पोखरा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका ११ जिल्लामा नयाँ इन्चार्ज तोकेको छ । पोखरामा समपन्न गण्डकी प्रदेशको सातौं पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नयाँ नेताहरुलाई जिम्मेवारी दिएको छ ।
माओवादीले पनि एमालेको सिको गर्दै आफ्नो भन्दा फरक फरक भूगोल र क्षेत्रमा जिम्मेवारी तोकेको छ । माओवादीका केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण) स्याङ्जा जिल्ला इन्चार्ज बनेका छन् । अर्का केन्द्रीय सदस्य दीपक कोइरालालाई गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ । कास्कीमा पूर्वसभामुख नेत्रनाथ अधिकारी (हिमाल) इन्चार्ज बनेका छन् ।
माओवादीले बागलुङमा गोविन्द पौडेल, पर्वतमा बलावती शर्मा, तनहुँमा शैलेन्द्र घिमिरे, लमजुङमा आशा खनाल, मनाङमा बुद्धिराम गुरुङ, नवलपुरमा अमर तमु, म्याग्दीमा गुप्तबहादुर हमाल र मुस्ताङमा कपिल लामालाई इन्चार्जको जिम्मेवारी दिएको प्रदेश इन्चार्ज देवेन्द्र पौडेल (सुनील) ले जानकारी दिए ।
माओवादीले भदौ १६ देखि सञ्चालन गर्ने ३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को पूर्वसन्ध्यामा नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका इन्चार्जमा परशुराम रम्तेल, मादीमा धना तमु र रुपामा सतिमाया गुरुङ छन् । माछापुच्छ्रे गाउँपालिका इन्चार्जको जिम्मेवारी जिल्ला इन्चार्जसमेत रहेका नेत्रनाथ अधिकारीले पाएका छन् ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत गोरखाको एउटा वडामा खटिने भएका छन् । उनी माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको वडा बारपाक सुलिकोट वडा नं. ८ मा पार्टीको अभियानमा खटिने गोरखा इन्चार्ज दीपक कोइरालाले जानकारी दिए ।




