पोखरा/ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले युग सुहाउँदा कार्यक्रम बिना पार्टी निर्माण नहुने बताएका छन् । उनले उत्पादन र निर्माणमूलक काम नै अहिलेको आवश्यकता भएको पनि औंल्याए । पुराना पार्टीहरुप्रति वितृष्णा बढ्दै गएको अवस्थामा यही कार्यनीतिले मात्र आउँदो चुनावमा एकल बहुमत प्राप्त हुने जिकिर गरे ।
उनी गण्डकी प्रदेश कमिटीको जनसंगठनका केन्द्रीय पदाधिकारी,केन्द्रीय सदस्य र प्रदेश अध्यक्षहरूको मंगलबार पोखरामा आयोजित भेलालाई संवोधन गर्दै थिए ।
गण्डकी प्रदेश इन्चार्जसमेत रहेकाएमाले सचिव गोकर्ण विष्टले जनसंगठन दरिलो र भरिलो नभएको गुनासो गरे । विगतका हरेक उपलब्धिहरू जनसंगठनको दरिलो र भरिलो साथले मात्रै संभव भएको स्मरण गर्दै उनले घुमाउरो पारामा जनसंगठन जुझारु नभएको बताएका हुन् ।
स्थायी कमिटी सदस्य खगराज अधिकारीले जनसंगठन पार्टीका पोषण दिने जरा भएको हुँदा समन्वय प्रभावकारी बनाउन भेला उपलब्धिमुलक हुने उल्लेख गरे।जनवर्गीय संगठनका समन्वय संयन्त्र प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले जनवर्गीय संगठनका नेताहरुलाई जनताको घरदैलोमा जान निर्देशन दिए । स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी ससशक्तिकरणको आधार जनसंगठन भएको उल्लेख गरिन्।
अनेमसंघका केन्द्रीय अध्यक्ष समेत रहेकी एमाले केन्द्रीय सदस्य टुकाभद्र हमालले संघर्षको मैदानमा सबै जनसंगठन एक हुनुपर्ने बताइन् । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जनसंगठन गण्डकी संयोजक डा.सूर्य पाठक,गण्डकी प्रदेश अध्यक्ष नबराज शर्मा ,नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर बि.पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए।
नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) गण्डकीका अध्यक्ष रुद्र खत्री, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्रप्रसाद पौडेल ,अनेमसंघ गण्डकीका अध्यक्ष हिरा गिरी, प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुरेश तिमिल्सिना, अखिल नेपाल किसान महासंघका अध्यक्ष गोवद्र्धन गौली, राष्ट्रिय जनसान्स्कृतिक महासंघका इन्चार्ज मनकुमार श्रेष्ठ,नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष निर्मल दियाली, अनेरास्ववियुका अध्यक्ष आरके पोख्रेल ,युवा संघका नेपालका संयोजक विकास अधिकारी,भूतपूर्व सैनिक संगठन अध्यक्ष शेरबहादुर जिसी, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष सुजन लामा ,बुद्धिजीवी परिषदका अध्यक्ष चन्द्रबहादुर थापा ,पेशागत महासंघ गण्डकीका इन्चार्ज आरपी खनाल लगायतले आ आफ्नो संगठनका गतिविधि र भावी योजना सहितको सांगठनिक प्रतिवेदन पेश गरेका थिए।एमाले गण्डकी प्रदेश कमिटीका जनसंगठन विभाग प्रमुख तथा एमाले गण्डकीका उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।





