यो राजनीति भन्ने शब्द कस्तो कस्तो बाहिर रहुञ्जेल अन्याय गरे जस्तो, भित्र छिरेपछि सबै न्याय नै न्याय जस्तो, आफ्नो कर्म आफैलाई प्रसन्न गराउने गोदान जस्तो, पैसा पुज्यो धनले शुद्ध भएको युगमा धनमै सबै आकृति प्रतिबिम्बित गर्यो खुशि बन्यो । आखिर राजनीतिको मर्म पनि धन कै समानार्थी बन्दै छ हिजोआज, पहिलेका मानिसहरुले राजनीतिलाई राजाको नीति भन्थे । समय क्रमको विकाससङ्गै देशमा राज गर्ने नीतिका रुपमा मान्न थालियो । प्रजाको शान्तिसुरक्षा कायम गर्ने नियमलाई राजनीतिको परिचय दिइयो । त्यही शब्दमा वाद अर्थात् सिद्धान्त जोडेर यहाँ राजनीतिवादको चर्चा गरिन्छ । अहिलेको राजनीतिले आँखा हेरेकालाई नहेरेका र दौडेकालाई निदाएको बनाउने सामर्थ्य राख्न थालेको छ । भोका नाङ्गालाई अघाएको बनाउन सक्ने अदालतको हालत पनि सम्झिनसक्नु छ । अदालतमा न्यायकी देवि त छन् तर दुवै आँखामा पट्टी बाधिएकी छन् । उनले देख्दै देख्दिनन् । केही देख्दिनन् । सुन्छिन् मात्र, त्यही भाषा जुन भाषामा अन्याय, अत्याचार र दुराचार मिसिएको छ । रगतले लत्पतिएका खुट्टाको चाल अनि हातको गन्धमा नियन्त्रीत हुन्छिन् । त्यसैले राजनीति गर्ने मानिस कालजयी बन्छ ।
शासन सत्ता सञ्चालन गर्ने नीति बलियो नभए प्रजा असन्तुष्ट हुन्छन् । असन्तुष्ट प्रजामाथी राज गर्नु भनेको मारेको सर्पलाई लौरो लगाएर विजयको उद्घोष गर्नु जस्तै हो । त्यसैले जनताका हक अधिकारको कदर गरि राज्यले सक्षम शासन व्यवस्थाको निर्माण गर्ने र राष्ट्रिय, अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन मिलाउने कार्य गर्ने नीतिलाई राजनीति भन्नू उपयुक्त ठहर्छ । तर अहिले यस्तो लाग्छ बिना राजनीति अभयवस्तुले पनि बसाइँसराइ गर्दैनन् जस्तो । देशमा जताततै ‘म खाउँ मै लाउँ’ भन्ने घोप्टे प्रवृत्ति उत्पन्न भएको छ । कालान्तरमा बिना सर्त कुनै प्राणीले कुनै धर्म पूरा गर्दैनन् होला । राजनीतिले जे जे काम गर्न सिकायो । खल्ती भर्न अनि अघिपछि सर्न सिकायो । कतिलाई रिसाउन त कतिलाई बिकाउन सिकायो । मुख्य कुरा त दलिय झण्डाको आड लाएर सत् असत् कर्महरु गर्न सिकायो । राजनितीकै छाँयाले ज्युँन सिकायो ।
नेपाली राजनीति वर्तमानमा आइपुग्दा तमाम व्यथितीहरुमा रुमलिएको छ । जसमा अन्याय, अत्याचार, भ्रष्टाचारका साथमा नातावाद र कृपावादले नेपाली समाजलाई नराम्रोसङ्ग गाँजेका छन् । राज्यको नेतृत्व गरेका नेता, कार्यकर्तादेखि सर्वसाधारण जनताले भ्रष्ट मनशाय लिएर दैनन्दिन क्रियाकलाप सञ्चालन गरेका छन् । समाजमा अराजकता फैलिएको छ । राज्यसंयन्त्रमा रहेका