मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सम्झनामा वाचन शिरोमणि पं. नारायण पोख्रेल

सम्झनामा वाचन शिरोमणि पं. नारायण पोख्रेल


  • माधव चापागाई
  • साउन ३० २०८०, मंगलबार

धर्म रक्षाका लागि धार्मिक कार्य गर्ने/गराउने व्यक्तिलाई धार्मिक अभियान्ता भनिन्छ । यस्ता व्यक्तिले धर्मको व्याख्या गर्दछन् । धार्मिक पुस्तकहरुमा भएका नैतिक शिक्षालाई व्यवहारिक बनाउनु उनीहरुको कर्तव्य हुन्छ । नेपालको सन्दर्भमा वाचन शिरोमणि पण्डित स्व.नारायण प्रसाद पोख्रेल यस्तै अभियान्ता एवं पण्डित थिए । उनको जन्म वि.सं २०१३ सालमा गोर्खा जिल्लामा भएको थियो । उनले नेपालमा धार्मिक कथा वस्तुलाई संगीतसंग जोडेर पुराण भन्ने आकर्षक कार्यको थालनी गरेका थिए । पुराण एवं धार्मिक प्रवचनको माध्यमबाट सामाजिक, साँस्कृतिक, आर्थिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने अविस्मरणीय व्यक्तित्वका रूपमा उनलाई चिनिन्छ ।

उनले ऐतिहासिक र पौराणिक विषयवस्तुमा आधारित भएर व्यवहारिक सीप र नैतिक शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पु¥याएका थिए । त्यसैले उनलाई निकटमा रहेका र नजिकबाट चिनेका मानिसहरुले धर्म गुरु भन्ने गरेका छन् । उनका वाणीहरुले बालक, वयस्क, युवा युवती र वृद्धवृद्धा लगायत सम्पुर्णलाई मन्त्रमुग्ध पाथ्र्ये । उनले नेपालका विभिन्न वर्ग र पेशाका मानिसहरुलाई आफ्नो अभियानमा समावेश गराएका थिए । पुर्वीय दर्शन र सिद्धान्तले पूर्ण उनले आफूमा भएको ज्ञान् पुराणमा आधारित भएर प्रस्तुत गर्थे । जस्लाई धनधान्यान्चल महायज्ञको सुन्दर नाम दिइएको थियो ।

यस्ता महायज्ञहरुमा सञ्चालक समितिहरुमार्फत आर्थिक संकलन गर्ने काम उनले गर्थे । जुन रकमलाई समितिले अनुकूलका लक्षित शीर्षकमा खर्च गर्थे । उनले यहि अभियानमार्फत दर्जनौंको संख्यामा विद्यालय, क्याम्पस, अस्पताल, वृद्धाश्रम, सामाजिक भवन, बाटोघाटो, संस्कृत पाठशाला, मठ मन्दिर, देवालयहरु निर्माण गर्न सफल भएका थिए । जसका कारण नेपालका यावत् क्षेत्रको विकासमा टेवा पुगेको थियो । शिक्षा नपुगेको ठाउँमा नयाँ र प्राविधिक विषयहरुको श्रीगणेश गर्नु, सहज रूपमा स्वास्थ्य सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्नु, समाजमा चेतना छर्नु, मानिसहरुलाई सकारात्मक व्यवहारतर्फ आकृष्ट पार्नु, घरायसी व्यवहारमा उत्पन्न समस्याको बोध गरि समाधानका लागि दृष्टान्तहरु प्रस्तुत गर्नु/गराउनु, सामाजिक विकृती र विसङ्गतिलाई हटाउनु, समाजमा सहकार्य, सहमति र सहअस्तित्वको भाव जागृत गराउनु, मानिसलाई खराब आचरण परित्याग गर्न लगाउनु, समाजमा हुने असत् कर्महरुका विरुद्ध सकारात्मक सन्देश प्रवाह गर्नु, धार्मिक नीति नियमहरुलाई व्यवहारिक तवरबाट व्याख्या गरि मानिसलाई सत् कर्म गर्न प्रेरित गराउनु, हिन्दुत्वको रक्षाका लागि धर्मभित्रका वैज्ञानिक पक्षको प्रचार प्रसार गर्नु, समाजमा नैतिक शिक्षाको प्रचार प्रसार गरि सभ्य समाज निर्माणमा सहयोग पुर्याउनु, जस्ता दर्जनौं उद्देश्यहरु उनले बोकेका थिए । जुन उदेश्य र संकल्पले उनलाई अमर बनाएका छन् ।

