मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

ल्वाङ गाउँकी अगुवा आमा

ल्वाङ गाउँकी अगुवा आमा


  • युवराज श्रेष्ठ
  • भाद्र १० २०८०, आइतबार

३२ वर्षअघि आमा समूहको नेतृत्व सम्हालेकी डम्मरकुमारीकै अगुवाइमा ल्वाङले अब्बल गाउँको परिचय बनाएको हो ।

वनस्पति वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ २०५३ सालतिर आप्mनो खोज अनुसन्धानका क्रममा कास्कीको ल्वाङ गाउँ पुग्दा अहिले जस्तो समृद्ध थिएन । त्यतिबेला गाउँवरपर हरियाली मासिएका थिए । अहिले जस्तो गाउँ चिटिक्क सफा सुग्घर पनि थिएन ।

त्यतिबेला पोखराबाट हिँडेर गएका थिए उनी । गाउँमा विजुली थिएन । गाउँमाथि चिया बगान पनि थिएन । त्यतिबेला ल्वाङ गाउँबाट देखिएको सुर्योदयको दृश्य भने अहिले पनि उनको मानसपटलमा यथावत छ । ‘ल्वाङ गाउँमा हामी जाँदा देखिएको सुर्योदय एकदम रातो थियो, त्यसपछि पहेंलो भएर हिमाल सुनजस्तै टल्किएको थियो,’ उनले संझिए, त्यतिबेला गाउँमा पर्यटक थिएनन्, महिला समुहले हामीलाई फुलमालाले स्वागत गरेका थिए ।’

ल्वाङ गाउँमा आप्mनो खोज अनुसन्धानमा जाँदा देखेको सूर्योदयको दृश्यले मोहित श्रेष्ठ गत पुषमा फेरी ल्वाङ गाउँ पुगे । आफूले २७ वर्षअघि देखेजस्तो सूर्योदय देखेनन् । गाउँले गरेको प्रगति देखेर उनी चकित परे ।‘गाउँमा मोटरबाटो पुगेछ, बिजुली पुगेछ, गाउँघर चिटिक्क पारेछन्,’ उनले भने, चिया बगान बनाएछन्, अहिले त होमस्टे खोलेर गाउँमा पर्यटक भरिभराउ पारेछन् ।’

वनस्पतिविद् श्रेष्ठ २७ बर्षअघि ल्वाङ गाउँ पुग्दा देखेको दृश्य अहिले जाँदा फरक पाएका छन् । गत पुसमा उनी फेरी ल्वाङ गाउँ पुगे । उनले पहिलो पटक जाँदा जस्तो सुर्योदय त देखेनन्, तर गाउँले गरेको प्रगति देखेर दंग परे ।अहिले गत गाउँमा मोटरबाटो पुगेछ, विजुली गएछ,’ उनले भने, ‘होमस्टे चलाएर गाउँमै कमाउन थालेछन्, चिया बगान बनाएछन् ।’

कास्कीमा चल्तीका होमस्टेमध्ये पहिलो लहरमा आउँछ, ल्वाङ गाउँ । ढुङ्गा छापिएका बाटोघाटो, ढुङ्गाले छाइएका परम्परागत घर । आँगनमा पनि चिटिक्क परेका ढुङ्गा बिच्छ्याइएका छन् । घर, आँगन र बाटो कतै पनि फोहोर देखिँदैनन् । गाउँलेका संख्या भन्दा गाउँ हेर्न आउनेको संख्या धेरै ।

