नेपालका शक्ति पिठहरुमा बागलुङको कालिका भगवती मन्दिर प्रसिद्द शक्ति पिठ हो । यो मन्दिर गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक स्थलका रूपमा परिचित छ । यहाँ भगवती दुर्गालाई महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले पुजा अर्चना गरिन्छ । राजमार्गको छेउमा स्वागत गेट भएर दुवैतर्फ जंगल बिच ढुङ्गैढुङ्गा छापिएको बाटोमा करिब १० मिनेटको यात्रापछि मन्दिर पुगिन्छ । प्रायः बिहानको समयमा दर्शनार्थीहरुको अत्याधिक चाप हुने यो मन्दिरमा पुगेपछि नरमाउने कोहि हुँदैनन् । मन्दिर परिसरमा निर्माण भएको पुष्प बाटिका, धुपबत्ती गर्ने भक्तजनको लाइन, आडैमा भजनकृतन सहितको सांगीतिक प्रस्तुति, नाचगानमा रमाएका मानिसहरुका प्रफुल्लित मुहार देखेपछि सबैलाई नाचौंनाचौं लाग्छ नै, त्यसमाथि परेवाहरुको झुण्ड, भगवतीको आराधनामा बजेका घण्ट ध्वनि, आआफ्नै धुनमा फोटो खिच्ने, टिकटक र भिडियो निर्माण गर्ने मानिसहरुको तौरतरिकाले मन्दिर परिसर सधैं रोमाञ्चक बनेको हुन्छ । यहाँ चैते दसैँमा ठूलो मेला लाग्छ । विजया दशमी र हरेक हप्ताको मंगलबार र शनिबार दर्शनार्थीहरुको अत्यधिक घुइँचो लाग्ने गर्दछ ।
मन्दिरको पूजा सञ्चालन, संरक्षण, सम्बर्द्धन, प्रचारप्रसार र अन्य आवश्यक व्यवस्था मिलाउने हेतुले कालिका भगवती गुठी सञ्चालक समिति गठन गरिएको छ । समितिले चैत्राष्टमी मेला सञ्चालनका साथै भौतिक संरचनाको व्यवस्थापन, भजन कृतन गर्नेको भक्तजलाई सहजीकरण, गंगाजलको व्यवस्था, सरसफाइ, प्राकृतिक सम्पदा, भौतिक सम्पत्तिको संरक्षण र विकास, मनोरञ्जनात्मक वातावरण निर्माणसहित पुजाआजाको कार्य सबल रूपमा सञ्चालन गर्दछ ।
मन्दिरमा दैनिक पुजाआजा गर्न/गराउन धेरै भक्तजनहरु पुग्छन् । देवालय देवताको घर हो । यहाँ धर्म रक्षाका लागि धार्मिक कार्यहरु हुन्छन् । ब्राह्मणहरुले देवालयमा आसिन देवतालाई प्रसन्न पार्न वैदिक मन्त्रहरु उच्चारण गर्दछन् । उनीहरु सदासर्वदा भगवानको प्रसन्नता र भक्तजनको रक्षाका लागि तल्लीन हुन्छन् । त्यसैले ब्राह्मणलाई योग्य र असल सामाजिक चरित्रका रुपमा पुजिन्छ । मन्दिर सञ्चालक समितिले तिनै ब्राह्मणलाई करको दायरामा ल्याउने गरेको छ । मन्दिर परिसरमा यजमानका ग्रह शान्ति गराउन पुग्ने ब्राह्मणहरुसंग दैनिक २०० रुपैयाँ लिने गरिएको हो । फुल, प्रसाद वितरण र टीका लगाउन मन्त्रोच्चारण गर्न सक्ने ब्राह्मण राख्न नसकेको समितिले के ब्राह्मणसंग कर उठाउनु जायज छ ? यसरी पण्डितहरुसंग शुल्क लिनु दुःखद् हो । अनौठो कुरा त दर्शनार्थी भक्तजनहरुलाई मन्दिरको प्रवेशमा जुत्ता चप्पल खोल्न लगाउने समितिले टीका लगाउने र अन्य कर्मचारीका जुत्ता चप्पललाई निशेध गर्न सकेको छैन ।
बाह्रै महिना दर्शनार्थीहरुको भिड लाग्ने यस मन्दिरमा शुद्ध समयमा ग्रहशान्ती गराउने कर्ताहरु हजारौंको संख्यामा पुग्छन् । मन्दिरको लागि शुल्क आवश्यक नै हो भने विशेष पुजाको व्यवस्था गर्नुपर्छ । ग्रहशान्ति गर्नुपर्ने मानिसका लागि समितिले आफ्नो निगरानीमा पण्डितको व्यवस्थापन गर्नुपर्छ । समितिले ग्रहशान्ती लगायतका कर्म गराउनका लागि उचित शैक्षिक योग्यता भएका पण्डितहरुको नियुक्ति गरेमा धार्मिक कार्यहरू विश्वसनीय हुन्छन् । भक्तजनहरुले सहज र सर्वसुलभ दरमा पुजा गर्ने वातावरण पाउँछन् । तर यहाँ ब्राह्मण र समितिको आर्थिक मोहले धर्म र संस्कारको अपभ्रंस हुने देखिएको छ ।
मन्दिरभित्र ग्रहशान्ती गराउने पण्डितहरुको कर्म पुगेको छ या छैन ? क्षणभरमा पुजा समाप्त भयो, तपाईंका ग्रह शान्त भए भनेर ढाट्ने ? धर्मको खोल ओढेर धर्मैको कुचर्चा गर्ने ? पण्डितहरुको यो कार्य हिन्दुत्व समाप्त पार्ने प्रपञ्च हो । पहिलेका ब्राह्मण त दीर्घकालीन सोच र भविष्य वक्ता हुन्थ्ये तर अहिलेका ब्राह्मण आफ्नै घरमा आगो लगाउन उद्दत छन् । अझै धार्मिक द्वन्द र धर्म परिवर्तनको कारक जातीय छुवाछूत हो । यहाँ बाहुनहरुले स्वजातिय र विजातिय भक्तजनहरुका बिचमा रकमी कर्म गराउने गरेका छन् । मन्दिरको गेटमा रहेका व्यापारीदेखि ग्रहशान्ती गर्ने पण्डित अनि व्यवस्थापन समिति सबै पैसामुखी हुने ? के यो हिन्दुत्व विनासको कारक होइन ?
