नेपालमा हरेक ५ वर्षमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन हुन्छ । निर्वाचनमा जनताले आफ्नो अनुकुलका योग्य उमेदवारलाई चुन्ने अधिकार हुन्छ । संविधानले प्रदत्त गरेका हकहरु अन्तर्गत मताधिकारको हक पनि एक हो । फलस्वरुप जनताले आफ्नो गोप्य मतदानद्वारा योग्य उमेदवारलाई जिताउन पाउछन् । जसलाई लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ । पछिल्लो स्थानीय तह निर्वाचन २०७९ मा केही ठाउँमा स्वतन्त्र उमेदवारले जितेका थिए । अन्यत्र उनै पुराना दल र दलका कार्यकर्ताले जिते । जसमध्ये काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरद्वय बालेन शाह र हर्क साम्पाङ्ले अत्यधिक चर्चा कमाए । उनीहरुले प्रारम्भ गरेका उदाहरणीय कामले जनतालाई खुशी बनाएका छन् । यस्तै प्रशंसनिय कार्यको थालनी गरेसंगै बागलुङ नगरपालिकाको पनि गरिमा चुलिदै गएको छ ।
धरानमा जनश्रमदानको अभियान चलाउने साम्पाङ्ले जनतालाई नै विकासको मुल खम्बा मानेका छन् । यता देशको राजधानीसमेत रहेको काठमाण्डौंमा नसोचेका कार्यहरु गरेर सदियौंदेखिका संरचनाहरुको संरक्षणमा महानगर जुटेको छ । संघ र प्रदेशका नीति मापदण्डलाई आत्मसात गरि पालिकाले आफ्नो स्वतन्त्रता खोज्नु कठीन परिस्थिती थियो । तर बालेन शाहले ती सबै चुनौतीको एक्लै सामना गरिरहेका छन् । फलस्वरूप अहिले यी दुवै पालिकाले नयाँ गति पाएका छन् । भने अहिले पालिकाका नवीन कार्यहरु सुक्ष्म रुपले नियालेका जनतालाई बागलुङ नगरपालिकाले पनि खुशी दिलाउने प्रयत्न गरेको छ ।
पालिकाको निर्वाचनमा उम्मेद्वारी दिने नेताहरूले आफूखुशी सपनाहरू देखाएर भोट माग्छन् । विकसित स्थान वा सहरबाट निर्वाचित हुने नेतालाई काम गर्न सजिलै हुन्छ । तर दुर्गम भूगोललाई नगरपालिकाको नाम दिइएका गाउँका पालिकाहरुमा विकास गर्न चुनौती अवश्य छ । हाम्रो बागलुङ नगरपालिका पनि अधिक मात्रामा गाउँले परिवेशलाई समेटेको पालिका हो । यहाँका जनप्रतिनिधिले पनि सोचे जति काम गर्न गाह्रो छ । किनकी यहाँको भौगोलिक अवस्थिती निक्कै असहज छ । उत्तरमा म्याग्दी जिल्लाको रत्नेचौरबाट सुरु भएर दक्षिणमा जैमिनी नगरपालिकाको सिमानासम्म जानुपर्छ । पुर्वमा कालीगण्डकी नदिको तिरदेखि पश्चिम रायडाँडा, रामतलासम्म पुग्नुपर्छ । जुन भुगोललाई सानोतिनो परिश्रमले सम्बोधन गरेर जस पाउन अप्ठ्यारो नै छ ।