ल्वाङ गाउँलाई ग्रामिण पर्यटनको केन्द्र बनेको देखेर श्रेष्ठ दंग परे । एउटा दुर्गम गाउँबाट देशकै नमूना पर्यटकीय गन्तव्य बनाउन कस्ले नेतृत्व गरेका थिए ? भनेर मैले उक्त गाउँ पर्ने माछापुच्छ«े गाउँपालिका–८ ल्वाङ घलेलका वडाध्यक्ष राम गुरुङलाई सोधें । उनले हामीलाई एक जना ६७ बर्षीय वृद्धा डम्मरकुमारी गुरुङको घर पु¥याइदिए । जसले गाउँको समृद्धीमा विगत ३० वर्षदेखि योगदान दिँदै आएकी छन् । ल्वाङ गाउँको स्वागत गेटमाथि उनको घर छ । ढुङ्गाले छाएको छाना छन् । आँगनमा पनि चिटिक्क ढुङ्गा बिच्छ्याइएका छन् । घरका झ्याल, ढोका र खाँबाहरु कलात्मक छन् । गुरुङ गाउँका मुखियाको घर जस्तो उनको घर अलि लम्बाई अलि लामो छ । आँगन फराकिला छन् । ढुङ्गाका छाना र आँगन गुरुङ गाउँका घरहरुको परम्परागत विशेषता नै हुन् । उनका घरका खाँबा, झ्याल र ढोका पनि कलात्मक देखेर यसबारे मैले उनलाई सोधेंका थिए । डम्मरकुमारीका श्रीमान ७३ बर्षीय देवराज गुरुङले भने, ‘यी खँँबा, झ्याल र ढोका मैले गाउँलेले भत्काएका पुरानो घरबाट ल्याएको हुँ । कुनै पैसा दिएर ल्याएँ, कुनै औंलाका औठी साटेर ल्याएँ ।’

देवराजका अनुसार उनले पनि शुरुमा आफ्नो पुरानो घरका कलात्मक झ्याल ढोका फालेर आधुनिक घर बनाउँदै थिए । काठमाडौंबाट घुम्न आएका पर्यटकले उनका घरको झ्याल ढोका मागेछन् । उनले दिएछन् पनि । जब उनले त्यो कलाको महत्व बुझे, उनले पनि काठमाडौंका नेवार घरमा देखिने जस्तो कलात्मक झ्याल ढोका किनेर गाउँ ल्याएछन् । आप्mनो घरमा सजाएर कला भरेछन् ।

देवराज यति बोलेपछि चुप लागे । ल्वाङ गाउँ कसरी पर्यटकीय गन्तव्यमा दरिन पुग्यो यसबारे डम्मरकुमारी बोल्न थालिन् । २०४३ सालमा समुदायमा आधारित संरक्षण कार्यक्रम कास्कीको घान्द्रुकमा नमुनाका रुपमा सफल भएको थियो । त्यसअघि विश्वभर सेना परिचालन गरेर संरक्षित क्षेत्र बनाउने प्रचलनका विरुद्धमा थिए, संरक्षणविद्हरु डा. हर्क गुरुङ, चन्द्रप्रसाद गुरुङ, मिङ्मा शेर्पा लगायत ।

उनीहरुकै योजनामा स्थानीय समुदायलाई नै संरक्षणका बारेमा चेतना जगाएर संरक्षित क्षेत्र बनाउनुपर्छ भनेर तत्कालीन घान्द्रुक गाविसमा नमुना कार्यक्रम चलाइएका थिए । सेना परिचालन गरेर संरक्षण हुन नसक्ने उनीहरुको तर्क थियो ।