दैनिक रूपमा मन्दिरमै रहेर १५/२० जना कर्ता बटुलेर ग्रहशान्तिको ढ्वाङ फुक्ने पण्डितहरुको हकमा यो शुल्क जायज भएता पनि व्यक्तिगत सम्पर्क र परिचित सम्बन्धबाट शुद्ध पुजामा समावेश हुने ब्राह्मणहरुको वृत्ति हरण गर्नु निन्दनीय छ । पुजा गराउने यजमानलाई दर्ता प्रक्रियाद्वारा नियम संगत शुल्क निर्धारण गरेर समितिको अनुमती जनाउनु उपयुक्त हो । तथापि ब्राह्मणसंग यो शुल्क लिनु धार्मिक विसङ्गती मानिन्छ । तसर्थ समितिले यथाशीघ्र यो समस्या हल गर्नुपर्छ ।
नेपाली बजार हिन्दु धर्म, संस्कृति र रितीरिवाजले धानिएको छ । फलफूल, दुग्धजन्य पदार्थ, खाद्यान्न, वस्त्र, भाडा पसल, कस्मेटिक, ऐश आरामका सामग्री, सवारी साधन, फर्निचर, गरगहना, वाद्ययन्त्र, टेण्ट, पार्टी प्यालेस लगायतका सम्पुर्ण सामग्रीहरु हिन्दु धर्मको आडमा चलिरहेका छन् । यदि नेपाल हिन्दु धर्म सापेक्षित हुँदैनथ्यो भने यहाँ यी यावत् सामग्रीका पसल पनि हुदैनथ्ये । तसर्थ यी सबै व्यवसायमा सरकारका निगरानी उपर धर्मको परिकल्पना र दायित्व बोधका हिसाबले क्रयविक्रय हुन्छन् । तर कालिका मन्दिरको गेटमा सञ्चालित पुजा सामाग्रीका पसलहरुमा हुने धार्मिक मोलमोलाई विसंगतिले भरिएका देख्न सकिन्छ । दैनिक हजारौं दर्शनार्थीको भिड लाग्ने मन्दिरमा पुजा सामाग्रीका छुट्टाछुट्टै भागलाई ४÷५ सयदेखि ८÷९ सय रुपैयाँसम्म पर्छ । के ती सामाग्रीमा त्यति शुल्कको अस्तित्व हुन्छ ? या भक्तजनहरुको धार्मिक स्वाभिमानलाई रुपैयाँमा किनबेच हुन्छ ? धर्म गर्ने मानिसहरुले निसंदेह खरिद गर्छन् भने जानेका व्यापारीले भौगोलिक दुरी र व्यक्तित्व हेरेर मूल्य गर्नु जायज हो ?
कालिका भगवतीप्रति विश्वास राखेर पूजापाठ गर्नाले भगवती प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ । भन्ने जनविश्वास गरिन्छ । धार्मिक र सांस्कृतिक मूल्य मान्यता बोकेको यस मन्दिरमा दर्शन र पूजापाठ गरे भक्तजनहरुको मनले चिताएको कुरा पुग्ने, घरमा शान्ति हुने, पारिवारिक मेलमिलाप हुने, निसन्तानलाई सन्तान प्राप्ति हुने, आटेताकेको पुग्ने, शारीरिक आरोग्यताका साथै मनोकामना पुरा हुने र शक्ति प्राप्त हुने विश्वास रहिआएको छ ।
मन्दिरमा सञ्चालक समितिको मुख्य निगरानी र दर्शनार्थीहरुको सुझबुझका कारण पुजा आराधनामा निक्कै सहयोग पुगेको छ । यो धार्मिक विसंगतीको अन्त्य गर्न ब्राह्मण समाज, ज्योतिष परिषद, सामाजिक संघसंस्था, आमा समूह, विभिन्न मन्दिरका व्यवस्थापन समिती, स्थानीय सरकार, सरोकारवाला लगायतको सक्रिय उपस्थिति अनिवार्य छ ।





