बागलुङ/ ढोरपाटन क्षेत्रको विकासमा निजी क्षेत्रले साझेदारी गर्ने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले ढोरपाटन क्षेत्रको सबैखाले विकासमा निजी क्षेत्रले सहकार्य र सहयोग गर्ने निर्णय गरेको हो ।
सोमबार र मंगलबार ढोरपाटनमा बसेको महासंघको तेस्रो पूर्ण बैठकले ढोरपाटनमा निर्माण गरिने उत्तरगंगा जलासययुक्त जलविद्युत आयोजना निर्माणमा पहल गर्ने भएको हो । समयमा काम हुने गरी आयोजना संचालन गर्न राज्यको ध्यानाकर्षण गराउने उनीहरुको निर्णय छ । आयोजनालाई बहुउद्देश्यीय बनाउन पनि अगुवाइ गर्ने निर्णय गरेको हो ।
महासंघले मंगलबार जारी गरेको ९ बुँदे घोषणा पत्रमा ढोरपाटन क्षेत्रको विकासमा निजी क्षेत्रले राज्य, समुदाय र स्थानीय तहसँग सहकार्य गर्ने निर्णय गरेको हो । अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, बस्तुगत संघका पदाधिकारी तथा बागलुङ उद्योग वाणिज्य संघका पदाधिकारी ढोरपाटन पुगेका थिए ।
ढोरपाटनमा पुगेर निजी क्षेत्रले गरेको बैठक पहिलो पटक हो । घोषणापत्रमा ढोरपाटनमा पर्यटन प्रवद्र्धनका क्रियाकलापमा स्थानीयसँग सहकार्य गरिने उल्लेख छ । साथै स्तरीय होटल संचालन, सडक, खानेपानी, इन्टरनेट तथा सूचना प्रविधिमा निजी क्षेत्रले साथ दिने भएको हो ।
शिक्षा र स्वास्थ्यको अवस्था कमजोर भएको ढोरपाटनमा पनि निजीक्षेत्रले सहकार्य गर्ने उल्लेख छ । खानेपानी लगायतको समस्या समाधानका लागि पनि निजी क्षेत्रले लगानी गर्ने बताइएको छ । ढोरपाटनमा होमस्टे प्रवद्र्धन गर्ने, स्थानीयलाई व्यवसाय प्रवद्र्धनका लािग तालिम तथा सीप हस्तान्तण गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।
मौलिक भाषा र संस्कृतिको विकास गर्ने, जैबिक बिबिधता संरक्षण तथा पर्यावरण संरक्षणमा व्यवसायीले साथ दिनेछन् । यहाँको पशुपालनलाई व्यावसायिक बनाउने काममा उद्योगी, व्यवसायीले साथ दिने, कृषि तथा साना र घरेलु उद्योगको विकासमा योगदान गर्ने र ढोरपाटनको प्रवद्र्धनमा प्रचार प्रसारमा साथ दिने घोषणापत्रमा उल्लेख छ ।