घान्द्रुकमा नमूनाका रुपमा चलाइएका समुदाय आधारित संरक्षण कार्यक्रम सफल भएपछि फैलिन थाल्यो । गण्डकीका ५ जिल्लामा फैलिएर नेपालकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र बन्न पुग्यो । एक्याप फैलिदै जाँदा ल्वाङ गाउँ पुगेको थियो । एक्यापकै अधिकारीहरुले २०४८ सालमा ल्वाङ गाउँमा आमा समुह गठन गर्ने भनेर स्थानीय महिलालाई भेला गरेका थिए ।त्यतिबेला आमा समूहको अध्यक्ष बन्न कोही तयार भएनन् । गाउँलेले डम्मरकुमारीलाई अध्यक्ष बन्न उक्साए । एक्यापका संरक्षणकर्मीहरु पनि आमा समुह बनाएर गाउँको विकास गर्ने भन्दै हौस्याएका थिए । एक्यापको योजना अनुसार गाउँलेले मस्याँकोकोट आमा समुह गठन ग¥यो । समहुको अध्यक्ष बनिन्, डम्मरकुमारी । त्यसपछि सुरु भयो उनको गाउँ सुधार अभियान ।
चितवनबाट विवाह गरेर दुर्गम पहाड ल्वाङ गाउँ पुगेकी डम्मरकुमारीलाई एक्यापले विभिन्न तालिममा सहभागी गराए । गाउँघर सफा सुग्घर राख्नेदेखि बनजंगल जोगाउन पर्ने कारणहरु संझाए । उनी पनि आफुले जानेका कुरा आमा समुहलाई बताउँदै गइन् । गाउँलेलाई पनि तालिममा सहभागी गराउँदै लगिन् ।‘त्यतिबेला कसैको घरमा शौचालय थिएन, बनजंगल पनि थिएन,’ उनले भनिन्, ‘बाटोघाटोमै दिसापिसाब गर्थे, डाँडापाखा नाङ्गै थिए ।’

आमा समूहको अध्यक्ष बनेपछि उनले हरेक महिनाको १ गते र १५ गते गाउँका बाटोघाटो सफा गर्ने निर्णय गरिन् । गाउँलेहरु बाटो सफा गर्न आउन थाले । एक्यापको योजना अनुसार फेरी उनले घरघरै शौचालय बनाउने अभियान थालिन् ।

शौचालय बनाउन गाउँले तयार भएनन् । त्यतिबेला गाउँमा बालबालिका होस् कि युवा र वृद्ध, जसलाई जुनसुकै बेला झाडापखाला लाग्थ्यो । झाडापखालाको कारण जथाभावी दिसापिसाब गर्नु हो भन्ने थाहा पाएपछि उनले गाउँलेलाई संझाउन थालिन् । ‘घरमा ट्वाइलेट बनायो भने खेति सप्रिन्न भनेर गाउँलेले मानेका थिएनन्, ट्वाइलेट जान पनि गाह्रो मान्थे,’ उनले भनिन्, ‘जथाभावी दिसापिासब गरेकाले झाडा पखाला लागेको कुरा संझाउन गाह्रो भयो त्यतिबेला ।’घरघरै शौचालय बनाए पछि पनि कतिपयले बाटोमै दिसापिसाब गर्थे । भनेका मान्थेनन् । केहीले भने शौचालय जान थालेका थिए । ‘एउटा ट्वाइलेट जान थाल्यो भने अर्को नजानेलाई गाली गर्दो रहेछ, यसले मलाई साथ भयो,’ उनले भनिन् ।

बाटो सफा गर्ने निर्णयमा सबै गाउँले एकजुट थिए । अब शौचालय जाने कुरामा पनि सबै सहमत हुँदै गए । गाउँ विस्तारै सफा हुन थाल्यो ।गुरुङ समुदायको बाहुल्य रहेको ल्वाङ गाउँमा केही दलित र बाहुन समुदाय छन् । सबै समुदायको साझा आमा समुहका अध्यक्ष थिइन्, डम्मरकुमारी । गाउँ सरसफाई र शौचालय अभियानसँगै अब नाङ्गा डाँडापाखामा रुख रोप्नुपर्ने भयो । एक्यापले पछाडिबाट सहयोग गथ्र्यो, अगाडि डम्मरकुमारी थिइन् । आमा समूह मिलेर नाङ्गा डाँडापाखामा उत्तिसका विरुवा रोपे । गाउँको बन भनिए पनि रुख विरुवा थिएन । बनको एक भाग पुरै गाउँलेले र अर्को भाग आमा समुह मात्र मिलेर वृक्षारोपण गरे ।