राजनीति कर्मीहरुले नै वैधानिक कानुनमाथी अतिक्रमण गर्दा सामाजिक सम्बन्ध र सद्भावपूर्ण व्यवहारमाथी नै कुठाराघात भएको बुझिन्छ । यहि राजनीतिका कारण राजाको वंशले न्याय पाएनन् । जननेता मदन भण्डारीले के को परिकल्पनामा ज्यान गुमाए ? आज तिनै गुमनाम भए । निर्मला पन्त कुन लोकमा लोकाचार खोज्दै छिन् । वाचन शिरोमणि पण्डित नारायण पोखरेलको आत्मालाई धार्मिक सहिदको रुपमा वरण गरिएको छ । राजनीतिको टिको लगाउन पसिना पुछेका कैयौं नेपालीले राजनैतिक दायित्व बिर्सिदा जीवन बिर्सिनु पर्यो । कति पुलिसले टिकापुरमा झै ज्युँदै जल्नु पर्यो । खै त स्वजातिय समान वस्त्रधारी मनहरुको रोदन सुनेको पुलिसले ? कतिले त राजनीति कै नामले शहिदको तिलक ग्रहण गरे । कतिका आफन्तले माला जप्दा जप्दै पार्टी नेतृत्व र सरकार समेत बिसौनीको चौतारी विहिन बने ।
राजनीति सार्थक समाज निर्माणको अभियान हुनुपर्ने थियो । तर त्यही विधान देखावटी ढाँचामा रुपान्तरित हुँदा समाजबाट सदाचारिताको मुख्य पाटो नै बाहिरिएको छ । राजनैतिक समाजमा हुने अराजक गतिविधि, भ्रष्टता र आडम्बरीपनका कारण आचार, विचार, सदाचार र सद्व्यवहारले न्यायालय कै सन्मुखबाट शिर निहुराएर हिडिरहेको भान हुन्छ । सत् कर्मले बास नपाउने यो देशमा असत् कर्मले महल बनाएको स्पष्ट हुन्छ । देशका सम्पुर्ण अवयबहरु यहीँ नीतिमा रुमलिएका छन् । जसका कारण नुनदेखि सुनसम्म राजनीति हुन थाल्या छ । गुड्ने हुइलचियरदेखि उड्ने जहाजसम्म राजनीति, कलियुगलाई नै उन्मत्त पार्ने मदिरादेखि बालबालिकाको अमृत दुधसम्ममा राजनीतिको गन्ध आउँछ । बाक्लादेखी पातला, होचा–अग्ला, छोटा–मोटा सबैमा राजनीति हुन्छ । प्लाष्टिकदेखि सिसाका बोत्तलसम्ममा राजनीति भएपछि कोक, फेन्टा, जुस, तेल, घ्यु, पेट्रोल, डिजेल, मट्टीतेल र पानी समेतको सुगन्ध राजनीतिले लिएको छ । अनि खाने लाउने र गुडाउनेले कसरी सत् कर्म गरुन् ? निर्माण हुँदै गरेका नहरमा पनि राजनीति गर्ने ठहर गरेपछि यो देशले कसरी मुहार फेर्छ ? झोलुङ्गे पुलहरुमा भ्रष्टाचारका झुल लाएका छन् । जुनसुकै श्रेणी होस् । स्थायी होस् वा अस्थायी शिक्षक, कर्मचारी अनि सुचिकारदेखि कुचिकारसम्मको नियुक्तिमा भ्रष्टाचार र घुसखोरी चल्छ ।
