बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कागखोलामा जनश्रमदान गरेर पुल बनेपछि चार घण्टा हिँड्नुपर्ने बाध्यता हटयो

कागखोलामा जनश्रमदान गरेर पुल बनेपछि चार घण्टा हिँड्नुपर्ने बाध्यता हटयो


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८०, शनिबार

पर्वत/ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलामा रहेको पुल अविरल वर्षासँगै आएको बाढीले बगायो। कागबेनीबाट पारी पट्टी रहेको तथा सवारीको पहुँच विस्तार नभएको गाउँ हो– तिरी ।

कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी गाउँ र कागबेनी आउजाउ गर्न करिब चार घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता थियो । सिधै जान कागखोला तर्न सकिँदैन । घुमेर जाँदा पाङलिङ, फल्याक, लगायतका गाउँहरू हुँदै निकै घुमेर जानुपर्ने अवस्था थियो । त्यो घुमाउरो बाटो पैदल यात्राका लागि समेत अप्ठ्यारो भएकोले यात्रीहरूले करिब एक महिनादेखि निकै सास्ती भोग्दै आएका थिए ।

जनश्रमदान, छिमेकीसँगको सहसम्बन्ध, अर्मपर्म र सहयोगलाई पुख्र्यौली संस्कृतिको रूपमा मान्दै आएको मुस्ताङीले सोही ठाउँमा जनश्रमदान गरेरै पुल निर्माण गरेर चार घण्टाको बाटोलाई छोट्टाएर केही बेरमा झारिदिएका छन् । गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङका अनुसार मुख्यतः तिरी, कागबेनी र पाङलिङ गाउँबाट आएका नागरिकहरूले दैनिक रूपमा जनश्रमदान गरेर काग खोलामाथि पुल निर्माण गरेका हुन् । पैदल यात्रा र दुईपाङ्ग्रे सवारी सहजै तर्न सक्ने अस्थायी काठे पुलबाट अप्ठ्यारो परेको बेलामा जसोतसो ट्याक्सी पनि पार हुन सक्छ ।

पुल नभएका कारण अत्यावश्यक सामग्रीहरू सहित दैनिक उपभोग्य बस्तुहरूको ढुवानीमा समस्या हुँदै आएको थियो । यस्तै स्वास्थ्य सामग्रीहरूको आपूर्ति गर्न समस्या भएको थियो उपचारका लागि तल झार्नुपर्ने वा उपचार गरेर गाउँ फर्किनेहरूलाई पनि समस्या भएको थियो । उक्त ठाउँमा यसै वर्ष गाडी तर्न सक्ने पुल निर्माण गर्ने योजना राखेर वडामा बजेट राखिएको अध्यक्ष गुरुङले बताए । तर, अब त्यो बजेटको शीर्षक परिवर्तन गरेर कागबेनीका बाढीपीडितको पुनः स्थापनको लागि खर्च गर्नुपर्ने भएको छ ।

सरकारको मुख ताकेर बस्दा लामो समय बित्ने र त्यो अवधिमा गाउँलेहरूले सास्ती खेप्नुपर्ने भएपछि छिमेकी गाउँका बासिन्दाहरूको सहयोगमा पुल निर्माण गरिएको अध्यक्ष नामगेल बताउँछन् । जनश्रमदानको लागि आएकाहरूलाई खाना र खाजाको बन्दोबस्त अध्यक्ष नामगेल र उपाध्यक्ष दिकि गुरुङले व्यक्तिगत रूपमा गरेका थिए ।

‘पूर्ण जनश्रमदानमार्फत् नै यो पुल बनाउन सकिएको छ । जनश्रमदानमा आउनुभएकालाई मैले र उपाध्यक्षले खाना र खाजा दिएका थियौँ । हामी सबैले श्रमदान गर्दा बुढा पाका, बिरामी, बालबालिका, लगायत लामो दूरी हिँड्न नसक्नेहरूलाई सजिलो हुने भएको छ’, उनले भने, ‘आफ्नो वडामा वा पालिकामा जुन गाउँमा समस्या परे पनि अर्को गाउँको मानिसहरू जनश्रमदानमा जाने, आर्थिक तथा भौतिक सहयोग गर्ने गरेका छन् । मुस्ताङ जिल्लाभर कहीँ पनि समस्या पर्दा जनकुनै ठाउँको नागरिकले पनि सक्रिय रूपमा सहयोग गर्ने यहाँको प्राचीन सभ्यता हो । एउटालाई दुःख परेको बेलामा अर्कोले सघाउने त हाम्रो संस्कार नै हो ।’

सबै कुरामा सरकारको मुख ताकेर बस्नु राम्रो नहुने आफूहरूको मान्यता अनुसार नै सबै नागरिकले स्वतःस्फूर्त रूपमा जनश्रमदान गरेका अध्यक्ष गुरुको भनाई छ । आफूले पनि सकेका कामहरू गर्न सकियो भने आफ्नो ठाउँको विकास आफै गर्न सकिने स्थानीय नागरिकको मान्यता रहँदै आएको छ । दीर्घकालीन काम गर्नको लागि सरकारको भर पर्न सकिने भए पनि तत्कालीन र आपतकालिन काममा भने स्थानीय नागरिककै सक्रियता चाहिने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->