पोखरा/ एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले संविधानप्रति वितृष्णा फैलाउने तत्वको सक्रियता बढेको बताएका छन् । उनले व्यवस्थालाई नै असफल बनाउन हुने हर षड्यन्त्रलाई परास्त गर्न राजनीतिक दलहरू एकतावद्ध हुनुपर्ने पनि बताए । उनी बुधबार एमाले गण्डकी प्रदेशले आयोजना गरेको ‘संचारकर्मीसँग एमाले’ कार्यक्रममा बोल्दै थिए ।
संविधानको कार्यान्वयन गराउने काम सरकारको भएको र सरकारको जिम्मेवारी सम्हालेका पात्रहरू चनाखो हुनुपर्ने उनले बताए । पार्टी स्थायी कमिटी सदस्य किरण गुरुङले संविधान पूर्ण कार्यान्वयनको दिशामा देश अगाडि बढेको धारणा राखे । अर्का स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधान निर्माणका क्रममा देखिएका कमि कमजोरी हटाउँदै अगाडि बढ्नुपर्ने बताए ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदेश कमिटीका उप– सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मी आचार्यले गरेका थिए ।





