शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कांग्रेसमा रुवाबासी चल्यो : गगन थापा

कांग्रेसमा रुवाबासी चल्यो : गगन थापा


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८०, बिहिबार

पोखरा/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा रुवाबासी चलेको बताएका छन् । नेपालमा जन्मिएका पिपलपाते पार्टीको कुरा सुनेर कांग्रेस रुन थालेको उनको भनाइ छ । कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिको आयोजनामा भएको दोस्रो नगर सम्मेलनको सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ सालमा चुनाव हारिन्छ भन्दै कांग्रेसमा रुवाबासी सुरुभएको सुनाए ।

‘अहिले हामी सकियो सकियो सकियो भनिरहेको छौं । २०६० सालको अवस्थामा पनि हामी सकियो भनेका थियौँ । कोही मान्छे २०८० सालमा आएर २०६० सालमा फर्किन चाहन्छ ? २०७९ सालमा चुनाव भयो । जताततै चुनाव हुइँकेको छ । संघमा चुनाव जितेको छ । ठूलो पार्टी बनेको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री, लुम्बिनी प्रदेशमा यहि मुख्यमन्त्री, सुदुरपश्चिममा मुख्यमन्त्री, यता ठोक्यो वडा अध्यक्ष, उता ठोक्यो मेयर ।

चुनाव लड्छ, जित्छ अनि कांग्रेसले देशभरको कार्यक्रममा रुवावासी चल्छ । रुवावासी केमा भन्दा २०८४ सालको चुनाव हारिन्छ,’ उनले भने, ‘२०७९ सालमा चुनाव जित्ने चुनाव आउन चार वर्ष छ । केही दिनपछि, केहि हप्ता, त्यो नि नभए केही महिनापछि संघको प्रधानमन्त्री कांग्रेस । सबै प्रदेशको मुख्यमन्त्री कांग्रेस, मेयर कांग्रेस । सबैभन्दा ठूलो पार्टी हामी बन्ने अनि २०८४ मा चुनाव हारिन्छ कि भनेर छाती ठोकेर रुवावासी । मैले कांग्रेस रोयो भन्छु । किन रोयो भन्दाखेरी चुनाव हारिन्छ भनेर ।’

कांग्रेसभित्र मौलाएको विकृतिका कारण त्रासको वातावरण सिर्जना भएको उनको भनाइ थियो । पार्टी चुनाव जित्नका लागि मात्र नभइ देश विकास र परिवर्तनको नेतृत्व गर्ने भएकाले जस्तो सुकै चुनौती आए पनि त्यसको सामना गर्न सधैं तयार हुन आग्रह गरे । देशको अर्थ, उत्पादन, शिक्षा, स्वास्थ्य हरेक क्षेत्रको शक्तिसँग जोडिएको पार्टी कांग्रेस नै भएको उनको भनाइ थियो । उनले पार्टीसँगै देशको समस्या समाधान गर्न लाग्नुपर्ने बताए । हरेक पालिकाका जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्न अनुरोध गर्दै उनले देशको मुख्य रोग भ्रष्टाचार रहेको औंल्याए । पोखरा महानगरपालिकाका मेयरले राम्रो काम गरेमा बोकेर हिँड्न र नराम्रो काम गरे खबरदारी गर्दै छाड्नसमेत उनले आग्रह गरे ।

उनले २०८२ सालमा पार्टीको अधिवेशन हुने र नयाँ नेतृत्व पाउने सुनाए । ‘हाम्रो पार्टी अहिले कस्तो भयो भन्दा एउटा पार्टीको अधिवेशन कसरी लड्ने, अध्यक्षमा कसरी हराउने । अर्को देशको चुनाव कसरी लड्ने । हामीसँग दुई कुरा छन् –२०८२ मा पार्टीको अधिवेशन गर्ने हो । २०८४ मा चुनाव लड्ने हो यो भन्दाबाहेक केहि हुँदैन्,’ उनले भने, ‘अब वर्तमान सभापतिलाई विधानले पनि अध्यक्ष बन्न दिँदैन । त्यसैले ढुक्क हुनुहोस् नयाँ नेतृत्व आउँछ । यसको संयोजक म आफै हुँ । २०८२ को मंसिर कट्दैन ।२०८३ मा देशभर सम्मेलन गर्ने हो । २०८४ मा चुनाव लड्ने हो ।’

उनका अनुसार अहिले नेताहरुकै कारण नेपालका विश्वविद्यालय ध्वस्त भएका छन् । देशमा विश्वविद्यालयलाई व्यवस्थित गर्न नसक्दा युवाहरु विदेश जाने प्रवृत्ति बढ्दो रहेको र यसलाई रोक्न विश्वविद्यालय ऐन ल्याउने तयारी भइरहेको सुनाए । देशको शिक्षा प्रणाली राम्रो भएमा आर्थिक उन्नति गर्न सकिने उनको भनाइ थियो ।

सोही सम्मेलनको सम्बोधन गर्दै केन्द्रिय सदस्य गुरु बरालले कांग्रेसले अफ्ट्यारोमा देशको नेतृत्व सम्हाल्दै आएको सुनाए । उनले देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसबाहेक कुनै शक्तिले नसक्ने बताए । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेसमा प्रजातन्त्र हराउँदै गएको सुनाए । उनले प्रजातन्त्र हराउँदै गए पार्टी क्लबमा परिणत हुने बताए । युवाहरु विदेसिने क्रमले कांग्रेस कमजोर भएको र युवालाई स्वदेशमा राख्न स्वरोजगार आवश्यकता रहेको उनको भनाई छ । महानगरपालिका सभापति सुरेन्द्रमान विजुक्छेले आगामी २०८४ सालको निर्वाचन कांग्रेसका लागि चुनौति भएको बताए । उनले जनताले कांग्रेस सरकारमा हुँदा समेत ठम्याउन नसक्नु दुःखको कुरा रहेको सुनाए । सम्मेलनमा कोषाध्यक्ष सम्मर बहादुर श्रेष्ठ र सचिव टुवराज बास्तोलाले प्रगति प्रतिवेदनसमेत सार्वजानिक गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->