पोखरा/ सोमबारबाट पोखरामा जारी एमाले गण्डकीको प्रथम गण्डकी अधिवेशनको चुनावी प्रक्रिया पुनः बिहीबार धकेलिएको छ । बुधबार ढिलो गरी सुरु भएको मनोनयन प्रक्रिया नै साँझसम्म चलेपछि निर्वाचन समितिले बाँकी कार्यक्रम पुनः संशोधन गरेको हो । निर्वाचन समितिका उम्मेदवारी फिर्ताको समयावधि नै बिहीबार बिहानसम्मको लागि तय गरेको छ । उम्मेदवारी फिर्तापछि सम्भवतः दिउसोमात्र चुनावी प्रक्रिया सुरु हुने निर्वाचन समितिको भनाइ छ । विद्युतीय मतदान हुने भएकाले परिणाम आउन भने समय लाग्नेछैन । चुनावमा ९०७ जना प्रतिनिधिले मतदान गर्नेछन् ।
गण्डकी प्रदेश अध्यक्षको लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी मैदानमा छन् । प्यानललाई निषेध गर्ने भनिए पनि उनीहरु दुवै प्यानलसहित नै मैदानमा उत्रिएका छन् । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ भने अधिकारीको पक्षमा स्थायी समिति सदस्य खगराज अधिकारी रहेका छन् । अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलको पनि आशीर्वाद छ । म्याग्दीका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्का उपसचिवमा कास्कीका दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् ।
यता,लमजुङका अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, महिला उपसचिवमा कास्कीका मीना गुरुङ र अर्काेका उपसचिवमा म्याग्दीका सन्तोष रावलले उम्मेदवारी दर्ता गरेका छन् ।लेखा आयोगको अध्यक्षमा शर्माको प्यालनबाट नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्षमा गोर्खाका गिरधारी सापकोटा र सचिवमा बागलुङका वीरबहादुर बिकले उम्मेदवारी दिएका छन् । अधिकारीको प्यानलबाट अध्यक्षमा बागलुङका रामबहादुर जिसी, उपाध्यक्षमा शिवजी पौडेल र सचिवमा वैकुण्ठनाथ आचार्यले उम्मेदवारी दिएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनमा नवराज शर्मा टिमबाट २३ जना गण्डकी प्रदेश कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन् । संघीय निर्वाचन क्षेत्रतर्फ मनाङबाट चीनबहादुर घले, मुस्ताङका इन्द्रधारा विष्ट, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, गोरखा संघीय निर्वाचन क्षेत्र १ बाट टीकानारायण श्रेष्ठ र २ बाट हरि काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।
लमजुङमा भूगोल खुलातर्फ प्रेमबहादुर घले र फूलबहादुर थापा, दलितबाट नन्दराम विक र महिलाबाट लक्ष्मी अधिकारी र विष्णुमाया राना निर्विरोध भएका छन् । म्याग्दी भूगोलबाट किरण सापकोटा र तिलक विक, दलिततर्फ पुष्कर विक निर्वाचित भएका छन् । नवलपुरबाट दलिततर्फ कृष्णबहादुर विक निर्वाचित भएका छन् ।बागलुङबाट भूगोलबाट लीला राना र टंकप्रसाद शर्मा,अल्पसंख्यक महिलाबाट सुनकुमारी भुजेल, जनजाति खुल्ला महिलाबाट निर्मला थापा, लालसुब्बा गुरुङ र जोगमाया महतो निर्विरोध निर्वाचित भएका छन् । यस्तै, मजदुर महिलाबाट संगीता पाण्डे निर्विरोध निर्वाचित भएकी छन् । लेखा समिति सदस्यतर्फ मञ्जु केसी र रेखा पौडेल निर्वाचित भएका छन् । अर्का अध्यक्षका उम्मेदवार मायानाथ अधिकारीको समूहबाट कुनै पनि उम्मेदवार निर्विरोध हुन नसकेको उपमहासचिव पृथ्वीसुब्बाका स्वकीय सचिव विक्रम न्यौपानेले दाबी गरेका छन् । भूगोलतर्फको २२ सिट खुलामा ५३ जनाले मनोनयन दर्ता गराएका छन् । सोही समूहको ११ जना महिला सदस्यको लागि १८ जना मैदानमा छन् ।
५ जना दलित महिलाको लागि १८ जनाले आकांक्षा राखेका छन् । एक अपाङ्गको लागि ४ जनाको मनोनयन परेको छ । १० पद छुट्टाइएको प्रदेश युवा खुलामा २३ जना र ५ युवा महिलाको लागि ९ जनाको मनोनयन दर्ता भएको छ । आदिवासी जनजाति प्रदेश खुला १३ को लागि १७ जनाको मनोनयन परेको छ । जसमा ३ जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ । मजदुर खुलातर्फको २ जनाको लागि ५ जना र प्रदेश महिला खुला एक सिटको लागि संगीता पाण्डे निर्विरोध भएकी छन् । अल्पसंख्यकको २ जनाको लागि ४ जनाको उम्मेदवारी परेको छ भने अल्पसंख्यक महिलामा सुनकुमारी घर्ती निर्विरोध भएकी छन् । मुस्लिमको लागि छुट्टाइएको २ सिटमा ४ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्रको लागि छुट्टयाइएको १८ सिटको लागि ३१ जनाको उम्मेदवारी परेको छ । जिल्ला भूगोलतर्फको ६१ सिटको लागि जिल्लागत रुपले नै उम्मेदवारी परेको छ । जस अनुसार कास्कीको ९ सिटको लागि २४ जनाको उम्मेदवारी परेको छ । गोरखाको ५ सिटको लागि ८ जना, तनहुँको ६ सिटमा ११ जना , नवलपुर ७ को लागि २८ जना, पर्वतबाट ७ सदस्यको लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । बागलुङ ६ सिटको लागि १२, मनाङ २ को लागि ४ जना, मुस्ताङ ३ सिटको लागि निर्विरोध भएको छ । म्याग्दी ४ सिटमा पनि निर्विरोध सदस्य चुनिएका छन् । स्याङ्जा ७ सदस्यको लागि १५ जना र लमजुङबाट चुनिने ५ जना पनि निर्विरोध बनेका छन् । त्यसमा महिला सिट पनि सुरक्षित गरिएको छ । यो चुनावले अध्यक्ष, उपाध्यक्ष,सचिव तथा एक महिला उपसचिवसहित ५ पदाधिकारीसहित १५५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । प्रमुखसहित लेखा समितिका ७ जना पनि यही निर्वाचनले चुन्नेछ ।





