मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

स्मरणमा दस वर्षे जनयुद्ध : त्रासै त्रासमा अमलाचौर

स्मरणमा दस वर्षे जनयुद्ध : त्रासै त्रासमा अमलाचौर


  • माधव चापागाई
  • भाद्र ७ २०८०, बिहिबार

नेपालको राजनैतिक इतिहासमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा भएको थियो । पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको नेतृत्वमा समाज सुधारको अभियान स्वरुप उक्त पार्टी गठन भएको थियो । पार्टीले स्थापना कालदेखि २०५१ सालसम्म विभिन्न उतारचढावका बिचमा आफ्नो आन्दोलन अगाडि बढायो । यसै समयमा प्रचण्ड नेतृत्वले जनवादी क्रान्तिको फौजीदारी कार्यदिशा निर्माण गरेलगत्तै पार्टीको नाम नेकपा माओवादी राखी अन्ततः विद्रोह प्रारम्भ ग¥यो । यसको मुख्य ध्येय सामन्ती व्यवस्थाको अन्त्य गरी जनतालाई अधिकारको प्रत्याभूत गराउनु थियो । तर, तत्कालीन सरकारले ती मागहरू सम्बोधन गर्न नसकेपछि देश जनयुद्धको भुमरीमा परेको थियो । युद्धमा हजारौंको संख्यामा नेपालीहरुले ज्यान गुमाएका थिए ।

२०५२ सालदेखि सुरु भएको माओवादी द्वन्द्वका कारण धेरै नेपालीले दुख पाए । सरकार र विद्रोही पक्षको बिचमा परेका जनताले पाएको दुख सम्झिनसक्नु छ । १७ हजारले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको यस युद्धमा कैयौं नारीका सिन्दुर पुछिए । समाजमा शंका, भय र डर उत्पन्न भयो । जातिगत मुद्दालाई हतियार बनाइ सामाजिक, धार्मिक, साँस्कृतिक र भौगोलिक द्वन्द निम्त्याइयो । द्वन्द्वका कारण असंख्य बालबालिका अनाथ भए । कैयौं आमाहरुको कोख रित्याइयो । कति अपाङ्ग भएर बाँच्न बाध्य भए । नेपाली नेपालीका बिच वैमनस्यता, दुश्मनी र द्वैषता पैदा गराइयो । कतिको सम्पत्ति खोसियो । निर्दोष मानिसलाई मरणासन्न पारेर पिटियो । कतिको रोजगारी त कतिलाई पुख्र्याैली बासस्थान नै छोड्न बाध्य पारियो । सरकारी शिक्षक, कर्मचारी, सेना, पुलिस र धर्मगुरु सम्मका मानिस एवं उनका परिवारलाई पटक पटक यातना दिइयो । त कतिलाई मृत्युदण्डको सिकार बनाइयो । त्यो सम्झदा कहाली लाग्छ ।

यो विद्रोह जस्लाई १० वर्षे सशश्त्र द्वन्द्व एवं जनआन्दोलन भनिएको थियो । यो समयमा लाखौं नेपालीले कहिल्यै कुनै पीडाले जित्न नसक्ने दुख पाएका थिए । कति ठाउँका दर्दनाक अवस्थाहरु सुन्न नसकिने छन् त कति परिवारमा पुस्तौंसम्म बिर्सिन नसक्ने घाउ बनेर रहेका छन् । ती सबै खोतल्ने अवस्था यहाँ असम्भव नै छ । तथापि मेरो परिवार, समाज, समुदाय र तत्कालीन गाविसले भोगेका यथार्थता यहाँ प्रस्तुत छन् ।

देशैभर विद्रोह सुरु गरेको माओवादीले मेरो गाविस अमलाचौरलाई नछुने कुरै भएन । त्यसमाथि दर्जनको संख्यामा नेताहरू जन्माएको मेरो गाउँ राजनैतिक रुपमा सधैं उर्वर नै छ । स–साना कार्यकर्तादेखि मन्त्रीसम्मको जन्मभुमि भएकाले यहाँ सधैं राजनैतिक गतिविधिहरु हुन्छन् । जनयुद्धको स्मरण गर्दा जनमुक्ति सेनाले उपयुक्त वातावरण पाउने जिल्ला बागलुङ पनि हो । त्यसमा पनि वलेवा क्षेत्रभित्रको साविकको अमलाचौर गाविसलाई थप रुचाइएको स्थान मान्न सकिन्छ । भौगोलिक रुपमा बस्न, कार्यक्रम सञ्चालन गर्न र सुरक्षीत रहन यहाँ अनुकुल थियो ।