गाउँमा त्यतिबेला चौपाया छाडा छोड्ने चलन थियो । जसले बनमा घाँस उम्रन पाउँथेनन् । रोपिएका बिरुवा हुर्कन पाउँथेनन् । चौपायालाई बन जान नदिन उनले तारबार लगाउने योजना ल्याइन् । गाउँले मिलेर बार लगाए । चौपाया जंगल छिर्न पाएनन् । वनमा घाँस उम्रन थाल्यो । गाउँलेलाई घाँस काट्ने दुख परेन । बनमा उम्रिएका घाँस बेचेर आमा समुहले आम्दानी गर्न थाल्यो । घाँस बेचेर आएको पैसा बनमा हेरालो राख्न खर्चिए ।

‘आमा समुहले घाँस बेचेर आएको पैसा बनमा हेरालो राख्यौं,’ उनले भनिन्, ‘हेरालोले घाँस, दाउरा चोरी गर्न दिएन, बन्यजन्तु पनि मार्न दिएन ।’
त्यतिबेला रोपेको उत्तिस अहिले जंगल भएको छ । जंगल बढ्दा घाँस उम्रिएको छैन । गाउँलेलाई शितल बनाएको छ । काठ, दाउराको अभाव भएको छैन । गाउँ सुधारमा आमा समूह यत्तिमै रोकिएन । अहिले ल्वाङ गाउँ जाँदा जस्ले पनि ढुङ्गा छापिएका चिटिक्क बाटोघाटो देख्छन् । उक्त बाटो त्यतिबेला आमा समुहले बनाएको थियो । गाउँमा आउने पाहुना र लाहुरेलाई स्वागत सम्मान गरेर आएको रकमबाट उनीहरुले गाउँ सुधारका काम गर्थे । कुनै कुनै योजनामा एक्यापले पनि सहयोग गर्थे ।

वनस्पतिविद् श्रेष्ठ २०५३ मा ल्वाङ गाउँ जाँदा आमा समुहले उसैगरी स्वागत गरेका थिए । त्यतिबेला स्वागत सत्कार मन परेर श्रेष्ठको टोलीले नगद सहयोग गरेका थिए । ‘हामीलाई आमा समुहले निकै स्वागत सत्कार गरेका थिए, हामीले केही रुपैया उहाँहरुलाई दियौं,’ श्रेष्ठले संझिए ।

त्यतिबेला गाउँमा विदेशी पर्यटक आउँथेनन् । अहिले पनि अन्नपूर्ण क्षेत्रमा विदेशी प्रवेश गर्न शुल्क तिर्नुपर्छ । त्यतिबेला गाउँभन्दा केही तल चौतारासम्म आएका विदेशीलाई खाना पु¥याउन गएको संझना ताजै छ, डम्मरकुमारीलाई । ल्वाङ गाउँमा आमा समुहले एकपछि अर्को सुधार र विकासका काम गरिरहेको थिए । ल्वाङ गाउँका बासिन्दाले मर्दी खोला किनारमा शब गाड्ने चिहान बनाएका थिए । माछापुच्छ«े र मर्दी हिमालबाट बहेर आउने मर्दी खोलाको पानी पोखरामा खानेपानीका रुपमा लैजाने भएपछि उनीहरुको आर्यघाट विस्थापित हुने अवस्था आयो । गाउँलेका मृत शब दाहसंस्कार गर्ने ठाउँको खोजी पनि उनै डम्मरकुमारीले गर्नुप¥यो ।