तत्कालीन समयमा विश्व हिन्दु महासंघ नेपालको राष्ट्रिय अध्यक्षसमेत बनेका उनले नेपाललाई विश्वका हिन्दुहरूको एक उत्कृष्ट गन्तव्य निर्माण गरि लाखौं पर्यटक भित्र्याउने परिकल्पना गरेका थिए । उनको प्रवचन शैली र सांगीतिक प्रस्तुतीबाट प्रभावित भएर नेपालका उच्च पदस्थ व्यक्तिहरू, धनी, गरिब, साक्षर, निरक्षर, व्यापारी र छिमेकी देश भारतका भक्तजन समेत उनको प्रवचन सुन्न आउथे । स्व. पण्डित पोख्रेललाई नजिकबाट चिन्ने र उनले वाचन गरेका पुराण सुन्ने मानिसहरू भन्छन् । यस्तो वाक् शक्ति र विद्वता भएको व्यक्ति सयौं वर्षको अन्तरालमा पृथ्वीमा अवतरित हुन्छन् । नेपालको धार्मिक इतिहासमा उनी जत्तिको क्षमतावान् पण्डित बन्न वर्षौ तपस्या गर्नुपर्छ । उनी पछिका सयौं पण्डितहरुले उनको सिको गरे तर उनको स्थान लिन सकेका छैनन् ।

त्यतिबेला आध्यात्मवादलाई भौतिक विज्ञानसंग जोडेर स्पष्ट कारणसहित कसैले व्याख्या गथ्र्याे त उनैको नाम आउँथ्यो । नेपालको इतिहासमा अध्यात्मवादलाई अंगालेर समाज सुधारको अभियान चलाउने प्रथम व्यक्ति पनि वाचन शिरोमणि पोख्रेल नै हुन् ।

नेपालमा पहिलो पटक सांगीतिक रुपमा पुराणहरुको वाचन गरि धार्मिक एकताको सन्देश दिने र सबै जातजातिलाई एउटै सुत्रमा आबद्ध गर्ने उनको सोच अलौकिक थियो । सुमधुर स्वरका धनी पोख्रेलले बोलेका वचनहरु सबै भजनको शैलीमा स्फुरित हुन्थ्ये । उनी कसैप्रती वैरभाव राख्दैनथ्ये । सबैलाई समानदृष्टि दिन्थे । उनलाई कर्म, ज्ञान र साधनाका हिसाबले कुनै देवताको रुपभन्दा कम मान्नु पर्दैनथ्यो । उनले उचनिच स्वरमा हरेक क्षण भगवानको गुणानुवाद गाउँथ्ये । उनको वाचन कला र ज्ञानको मापन गर्दा र अर्थ संकलनको सन्दर्भमा उनलाई सरस्वती र लक्ष्मी दुवैले पुर्ण दृष्टि दिएको मान्न सकिन्छ । व्यास आसनमा आसिन उनलाई भक्तजनहरुले भगवानकै स्वरुपमा पुजा गर्थे । उनले आफ्नो जीवन कालमा धर्मको मात्र व्याख्या गरेका थिएनन् । समाजमा अध्यात्मको जग निर्माण गरि सबै जातजाति र भाषाभाषीमा समानताको विगुल फुकेका थिए । तसर्थ उनलाई नेपालको इतिहासमा पहिलो आध्यात्मिक गुरु मान्न सकिन्छ ।

ऊनी सयौंको संख्यामा श्रीमद्भागवत धनधान्यान्चल महायज्ञ गरेर नेपालीहरुका बिच लोकप्रिय बन्दै गएका थिए । तर उनै परिवर्तनका बाहक, अध्यात्म र भौतिक संसारलाई नजिकबाट नियाल्ने धर्मशास्त्रका ज्ञाता, महान प्रतिभाशाली व्यक्तित्वलाई कसैले चिनेनन् । अन्ततः उनलाई कालको मुखमा पु¥याए । आफूलाई प्रगतिवादी र परिवर्तनशिल भन्नेहरूले तिनै विकासका पर्याय, नैतिक शिक्षाका खानी, धर्म गुरु, हिन्दु धर्म र संस्कारका यौगिक शक्तिलाई मृत्युको सिकार बनाइए ।