माओवादीको नीति सिद्धान्त औपचारिक रूपमा सम्बोधन नहुनु नै सर्वसाधारणले दुख पाउनु थियो । प्रारम्भिक समयमा हामी ससाना बालबालिका भएको हुनाले खासै फरक परेन । परिवारका अन्य सदस्य र छिमेकका दाइ दिदिहरुले असहज महशुस गर्नुभएको थियो । गाविसको सदरमुकाम अमलाचौर पुग्ने शाखा बाटो हाम्रो घर नजिक थियो । जुन बाटो जनमुक्ति सेनाले प्रयोग गर्थे । मुल बाटो भएर हिड्दा सैनिकसंग जम्काभेट हुने आशंकामा उनीहरुले यो मार्ग चयन गरेका होलान् । ८÷१० जनाको समुहमा हिंड्ने उनीहरुले कहिले विनम्रता प्रकट गर्थें, त कहिले आक्रोश, यो उनीहरुको अवस्थामा भर पथ्र्याे । रातीको समयमा बन्दुकधारी विद्रोही सेना एकछत्र हिंडिरहँदा हामी बालबालिकालाई निकै डर लाग्थ्यो । दैनिकजसो भात पकाउनु होस् । हामीलाई भोक लागेको छ । हामी तपाईंहरुकै अधिकारका लागि हिंडेको भन्ने वाक्य यत्रतत्र सुनिन्थ्ये । आर्मीको पोशाक, टाउकोमा रातो रुमाल बाँधेर एक समानका बन्दुक भिरेका, आफ्ना सबै आवश्यकताहरु एउटै झोलामा सिमित गरेर आएका उनीहरुलाई नबोली खान दिनुको विकल्प हामीमा हुँदैनथ्यो ।

हाम्रो बुबा पैदल नै हिंडेर देशका धेरै भु–भागमा पुग्नु भएको हुनाले सबैलाई घर ठेगान सोध्नुहुन्थ्यो । उनीहरुको भनाइ अनुसार बाबाले सबै चिनेको देखेर छक्क पर्थे । कतिलाई किन यसरी हिंडेको तिम्रो भविष्य यसरी बन्दैन भन्नुहुन्थ्यो तर उनीहरुले यो वाक्य सुन्न चाहदैनथ्ये । तपाईंले आजको खानाको प्रबन्ध गर्दिनुहोस् । अरु हामीलाई थाहा छ भन्थे । उनीहरु क्षणभरमै आफ्नो उद्देश्य पूरा गरि बाटो लाग्थे ।

युद्धलाई सफल पार्न खर्च जुटाउने उनीहरुको नीति भने निकै भिन्न थियो । प्रत्येक घरमा पार्टीको औपचारिक चिठी आउँथ्यो । जनमुक्ति सेनाको कठोर बोलीसंगै आउने चिठीमा भएको निर्देशन मान्नै पर्ने जनाइएको हुन्थ्यो । यदि निर्देशनको अवज्ञा गरेमा जे पनि हुन सक्ने बताइएको हुन्थ्यो । हाम्रो किसान परिवारलाई तोकिएको २० हजार तिर्ने उपाय आफुसंग नभएको बताउदै यत्तिका छोराछोरीको रेखदेख गर्नु छ । मलाई केही नगर्नुहोस् भनेर बाबा निरीह बन्नु हुन्थ्यो । बाबाको त्यो अवस्था देखेर मेरो मनमा प्रतिशोधको भाव जागृत हुन्थ्यो तर हामी ससाना बालबालिकालाई उनीहरुको स्वरुप देख्दा निक्कै डर लाग्थ्यो । चिठी छोडेको ४÷५ दिनसम्म उनीहरुले निरन्तर ताकेता गरिरहन्थ्ये । कमान्डरको निर्देशन भन्दै कठोर वचन बोल्ने र तुच्छ व्यवहार देखाउने गर्थे । कति ठाउँमा पैसा नतिरेको भनेर अपहरण गरेका र हत्या गरिएका समाचार आउँथ्ये जस्का कारण हाम्रो गाउँमा थप नैराश्यता पैदा हुन्थ्यो ।

माओवादीका तर्फबाट सकारात्मक कार्य पनि नभएका चाहिँ होइनन् । उनीहरु तमसुक किर्ते गर्ने, बहुविवाह गर्ने, जुवातास खेल्ने, विशेष गरेर सामन्ती सोच भएका, छुवाछूत प्रथालाई बढावा दिने, समाजमा अनैतिक क्रियाकलाप गर्ने व्यक्तिलाई कार्वाही गर्थे । हामीले पढ्ने विद्यालयको चौर उनीहरुले नै सम्माइदिएका थिए । यस्ता विद्यालय र अन्य बाटो धाटो, कुलकुलेसाहरु निर्माणमा महत्वपूर्ण योगदान दिएको उनीहरु बताउँथे । एक पटक हाम्रो गाउँमा खाना खाने गरि आएका उनीहरुले कात्तिकको धान परालको काम पनि गर्दिएका थिए । परन्तु सरकारी क्षेत्रमा जागीर खाएका व्यक्तिप्रती गरिएको क्रूर व्यवहार निन्दनीय नै हुन्थ्यो ।

