पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आफ्नो पार्टी कार्यालय निर्माण गर्न प्रत्येक पार्टी सदस्यबाट ५ सय रुपैयाँ उठाउने भएको छ । भवन निर्माण कमिटीको बिहीवार पोखरामा समपन्न बैठकले भवन निर्माणमा पार्टीका सवै सदस्यहरुलाई सहभागी गराउन प्रत्येक सदस्यबाट ५ सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको हो ।
पार्टीका गण्डकी प्रदेश इन्चार्ज केन्द्रिय सचिव गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउदै जनस्तरबाटै २५ करोड रुपैया संकलन गर्ने योजना प्रस्तुत गरे ।
बिष्टले प्रत्येक पार्टी सदस्यबाट न्यूनतम ५ सय उठाउने र सहयोग गर्न सक्ने सक्ने ब्यक्तिहरुलाई मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गरे । भवनमा सभाहल, पार्टी र जनसंगठनको कार्यालय समेत रहने गरी अत्याधुनिक बनाईने जानकारी दिए ।

बैठकमा भवन निर्माणमा गण्डकीका नेताहरु उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारीले भवन बनाउन हर तरहले सहयोग गर्न सवैलाई आग्रह गरे । उनीहरुले पार्टीको सम्पती भवन निर्माणका लागि पार्टीका सदस्यहरु, जनप्रतिनिधि, व्यवसायी र शुभेच्छुकले दिल खोलेर सहयोग गर्न आग्रह गरे ।
भवन निर्माणका लागि पहल लिनु भएकोमा ईन्चार्ज गोकर्ण विष्टलाई धन्यवाद दिदै बैठकमा सबै जिल्ला अध्यक्षहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन। बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकमा जिल्लागत जिम्मेवारी तोकिने अध्यक्ष नवराज शर्माले जानकारी दिए ।
बैठकमा गण्डकीका नेताहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटि अध्यक्ष, संघीय र प्रदेश सांसदहरु, पालिकाका प्रमुख, उपप्रमुख, जनवर्गीय संगठनका अध्यक्ष र उद्यमी व्यवसायीहरुको सहभागीता रहेको थियो ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षता, एमाले महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको संचालन प्रदेश सचिव धनञ्जय दवाडीले गरेका थिए ।