राजनीतिभन्दा बाहिरका अभियान्तालाई काम गर्न जत्ती सजिलो छ । जस्तैः बालेन र साम्पाङ्लाई काम गर्न कुनै दल र दलका प्रतिनिधिको दबाब सहनु पर्दैन । तर त्यत्तिकै मात्रामा सजिलो राजनैतिक पार्टीबाट उम्मेद्बारी दिइ जितेका उमेदवारलाई हुँदैन । पटक पटक नेतृत्व गरेका नेताहरूले यो आवाज उठाउछन् तर चौतर्फी दबाबका कारण काम गर्न असमर्थ हुन्छन् र थिए पनि, तर बागलुङ नगरपालिकाको हकमा अहिले केही आशा पलाएको अनुभव भएको छ ।
शहरका साँघुरा गल्लीहरु फराकिलो पार्न स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको फराकिलो मन चाहिन्छ । त्यसमा जनताको पुर्ण साथ आवश्यक हुन्छ । हरेक पालिकाहरुले नयाँ नीतिसहित बजेट विनियोजन गर्छन् । तर पनि सर्वसाधारणको असन्तुष्टि र प्रतिपक्षले खेल्ने नकारात्मक भुमिकाले योजनाहरु अलपत्र पर्ने गरेका छन् । कति ठाउँमा आफ्नै कार्यकर्ताको दबाब र नेताहरुको स्वकीय कमजोरीले विकासका कार्यमा बाधा पुगेको हुन्छ । तथापि बागलुङ नगरपालिकाले ती सबै समस्याको समाधान गरि नयाँ नीति लिएर अघि पढेको छ । पालिकाले पछिल्लो समयमा जनतामैत्री नीतिहरुको सुत्रपात गरेको हो । जसमा बजार व्यवस्थापनका लागि दीर्घकालीन सडक निर्माणको नीति अवलम्बन गरेको छ । जुन नीति तथा कार्यक्रम जनता सापेक्षित रहेको छ ।
पालिकाले बागलुङको सदरमुकाम समेत रहेको पालिका मुकाम क्षेत्रमा बनेका मापदण्ड विपरितका संरचना माथी अधिकार प्रयोग गरेको छ । बजार क्षेत्रमा रहेका करिब २३५ बढी संरचनालाई हटाएर बाटो चौडा बनाउने कार्य स्वागतयोग्य छ । वर्षौदेखि संरचित ती संरचनालाई विभिन्न कार्यकालका जनप्रतिनिधिहरुले ढाकछोप गरेर राखेका थिए । कति सर्वसाधारणले नै अटेर गरि जोगाएका थिए । जस्को प्रत्यक्ष असर जनताले भोगेका थिए । तिनै अवैधानिक संरचनाहरु हटाउन अहिले बागलुङ नगरपालिकाका जनप्रतिनिधिहरु लागि परेका छन् ।
अघिल्लो शनिबार मेयर बसन्त कुमार श्रेष्ठ र उपमेयर राजु खड्का स्वयं डोजर लिएर अगाडि बढेको दृश्य रोमाञ्चक नै थियो । काठमाण्डौंका मेयर बालेन शाहले चलाएको अभियानमा सामाजिक संजालमा खुब प्रसंशा र तारिफदारी भएको थियो । धरानमा जनतालाई ढुंगा बोकाएको दृश्य पनि उत्तिकै रमाइलो थियो । यहाँ बागलुङ बजारमा देखिएका नीतिगत कार्यमा सबै मौन बसेको देख्दा अनौठो लाग्छ । वर्षौदेखि साँघुरा गल्लीमा शिर निहुराएर हिंड्ने बानी परेका सर्वसाधारण जनताले किन खुशीमा खुशी साट्न सक्दैनन् ? किन उनै विकासका पर्याय जनप्रतिनिधिका खुट्टा तान्ने अँध्यारो मनसाय लिएर मुक बनिरहेका हुन्छन् ?
