पोखरा/ कुनैबेला सेतो पुतलीको झुसले आँखामा हुने संक्रमण ‘सापु’ का बिरामीले पोखराको हिमालय आँखा अस्पताल भरिभराउ हुन्थ्यो । यतिबेला भने आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ का बिरामीले अस्पताल भरिभराउ छ । आँखा पाक्ने रोगका बिरामीको संख्या यही सातामा मात्रै तेब्बरले बढ्न थालेको छ ।
औसतमा ४/५ सय बिरामी आउने अस्पतालमा पछिल्लो दुई दिनयता मात्रै हजार भन्दा बढि बिरामी आँखा पाक्ने रोगको उपचार गर्न अस्पताल आउने गरेका छन । पछिल्लो समय यो रोग यति तीव्र गतिमा फैलिएको छ कि, त्यसलाई नियन्त्रण गर्न भनेर पालिकाहरुले विद्यालय नै बन्दसमेत गरेका छन ।
नवलपुरको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकाले सोमबार नै ४ दिनका लागि भनेर विद्यालय बन्द गरेका छन ।
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएका छन । खैरेनीटार माध्यमिक विद्यालय साउन २४ गतेसम्म बन्द भएको छ । पोखरामै पनि रामबजारमा रहेको एक विद्यालय बन्द हुन पुगेको छ । आँखा पाक्ने रोग फैलिने दर तीव्र गतिमा बढेका कारण महानगरपालिका भित्रका विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने विषयमा महानगरपालिकाले मंगलबार निर्णय लिने जनाएका छ । सोमबार नै पत्रकार सम्मेलन गरेर हिमालय आँखा अस्पतालले आँखा पाक्ने रोगका बिरामीको संख्या बढेको जानकारी दिएको छ ।
गण्डकी प्रदेशकै एकमात्र आँखा रोगको विशेषज्ञ अस्पताल हिमालय आँखा अस्पतालमा गएको मंगलबारदेखि आइतबारसम्म मात्रै १ हजार ५७३ जना बिरामी आँखा पाक्ने रोग लिएर उपचार गराउन आएको अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठले जानकारी दिइन ।
यो रोग सबै उमेर समूहलाई लाग्ने भएतापनि बालबालिकामा संक्रमणको दर उच्च छ । डा. श्रेष्ठका अनुसार ९१८ जना बालबालिकामा यो रोग देखिएको छ ।
आइतबार मात्रै अस्पताल आएका मध्ये ६२९ बिरामी आँखा पाक्ने ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ का संक्रमित थिए । तीमध्ये ३६० जना बालबालिका हुन ।
सोमबार त विहानैदेखि अस्पतालमा बिरामीको झनै भीड बढेको छ । आँखा पाक्ने रोगले ग्रसित भएपछि जिल्ला जिल्लाबाट आएका बिरामीले भीड बढेको छ । यो रोगका मुख्य लक्षणहरूमा आँखा पोल्ने, बिझाउने, आँसु धेरै आउने, आँखा रातो देखिने, सुन्निने जस्ता समस्या देखिन्छन । डा. श्रेष्ठ भन्छिन्,‘यो हावाबाट सर्दैन । हाम्रो आँखाको तरल पदार्थबाट भाइरस ट्रान्समिसन हुन्छ । हातमा संक्रमितको आँसु प¥यो भने त्यहाँबाट सर्छ ।’
संक्रमितले प्रयोग गरेको ?माल, साबुन, चस्मा, औषधि लगायत अरुले प्रयोग गर्दा संक्रमण सजिलै सर्ने उनले बताइन ।
आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न र लक्षण देखिएपछि अस्पताल जान डा. श्रेष्ठको सुझाव छ । ‘आँखा पाक्यो भनेर कति जनाले आँखा खोलेर पानी छ्याप्छन्, त्यो चाहिँ गर्नुहुदैन ।
अस्पतालका प्रा.डा इन्द्रमान महर्जनका अनुसार अहिले अस्पतालमा आउने बिरामीको संख्या तेब्बरले बढेको छ । उनका अनुसार अहिले दैनिक १२/१३ सय जना बिरामी आउँछन तीमध्ये अधिकांश भन्दा बढीमा आँखा पाक्ने रोग देखिएको छ ।





