पोखरा / नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको बन्द शत्र मंगलवार दिउसो सकिएको छ । निवर्तमान अध्यक्ष नवराज शर्माले प्रस्तुत गरेको राजनैतिक, सांगठानिक तथा आर्थिक प्रतिवेदनमाथिको छलफलमा प्रतिनिधिले उठाएको प्रश्नको जवाफ शर्माले दिएपछि सुझावसहित सर्वसमितिले प्रतिवेदन पारित गरेको छ ।
बन्द शत्रमा पार्टीका महासचिव शंकर पोखरेलले पार्टीलाई जनतासंगै जोडेर मिसन २०८४ लाई सफल पार्न सक्ने गतिशिल नेतृत्व निर्माण गर्न आग्रह गरे । उनले नेतृत्व सर्वसम्मत भएमा पार्टीभित्र एकमना एकता देखिने भएकाले त्यसका लागि प्रतिनिधीले ध्यान दिनुपर्ने वताए । ‘चौतर्फी घेरावन्दीभित्र पार्टीलाई सुदृढ बनाउन एकता अनिवार्य छ’, महासचिव पोखरेलले भने, ‘एकतामा नै बल हुन्छ भन्ने कुरा नविर्सिनुहोला ।’
वन्द शत्र सकिएलगतै नयाँ नेतृत्व छनौटका लागि निर्वाचन कार्यक्रम सुरु भएको छ । निर्वाचनका लागि मतदाता नामवली सार्वजानिक भएको छ भने दिउसो ३ बजेदेखि ६ बजेसम्म नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनय गर्ने कार्यक्रम निर्वाचन समितिले सार्वजानिक गरेको छ ।
उम्मेदवारको नामवली आजै साँझ प्रकाशन गर्ने र भोलि विहान १० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । बुधवार दिउसो १० बजे उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्ने र दिउसो १ बजेबाट मतदान गर्ने कार्यक्रम तय भएको निर्वाचन समितिले जनाएको छ ।