जुनसुकै पालिकाका जनप्रतिनिधिले पनि निरन्तर जनताको सहकार्य चाहन्छ्न् । उनीहरु जनताको सेवामा दिलो ज्यानले लागि परेका हुन्छन् । हाम्रो नेपालमा राम्रोलाई राम्रो भन्न पनि हिच्किच्याउने प्रवृत्ती छ । यहाँ नेताले आफ्नो अधिकार प्रयोग गर्दा कार्यकर्ता रिसाउँछन् कि भनेर डर मान्ने परम्परा छ । नेता र कार्यकर्ताको हकमा यो शंकाले जीवन पाए पनि जनप्रतिनिधि र सर्वसाधारणका बीचमा यो गन्ध आउनु हुँदैन ।
बागलुङ नगरपालिकाका प्रमुख र उपप्रमुखद्वय युवा नेताले नेतृत्व गरेको पालिकाको विकास तिव्र रुपमा होस् । जनताले आशा गरिरहेका छन् । अहिले जनप्रतिनिधिहरु सहित युवाहरुद्वारा सञ्चालन भएको ‘अघि युवा पछि डोजर’ अभियानलाई अभियान नै बनाऊँ । काठमाडौंमा बालेनका जुन तस्बिरहरुलाई विकासको पर्याय मानेका छन् । बागलुङ नगरपालिकाका युवा नेताले चालेका यिनै उन्नयनका नीतिलाई काठमाण्डौ महानगरसंग दर्जा प्रदान गरौं । जुन दर्जाले जनप्रतिनिधिहरुलाई प्रेरणा मिलोस् । जुन कार्यलाई उनिहरुले दीर्घकालीन सोचका साथ अघि बढाउन पाउन् ।
जनतालाई दीर्घकालीन सुविधा उपलब्ध गराउने हेतुले सञ्चालित यो अभियानअन्तर्गत पालिकाले विभिन्न सूचना सम्प्रेषण गरेको थियो । सडक आसपासमा बनेका अवैधानिक संरचना हटाउन अनुरोध गर्दै पालिकाले गत बर्ष मंसिरदेखि नै ९० दिने, १५ दिने र ७ दिने सूचना जारी गरेको थियो । पालिकाले पछिल्लो समय साउन ३२ गतेसम्मको समयावधी दिएर २३३ वटा व्यक्तिगत सम्पत्ती र ५ वटा सरकारी तथा गैरसरकारी कार्यालय अगाडि निर्मित मापदण्ड विपरितका संरचनामा रेखाङ्कन गरेको थियो । जुन रेखाङ्कनमा मेयर स्वयंको घर अगाडिको पर्खाल र पालिका कार्यालयको पर्खाल पनि समेटिएका थिए । ‘सुरुवात आफैबाट गर्नुपर्छ’ भन्ने सन्तहरुको भनाइ यहाँ लागू भएको छ । आफ्नो जोगाएर अरुमाथि नीति प्रयोग गर्नु नाजायज हुन्छ भन्ने बुझेका मेयरले सबैभन्दा पहिला आफ्नै घर र कार्यालयको पर्खालमा डोजर चलाएर अभियान सञ्चालन गरेका थिए । जुन कार्यले मेयर बसन्तकुमार श्रेष्ठको उदार भावना समाजले अनुभुत गरेको छ । घरधनी स्वयंबाट हटाइने संरचनामा भौतिक सम्पत्तिको संरक्षण हुन्छ । जसलाई बुद्धिमानीपूर्वक बुझेका केही मानिसहरुले रेखाङ्कित संरचना आफैं खाली गराएका थिए भने निर्देशनको अवज्ञा गरि संरक्षण गरिएका संरचनामाथी पालिकाले अधिकार प्रयोग गरी हटाएको हो ।
पालिकाले सार्वजनिक सूचनामार्फत मापदण्ड विपरितका संरचना हटाएर पालिकालाई सहयोग गर्न सर्वसाधारणलाई सुझाएको थियो । सूचनाले जनाएको समय सिमा समाप्त भइ सक्दा ११५ घरधनीले पालिकाको निर्देशन पालना गरेकोमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र उपप्रमुख राजु खड्का सहितको टोलीले खादा लगाएर सम्मान गरेको थियो । जुन कार्य अनुकरणीय थियो ।
बजार क्षेत्रका अवैध संरचना हटाउन पालिका प्रमुखले चालेको यो कदमले सर्वसाधारण खुशी भएका छन् । अहिले नगरप्रमुख श्रेष्ठले सञ्चालन गरेको ‘हाम्रो नगर राम्रो नगर’ भन्ने अभियानले जीवन पाएको छ । जुन अभियानमा बागलुङ नगरपालिकाभित्रका उपमेयर, वडा अध्यक्षहरुसहित अन्य जनप्रतिनिधिहरु र सर्वसाधारणले पनि पुर्ण समर्थन गरेका छन् ।





