बागलुङ/नेपाली कांग्रेसले संगठन सुदृढीकरण भन्दै सोमबार ८५ वटै वडामा वडा सम्मेलन गरेको छ । पहिलो चरणमा वडा, त्यपछि पालिका, प्रदेश, क्षेत्र र जिल्ला सम्मेलन गर्ने केन्द्रीय कार्यतालिका अनुसार वडा सम्मेलन भएको कांग्रेस सचिव हरिहर शर्माले बताए ।
गलकोट नगरपालिकामा भने साउन २० गतेनै सम्मेलनहरु सम्पन्न भएका छन् । अन्यत्र सोमबार कार्यक्रमहरु भएका थिए । जिल्ला कार्यसमितिका पदाधिकारीको बैठकले तोके अनुसार प्रत्येक वडामा जिल्ला प्रतिनिधिको उपस्थितिमा सम्मेलन भएका थिए ।
वडा सम्मेलनमा वडाका जनप्रतिनिधिको कामको मुल्यांकन, वडामा गत आर्थिक बर्ष सम्पन्न भएका योजना र आगामी बिकास निर्माणका योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भूमिका बारे छलफल भएको कार्यकर्ताले बताए । कतिपय वडाले अबदेखि हरेक दुइ दुइ महिनामा वडाको भेला तथा बैठक बस्ने निर्णय पनि गरेका छन् ।
कतिपय वडा समितिले वडा अध्यक्षहरुलाई अहिले सम्म गरेका कामको स्पष्टीकरण सोध्ने र आगामी दिनमा पार्टीको निर्देशन अनुसार काम गर्न निर्देशन दिने निर्णय समेत गरेका छन् । केही वडामा भने प्रदेश तथा संघिय सांसदहरुले वडामा ल्याएका बजेट र भएका बिकास निर्माणका काममा पार्टीसँग कुनैपनि समन्वय नगरेको टिप्पणी भएको थियो । ‘पार्टीले पठाएका जनप्रतिनिधि र सांसदले कसरी काम गरिरहेका छन् भन्ने कुरा पार्टीले जान्न पाउनु पर्छ’ बागलुङ नगरपालिका वडा नंं ३ मा खटिएकी महिला नेतृ शकुन्तला शर्माले भनिन्, ‘जे जस्तो बिकास गरिन्छ त्यसको समन्वय पार्टी पंक्तीमा हुनुपर्छ ।’ पार्टी प्रति युवाहरुको आर्कषण कम भएकोले युवा लक्षित कार्यक्रमहरु बनाउन पनि वडा भेलाहरुले पार्टीको माथिल्लो तहलाई आग्रह गर्ने छलफल भएको थियो ।
कांग्रेसले ७७ वटै जिल्लामा जिल्ला सम्मेलन गर्नकालागि भने केन्द्रीय प्रतिनिधि खटाएको छ । केन्द्रीय प्रतिनिधिको आग्रहमा जिल्ला भेला गर्ने गरी आन्तरिक तयारी भैरहेको पार्टी सचिव हरिहर शर्माले जानकारी दिए । त्यस अघि नगर तथा गाउँपालिका तह र प्रदेश तथा क्षेत्रीय तहमा पनि भेला गर्न पार्टीका सबै तहका सभापति, पदाधिकारी र सदस्यहरु सक्रियता पूर्वक लागेको उनले जानकारी दिए ।





