पोखरा/ नेपाली कांग्रेस पोखरा महानगरपालिकाले आइतबार नेपाली कांग्रेस वडा इकाइ सभापति र निर्वाचित वडा अध्यक्षसहितको संयुक्त बैठकको आयोजना गरेको छ ।
कांग्रेस पोखरा महानगर कार्यसमितिको आयोजनामा आउदो २७ गते पोखरामा हुन गइरहेको दोश्रो महानगर सम्मेलनको तयारीका बारे छलफल गर्न बैठकको आयोजना गरेको हो ।
बैठकमा सम्मेलनको पुर्व तयारी र महत्वपूर्ण राय, सल्लाह र सुझाव संकलन गरिएको अध्यक्ष सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।
बैठकमा इकाइ सभापतिहरुले राखेको भातृसंस्थाको पछिल्लो समयमा देखिएका समस्याका बारेमा प्रश्नको जवाफ दिँदै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीभित्र विधान सर्वेसर्व हुने धारणा व्यक्त गरे । सभापति बरालले भने ‘विधान बमोजिम नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डे र नेविसंघका सभापति गौरव बराल नै हुन् ।’पार्टी भित्र स्वार्थका लागि गुट उपगुट निर्माण गरी क्षणिक रमाइलोमा लाग्नेहरुको पछि नलागि विधान बमोजिम संयमित रुपमा लाग्न सबै इकाइ सभापतिहरुलाई आग्रह गरे ।
बैठकमा बोल्दै पोखरा महानगरपालिका संसदीय दलका नेता दिवसमान प्रधानाङ्गले नेकाबाट निर्वाचित वडा अध्यक्षहरु विकासका लागि एक हुनुको विकल्प नरहेको बताए । उनले पार्टीभित्र अनुशासनहीनता मौलाउँदै गएकोप्रति दुख व्यक्त गरे ।