ल्वाङ गाउँभन्दा माथि घुबीडाँडा छ । उक्त डाँडा ल्वाङ गाउँकै पुरानो चिहानडाँडा रहेछ । ल्वाङ घलेल गाविस बनाउँदा उक्त डाँडा वडा नम्बर १ मा परेछ । ल्वाङ गाउँ २ मा । अर्कै वडामा परेपछि उनीहरुले मर्दीमा शब गाड्न थालेका रहेछन् । मर्दीको पानी पोखरा लगेपछि उनीहरुले त्यही घुबीडाँडामा दाहसंस्कार गर्ने योजना बनाए । त्यतिबेला वडा नम्बर १ का बासिन्दाले अर्को वडाको शब ल्याउने भनेर विरोध गरेछन् ।

‘घुबीडाँडामा आर्यघातट बनाउँदा हाम्रो ल्वाङ गाउँलेले हाम्रो हो भन्ने, उता १ नम्बर वडाकाले हाम्रो भनेर खुब दुख दियो,’ उनले भनिन्, ‘मेरै अध्यक्षतामा त्यहाँ ३ वटा दाहसंकार गर्ने ठाउँ बनायौं, मलामीलाई ओत लाग्ने एउटा घर पनि बनायौं ।’
त्यसयता गाउँलेले सोही ठाउँमा दाहसंस्कार गर्छन् । यसअघि शव गाड्ने गुरुङ समुदायले घुबीडाँडा लैजान थालेपछि पोल्न थालेको उनले बताइन् ।

दाहसंस्कार भवन र शव पोल्ने ठाउँ बनाउँदा स्थानीय आमाहरुले गरेको श्रमदान अहिले पनि उनले संझिएकी छिन् । ‘आमा समुहले गर्ने भनेपछि बुढीहरु खुब अघि सर्थे, त्यतिबेला बेस्सरी ढुङ्गा ओसारे,’ उनले भनिन् ।
गाउँमा यत्तिका काम गरेपछि ल्वाङ गाउँको मुहार फेरिएको थियो । गाउँ सफा र सुन्दर बनेको थियो । वरीपरी हरियाली थिए । गाउँलेलाई घाँसको समस्या टरेको थियो । डम्मरकुमारी भने गाउँको अन्धकार हटाउने सपना बुन्न थालिन् ।वरीपरी गाउँमा कहीं पनि बिजुली पुगेको थिएन । उनले ल्वाङ गाउँमा बिजुली बाल्ने योजना गाउँलेलाई सुनाइन् । त्यसका गाउँलेसँग प्रति घर ३ हजारका दरले उठाइन् । त्यसमा एक्यापले ८ लाख र आमा समहुको कोषबाट १ लाख रकम छुट्याइन् । काठमाडौं बसोबास गरेका गाउँलेसँग चन्दा मागिन् । विदेश बसेका गाउँलेले पनि चन्दा दिए ।

गाउँलेले पैसाको जोहो गरेर मात्र नहुने । बिजुली बाल्न काठमाडौं धाएको धायै गर्नुप¥यो । नेता र कर्मचारी आश्वासन मात्र दिन्थे । काम गर्दैनथे । ‘विद्युतका मान्छेले बोलाएर काठमाडौं गयो, ल ल भइहाल्छ भन्ने कामै नगर्ने,’ उनले भनिन्, ‘हामी दुखीलाई दिन्छु नभन्नु भनेर फर्किएँ, त्यसपछि त काम भइहाल्यो ।’

विद्युत प्राधिकरणले ल्वाङ गाउँमा विजुली ल्याइदिने भएपछि गाउँले मिलेर पोल र तार बोके । पोल गाडेर तार तान्ने ठेक्का लागेको थियो । गाउँलेले श्रमदान गरेर ठेकेदारलाई सहयोग गरे । वरीपरी अन्धकार हुँदा ल्वाङ गाउँमा विजुली बल्यो । गाउँलेका अनुहार उज्याला भए ।
अहिले ल्वाङ गाउँमा आमा समुहका होस् कि जो कसैले बैठक बस्नुपरेमा वा कुनै कार्यक्रम गर्नुपरेमा गाउँमा रहेको आमा समूहको भवन रोज्छन् । भवनमा सभा गर्न मिल्ने गरी ट्रष्ट बनाइएको छ । पोखराका विभिन्न संघ संस्था पनि त्यहीं पुगेर आप्mना कार्यक्रमहरु गर्छन् । उक्त भवन डम्मरकुमारी नेतृत्वकै आमा समुहले बनाएको थियो ।