यसरी धर्म गुरु पोख्रेललाई २०६२ साल वैशाख २३ गते नेपाल आमाले बिदा गर्न बाध्य भइन् । रुपन्देहीको एक क्याम्पसमा आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा सरिक हुँदै गर्दा उनको हत्या भएको थियो । एकातर्फ निर्दोष पण्डित, अर्कोतर्फ सबैले गुरु मानेका परम् पुजनीय गुरु र धार्मिक अभियान्ताको हत्या भएको आज १७ वर्ष पुग्दा समेत सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन । हुन त राजाले न्याय नपाएको देशमा एउटा मामुली पण्डितलाई मार्दा को बोल्थ्यो र ? उनको पुराण वाचनको शैलीले सयौंको संख्यामा पण्डित र आध्यात्मिक अभियान्ता जन्मिए । समुदायमा एकाताको सन्देश प्रवाहित भयो ।

हिन्दु धर्म र संस्कृतीले नयाँ जीवन पायो । उनकै छोरा दिनबन्धु पोख्रेलले समेत बाबुको कार्यशैली प्रयोग गरेर बाबुको सपना पूरा गरिरहेका छन् । तर बिडम्बना बाबुको हत्यारालाई कानुनी कठघरामा उभ्याउन सकेका छैनन् । ‘त्यस्ता धार्मिक व्यक्तिको हत्या जसले गरे पनि कहिल्यै न्याय हुने छैन । भगवानले उसलाई कहिल्यै शान्तिको श्वास फेर्न दिने छैनन् ।’ समाजका लागि काम गर्ने पण्डितको हत्या गरेर कसले के पायो थाहा छैन तर अहिलेसम्म हत्याराको खोजबिन नहुनु अझै दुःख लाग्दो अवस्था हो । पहिले पहिले व्यासमा बसेको पण्डितलाई मार्नु, गद्दीका राजा, बाधिएको पशु, कुनापसेकी सुत्केरी नारी र किरिया पुत्रिलाई मार्नु हुँदैन आततायी पाप लाग्छ भन्थ्ये । तर यो न्यायले शिर उठाउन नपाएको देशमा के पाप के धर्म सबै कर्महरुले स्वतन्त्रता पाएका छन् । के हिन्दु धर्मका अभियानता र पण्डितको न्याय अनि धार्मिक अस्तित्व धर्म निरपेक्षता भित्रको जञ्जालमा परेकै हो त ? नेपाल सरकारले पहिलो धार्मिक सहिद भनेर उनलाई सम्मान त गरेको छ । तर हत्यारा खोजेर कार्वाही गर्न नसक्ने सरकारले उनलाई मरणोपरान्त सहिदको टीका लगाउदैमा के उनको आत्माले शान्ति पाउला ? अनि यी लाखौं भक्तजनको चित्त बुझ्ला ?

यसरी पण्डित नारायण पोख्रेलले नेपालको विकास र हिन्दु धर्मको युगान्तकारी परिवर्तनको बाटो खोजी रहदा उनको हत्या भएको थियो । हत्याको समयमा उनी जुन क्याम्पसको लागि अर्थ संकलनमा जुटेका थिए । सो क्याम्पसको नाम उनकै सम्झनामा उनैको नाम राखिएको छ । भन्ने सुनिन्छ । यो कार्य उदाहरणीय नै मान्नुपर्छ । तै पनि उनको आत्माले न्याय पाएको अनुभूति तब गर्ने छ जतिबेला हत्यारालाई कार्वाही गरिने छ । अन्ततः हिन्दु धर्म र धार्मिक अभियान्ताहरुले सुरक्षित महशुस गर्नेछन् ।
यसर्थ नेपाल आमाको उन्नयनका लागि पहिलो पटक समुदायस्तरबाट विकासको उद्घोष गर्ने आदरणीय गुरुप्रती कोटिकोटी श्रद्धाभाव अर्पण गर्दछु । एक्काइसौं शताब्दीले चिन्न नसकेको महान व्यक्तित्व, युगपुरुष, वाचन शिरोमणि स्व. नारायण पोख्रेल ज्युलाई तत्कालीन समय र प्रगतिवादीहरुले चिन्न नसके पनि नेपाल र नेपालीहरुले अविश्रान्त सम्झिरहने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->