग्दै परित्याग गर्न बाध्य उहाँको मन कति पवित्र होला । जीवनले किन सबै खुशी गुमायो ? किन दैवले उहाँको घरबासमा कुदृष्टी लगायो ? के थियो उहाँको खुशीस भगवानले साट्ने पैँचो ? किन खुशीलाई खुशीसंगै सुख रहन दिएन कालले? यो प्रश्न मेरो अगाडि उभिइरहेको छ ।
पुरानो समयमा जन्मिएका मानिसहरुले चप्पल किदैनथ्ये । किनेका चप्पल लगाएर भन्दा खाली खुट्टा हिड्दा सुरक्षीत महशुस गर्थे । अहिले विलासी जीवन बिताएका हामीहरुलाई खाली खुट्टा हिडेर मुक्तिनाथ गएको कुरा सुन्दै अचम्म लाग्छ । २०५० सालतिर बागलुङको पञ्चासेमा रहेका बेङकटेश्वर भगवानका पिठाधिश्वर एवं वैष्णव गुरु मुकुन्द स्वामीसँग मन्त्र सुने लगत्तै ८ दिनको कठिन यात्रा तय गरेर मुक्तिनाथ भगवानको दर्शन गर्न पुग्नु भएको थियो रे । बढ्दो उमेरले शरीर कमजोर भयो । हात खुट्टाले टाढाको यात्रा गर्न डराउँछन् । त्यसैले निरयघाटमा बस्छु । पञ्चासे, सहस्रधारा, रत्नेचौर र कुँडुलेमा रहनु भएका भगवानको दर्शनलाई चारधामको दर्शन सम्झिन्छु उहाँले थप्नु हुन्छ ।
नियमित शुद्धतामा रहनु, वचन र व्यवहार शुद्धिलाई प्रमुख धर्म सम्झिनु, भगवानमा सत् स्वरुपको परिकल्पना गरि उहाँको उत्तम भक्त बन्नु, गौमाताको रक्षामा जीवन समर्पित गर्नु, दैनिक भगवानको उपासना गर्नु, उहाँको प्रमुख कर्म रहेको छ । मन्दिरमा व्यवस्थापन समितिका अलावा अन्य भक्तजनहरु साथ रहेको उहाँ बताउनुहुन्छ । मानिसहरुका विभिन्न धार्मिक पर्वहरु, औंशि, पुर्णिामा, बाबुआमाको पुण्य तिथि र जन्मोत्सवको अवसरमा मानिसहरुले आश्रममा आवश्यक खाद्यान्न र अनाजहरु दिने चलन छ । जस्लाई हामीहरुले आश्रमको प्रमुख आय स्रोत र सहारा मान्ने गरेका छौं । आश्रममा भगवानको सेवा गर्न १ जना पुजारी, हामी ४ जना माता जीहरु र एक जना गौमाताको हेरचाह गर्ने कर्मचारीसहित जम्मा ६ जना बस्दै आएका छौं ।
मन्दिरको नाममा रहेको केही खेतीयोग्य जग्गामा आवश्यक खेती गर्छौं । करिब ३ दशकको यस बसाईमा सुख र खुशीले साथ छोडेका छैनन् । आफू खुशी हुनु नै सर्वोपरि महिमाको विषय हो । नातिनातिना र छोरीहरुले घर फर्कन आग्रह गर्छन् तर घर फर्किन मन लाग्दैन । आश्रमको बसाई र भगवानको मायाले घर आउन मनले मान्दैन पछि जीवनले ठाउँ नपाउँदा प्यारो बन्ने काख तिमीहरुको नै हो, भन्छु । उनीहरु मौन हुन्छन् । उहाँले यो जीवन पाएर निकै खुशी हुनुहुन्छ । अर्को जन्म नहोस् तर यो जीवनमा भगवानको नाम जपेरै मर्न पाइयोस् । भनेर भगवानका चरणहरुको स्पर्शमा रमाउने धर्म आमा फराकिलो मन लिएर धर्म रक्षाका लागि जीवन कटाइ रहनु भएको छ । भगवानको निशर्त भक्त, धार्मिक व्यक्तित्व, मायाकी खानी, सर्वत्र संसारलाई देवत्वका रुपमा पहिचान गराउन सामथ्र्यवान् धर्म आमाको मन प्रशंसनिय छ । उहाँले भगवानको गुणानुवाद गाउने मात्र होइन । उहाँको वासस्थानलाई समेत दृष्टि गोचर दिनुहुन्छ । जस्का निर्देशित नयनले भगवानको रक्षार्थ सहस्रधारा, निरय र पञ्चासेको मन्दिरलाई क्रमशः १०, २० र १० हजार दान गर्नुभएको छ । अरु अगण्य मात्रामा दान गर्नुभएको धर्म आमाले निरयमा आफुलाई बस्ने प्रयोजनमा निर्माण गरेको सत्तल पनि ठूलो पौरखले निर्माण गर्नुभएको छ ।
पुरानो जमनामा जन्मियौ । पढ्ने अवसर पाइएन । महिलाले पढ्नु हुँदैन भन्थ्ये । त्यसैमाथी संस्कृतका पुस्तक छोएमा पाप लाग्छ भन्ने समाजमा जन्मिए पनि अहिले उहाँ ‘अमृत जन्मसी तुलसे नमः’ भनेर तुलसीको अर्चना गर्नुहुन्छ । बिहान उठ्दा बित्तिकै ‘कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती करमुलेस्थितो ब्रम्ह प्रभाते कर दर्शनम्’ भनेर दुई हातको दर्शनमा लक्ष्मी, सरस्वती र ब्रह्माको उपासना गर्नुहुन्छ । त्यसै गरि प्रातकालमा पृथ्वी मातालाई ढुग्ने प्रायोजनको लागि ‘समुन्द्र वसने देवि पर्वतस्न मण्डिते । विष्णु पत्नी नमस्तुभ्यं पाद पश्यम् क्षमस्वमे ।’ भन्ने मन्त्र उच्चारण गर्नुहुन्छ । यसरी एकातर्फ जीवनमा आएको विभिन्न परिस्थितिको सामना गर्दै तिर्थस्थलको बसाइमा आनन्दानुभुती खोजी रहेका आमाहरूको जीवन रक्षाका लागि विभिन्न आमा समूह, युवा क्लब, धार्मिक, सामाजिक र साँस्कृतिक संघ संस्थाहरुले सक्रियता देखाउनु आवश्यक छ । भने अर्कोतर्फ उहाँमा जस्तो भक्तिभाव सर्वत्र जगतले राख्ने भएमा धर्मको रक्षाका लागि कोहि कसैले कुनै अभियन्ता गुहार्नु पर्दैनथ्यो, होला ।