अहिले उनलाई आमा समुह र युवा क्लबका लागि सोही भवनमा एक एक वटा कोठा बनाएर कार्यालय राख्ने मन छ । यसका लागि सहयोग जुटाउँदैछन् ।गाउँमा विजुली पुग्दासम्म मोटरबाटो बनेको थिएन । उनकै अध्यक्षतामा फेरी गाउँलेले मोटरबाटो निर्माण समिति बनाइदिए । गाविस र तत्कालीन जिल्ला विकास समितिसम्म पुगेर उनले मोटरबाटो माग गरिन् । गाउँमा बाटो खुल्यो । अहिले नियमित सार्वजनिक बस चल्छन् । गाउँ पुग्ने पर्यटक गाडी लिएर जान्छन् ।

एउटा दुर्गम गाउँबाट छिटो छिटो सुगम गाउँ बनाउन नेतृत्व गरेकी डम्मरकुमारीलाई गाउँका केटाकेटी स्याहार गर्न पढेलेखेका व्यक्ति राख्ने जुक्ती फु¥यो । त्यतिबेला सरकारले स्कुल स्कुलमा शिशु स्याहार केन्द्र खोल्ने अवधारणा ल्याएकै थिएन । उनले ल्वाङ गाउँमा यस्तै बच्चा स्याहार गर्न शिक्षक राख्ने योजना बनाइन् ।

स्कुल जाने उमेर नपुगेका बालबच्चालाई स्याहार गर्ने, पढ्न, लेख्न सिकाउने र दिउँसो पोष्टिक खाजा खुवाउने उनको सोचमा एक्यापले सहयोग गर्ने भयो । उनले खोलेको बालबच्चा स्याहार केन्द्रका शिक्षिकालाई एक्यापले आधा र आमा समुहले आधा तलब दिने सहमति भयो ।
‘हामीले बच्चालाई खुराक आमा समुहले नै मिलेर खुलायौं, शिक्षिकालाई तलब दिन जिल्ला शिक्षा कार्यालयसँग माग्दा सरकारले दिँदैन भन्थ्यो,’ उनले भनिन्, ‘बल्ल बल्ला महिनाको ८ सय दिन सहमत भएको थियो ।’

गाउँको विकासमा दिलोज्यान लगाएकी डम्मरकुमारीले घरको काममा पनि उत्तिकै ध्यान दिएकी थिइन् । ‘भोली समाजको काममा जानुछ भने आज राती नै २, ३ बजे उठेर घरको काम गर्थे,’ उनले भनिन्, ‘विहानै घाँस काटेर बाहिर निस्कन्थें ।’ एक छोरा र दुई छोरीका आमा उनले परिवारका लागि पनि विहानै खाना पकाएर निस्कने गरेको बताइन् । सामाजिक काममा हिँड्दा परिवारबाट भने कुनै रोकावट नआएको उनको भनाइ छ ।

सामाजिक काम गर्दागर्दै २०६८ तिर गाउँमा होमस्टे खोल्ने कुरा भयो । त्यसका लागि उनले पनि तालिम लिइन् । गाउँलेहरु मिलेर होमस्टे खोल्न थाले । शुरुका तीन बर्ष त कोही पनि पाहुना आएनन् । उनीहरुका होमस्टे चलेनन् । चौथो बर्षदेखि पर्यटक आउन थाले ।
एक्यापले गाउँको बारीमा चिया खेती लगाउने भनेर तालिम दियो । गाउँका सबैजसो घरमा व्यक्तिलाई इलामको चियाबारी देखाउन लग्यो । अहिले ल्वाङ गाउँको आकर्षण चियाबारी बनेको छ । गाउँमा आउने पर्यटक पनि चियाबारी घुम्न रुचाउँछन् ।
‘अचेल कहिलेकाँही त दिनमै ४, ५ सय जना आउँछन्,’ उनले भनिन्, गाउँमा नअटाएर घलेल गाउँ जाउ न भन्यो, पोखरा जान्छ, कुन्नी किन हो ।’

