बागलुङ/राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बागलुङले शुक्रबारदेखि तीज बिशेष कार्यक्रम शुरु गरेको छ । लोकदोहोरी क्षेत्र मात्र नभई नेपाली संस्कृतिको क्षेत्रमा भित्रिने विकृति अन्त्यका लागि विशेष कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले संस्कृतिको जगेर्ना गर्ने काममा तीज तथा सामाजिक संस्थाहरु सक्रिय बन्नुपर्ने धारणा राखे । तीज मात्र नभई हरेक संस्कृतिमा बिकृति भित्रन नदिन सामाजिक अगुवाको भूमिका हुने भन्दै गाइजात्राले व्यङग्य गरेजस्तै तीजले महिलाको दुःख पीडा पोख्ने गीत पस्कनुपर्ने बताए । जथाभावी विकृतिको रुपमा आउने गीत संगीतमा प्रतिष्ठानले नियन्त्रण गर्न सके राम्रो हुने उनको सुझाव थियो ।
प्रतिष्ठानकी अध्यक्ष सरस्वती परियार खड्काको अध्यक्षता, सचिव सुमन खड्काको संचालन र उपाध्यक्ष शिव शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा बानपा–२ का अध्यक्ष सुरज बोसेल, संस्थाका संरक्षक लक्ष्मण श्री, महिला संजालकी उपाध्यक्ष भगवती केसी, अखिल नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी बोहराले मन्तव्य राखेका थिए । प्रतिष्ठानले दुइ दिनसम्म संचालन गर्ने कार्यक्रममा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, सामुहिक नृत्य तथा गीत संगीतका कार्यक्रम राखिएको बताइएको छ ।