उनीहरुले आफुहरु लागेको समाज सुधारको अभियानमा सबैलाई लाग्न प्रेरित गर्थे । जनवादी गित गाएर समुहमा नाच्ने उनीहरुको शैली हामीहरुलाई रमाइलो लाग्थ्यो । उनीहरुले गीतद्वारा नै नविनताको खोजी गर्थे । उनीहरुले सञ्चालन गरेका कार्यक्रम छोटा तर मिठा हुन्थ्ये । आवश्यक सुरक्षा सतर्कतालाई ध्यानमा राखेर संचालित कार्यक्रममा प्रारम्भ र अन्त्यको प्रार्थनाले थप रोचकता थप्थ्यो । समानताको आवाज उठाएका उनीहरुले निजी लगानीमा संचालित बोर्डिङ स्कुल ध्वस्त बनाएका थिए । ज्यादतीकै स्वरुपले मनन गर्दा सरकारको विपक्षमा उभिएका उनीहरुले नारायणस्थानको प्रहरी चौकी, फलेवासको बैंक र बेनी बजारमा आक्रमण गरेका थिए । जुन आक्रमणलाई धौलागिरी क्षेत्रमा भएको विद्रोहको कठोर रुप माने पनि विद्यालयमा आक्रमण र संस्कृतका पुस्तक जलाएर नैतिक शिक्षाबाट बालबालिकालाई बन्चित गर्नु दुःखद् कुरा थियो ।

विद्रोहको समयमा द्वन्दरत एक पक्षलाई मात्रै दोषी देख्नु हाम्रो भुल हुन्छ । हाम्रो गाउँ माओवादीका शिर्ष नेता एवं द्वय पुर्व शिक्षामन्त्री दिनानाथ शर्मा र देबेन्द्र पौडेलको गाउँ भएकाले सैनिकको विशेष निगरानीमा थियो । यहाँ दुवै पक्षबाट स–साना निहुँमा जनतालाई दुख दिने काम हुन्थ्यो । जसबाट जनता आजित परेका थिए । जनमुक्ति सेनाले भात पकाउ भन्थे । चन्दा माग्थे । नदिए मार्ने धम्की दिन्थ्ये । यता शाही नेपाली सेनाले माओवादीलाई किन खान दिएको ? चन्दा दिएको ? भनेर धरपकड गर्थे । जनताले के गर्ने अन्योल हुन्थ्यो ।

एक पटक हाम्रो विद्यालयमा सैनिक छिरेर नराम्रोसंग शिक्षक, विद्यार्थी र कर्मचारीमाथी अमानवीय व्यवहार देखाएका थिए । उनीहरुले पढाउदा पढाउदैका निर्दोष शिक्षक र पढ्दै गरेका अबोध बालबालिका माथी लाठीचार्ज गरी मानवेत्तर शैली प्रस्तुत गरेका थिए । विचरा प्रधानाध्यापक खुल्ला चौरमा निर्मित विद्यालय कहाँबाट कस्लाई रोक्न सक्ने । माओवादीका कार्यकर्ता आउँछन्, उनैलाई प्रहार गर्छन् । धाकधम्की देखाउँछन् । सेना आएर विद्रोहीको संरक्षण गरिस् भनेर हप्काउँछन् । के सयौं विद्यार्थीहरुको बीचमा शिक्षक जस्तो मर्यादित व्यक्तित्व माथी आघात पु¥याउनु जायज थियो ?

मानिसले समयमा किन विचार पु¥याउदैन । अनौठो लाग्छ । अहिले आफ्नै छोराछोरी र नातिनातिना महंगा बोर्डिङमा पढाउने नेताले किन बोर्डिङ जलाए ? शैक्षिक विकासका कुरा गर्नु नै थियो । सरकारमा रहँदा र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा व्यवहारोपयोगी र नैतिक चेतना जागृत हुने शिक्षा आजको आवश्यकता हो भन्नेले किन ऊ बेलामा पुस्तक जलाउनु पथ्र्याे ? यदि होइन उनीहरु कै अडान सहि हो भने किन पटकपटक सरकारमा सहभागी हुँदा यी समस्या सुल्झिएनन् ? किन विद्यालय सुधारका नीति बनाउदैनन् । संसारमा सबैभन्दा सजिलो भनेको अर्ति दिन हुन्छ । अरुको कामलाई दोष लगाउन झनै सजिलो हुन्छ, पुर्याउन मात्रै गाह्रो हो भन्थे, हो रहेछ । हजारौं मानिसका लासलाई खुड्किला बनाएर प्राप्त गरेको सिंहासनमा आसिन भएर विगतको इतिहास भुल्नु नादानी हुनेछ । सर्वहाराको आन्दोलन सत्तामा पुगेपछि कसरी पुँजिवादसंग नजिकियो ? यी प्रश्नको जवाफ कस्ले दिने ? नेतृत्वले मनन् गरोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->