डम्मरकुमारी आमा समूहको अध्यक्ष बनेको ३२ वर्ष भइसकेको छ । उनले कयौं पटक गाउँलेलाई अध्यक्ष बन्न भन्छिन्, कोही मान्दैनन् । पहिले आमा समुहले गर्दै आएको गाउँ सरसफाई कार्यक्रम अहिले होमस्टे समितिले गर्छ । आमा समूहको भूमिका अहिले कम भएको उनले बताइन् ।

डम्मरकुमारीकै अध्यक्षतामा अहिले गाउँमा मर्दी बराह महिला बचत तथा ऋण सहकारी संचालनमा छ । सहकारीले गाउँका महिलाबाट महिनाको २ सय रुपैया बचत संकलन गर्छ र न्युन ब्याजमा ऋण प्रवाह गर्छ । गाउँमा कुखुरापालन, तरकारी खेती लगायत उत्पादनमा लागेका महिलालाई ऋण दिने गरेको उनले बताइन् । यसका अलवा सहकारीले गाउँमा आर्थिक समस्यामा परेका महिलालाई अनुदान सहयोग पनि गर्ने गरेको छ ।

गुरुङ समुदायले परम्परागत रुपमा अल्लोबाट धागो निकालेर कपडा बनाउने सीपमा पनि सहकारीले लगानी गर्दै आएको छ । जंगलमा गएर अल्लो काटेर ल्याउने, पानीमा डुबाएर राख्ने, पकाउने लगायत धागो निकाल्न अपनाइने परम्परागत प्रक्रियाले लागत महंगो परेको छ । उक्त काम गर्दा पहिलो बर्ष १ लाख २२ हजार नाफा गरेको सहकारीले गत वर्ष घाटा व्यहोर्न परेको उनले बताइन् ।

डम्मरकुमारीले गाउँको विकासमा गरेको योगदान देखेर उनका श्रीमान देवराज पनि हर्षित छन् । उनलाई अझै गाउँको विकास हेर्न मन छ । ल्वाङ गाउँमा एउटा संग्राहालय बनाउनुपर्ने देवराजको तर्क छ । गाउँलेले भने उनकै घर संग्रहालय बनाउन सुझाव दिइरहेका छन् ।
गाउँमा युवा पुस्ता अडिन नसक्दा डम्मरकुमारीको चित्त अझै बुझेको छैन । गाउँमा होटल, होमस्टे जे चलाए पनि चल्ने अवस्था छ । चिया, तरकारी, फलफुल जे खेति लगाए पनि गाउँमै बिक्न सक्छ । तर युवा गाउँ बस्न रुचाउँदैनन् । ‘यहाँ भनेजस्तो कत्ति भएको छैन, केटाकेटी गाउँमा बस्नै खोज्दैनन्,’ उनले भनिन्, ‘गाउँमै बसौं लाग्ने बनाउनुछ ।’

ल्वाङ गाउँको विकासमा ३० बर्षयता भएका प्रगति देखेर उनी हर्षित छिन् । ३७ बर्षको उमेरदेखि लागेर को कारण पनि उनले गाउँलेलाई नै दिन्छिन् । ‘यो गाउँ पहिलो कस्तो थियो, अहिले कस्तो भयो, एकदम खुसी छु,’ उनले भनिन्, ‘जे जति काम भएको छ, सबैले मिलेर भएको छ, म एउटाले गरेको भएको छैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->