युवा युवतीले पढेर सके, घरघडेरी बेचे, ऋण कतिकती, सर्टिफिकेट बिकाउन उहीँ राजनीति छिः कस्तो राजनीति, नेपालको स्वाभिमानमाथी नै प्रश्न चिह्न उठाउने । सरकारी होस् या प्राइभेट जहाँ जता पनि राजनीति हुन्छ । त्यो यो पार्टीको यो त्यो पार्टीको जुन कर्मका लागि पनि राजनीति चाहिने भए पछि योग्यताको के काम ? सानो–तिनो जागिर खान पनि भनसुन चाहिने, भनसुन बिना न टेक्न सकिन्छ न केही भेट्न नै, पार्टीको झण्डालाई छातीमा नटासेसम्म परिचय नै गुमनाम हुने, अस्पतालको बेडले बिरामीसङ्ग झण्डाको अपेक्षा राख्छ । स्वास्थ्योपचारका लागि राजनिती र फोर्सले धेरै बेड ओगटेको छ । अन्यथा न छोरोलाई विदेश पठाउन ऋण पाइन्छ न उपचार नै, त्यसैले डाक्टरले पनि भन्न थालेका छन् । बिना राजनीतिले उपचार र धन कहाँ पाइन्छ ।
खोक्रो राजनीतिको भागबन्डा बिना न गाउँमा बिउ बिजन वितरण हुन्छन् न टनेल, पालिकाले नउम्रदैको बिउमा समेत राजनिती गर्छ । आफ्नो वर्चस्व भएको वडामा बिउँ पुर्यायो । नबिउझेका कार्यकर्तालाई बाड्यो खुशियाली मनायो । पशु कार्यालय, भेटेरिनरी, यातायात र प्रशासन कार्यालय सबका सब त्यस्तै जहाँ पनि नातावाद र कृपावाद छ । नचिनेका नयाँ अनुहारले कहिल्यै सेवा पाएनन् । विद्युतका हाकिम पोलको मिटर हेरेर शुल्क लिन्छन् । बिना बिल भरपाई कसरी शुल्क लाग्छ । सरकारले दिएको तलब सुविधा कहाँ राख्छ? र पोलै बिच्छेको नाप तौल गर्छ? वडा कार्यालयले पार्टी बिनाको सिफारिस नै दिदैन मिनिटेलर (हलो) दिने त परै जाओस् । हुँदाहँुदै सिचाइका पाइप, जाली र प्युँने पानीका आयोजनामा समेत भ्रष्टाचार हुन्छ । जनता कसरी बाँचुन् । प्युँनेदेखि सिउनेसम्मका काममा राजनीति भएपछि, घुसखोरी कालोबजारीको कुरै छोडौं । प्रत्येक सामानमा सक्कली र नक्कलीको चलखेल चल्या छ । आफुले दिने ठाउँमा भरपुर तान्या छ । यता उपभोक्तालाई मान्छे हेरेर दुईको चार भन्या छ । राजनीति कै कारण धर्म, संस्कृती र साँस्कृतिक सम्पदा ध्वस्त भए । मठ, मन्दिर, पाटी पौवा र चौतारी पोखरी जिर्ण बने । विकासका नाममा पुराना संरचना भत्काउनु निन्दा जनक छ । आफुले आफ्नै धर्मलाई धारण गर्न नसकेपछि किन पराइको धर्मा खोज्नु देशमा कृश्चियानहरुले हिन्दु धर्म र राष्ट्रिय जनावको बध गर्दा समेत सरकार मौन छ । किन कि उनिहरुलाई राष्ट्रिय जनावर भन्दा ठुला कार्यकर्ता हुन् । धर्मभन्दा ठूलो मत हो । त्यसैले उनिहरु बोल्दैनन् । तसर्थ राजनीतिले शुद्ध भएका कार्यकर्ताका अगाडि उनिहरु नाजवाफ छन् ।
व्यापारीले १६६० मा ल्याएको खाना बनाउने ग्यासलाई दुई हजारको मोल गर्छ । ७० रुपैयाँमा किनेको दुधमा तृतीयांशको दरमा पानी भर्छ, एउटै दुधमा दहि, घ्यु र अन्य वस्तु कुन मुख लिएर उत्पादन गर्छ ? १२० को मुल्यलाई तल्लो मुल्यको दर्जा दिने व्यापारीले पाउडरको भाउ कसरी पाउछ ? खान पनि कति खाने, नियन्त्रणको नामोनिसान कहिकतै भेटिदैन । सबका सब राजनैतिक धर्मले बाँच्या छन् । नेताहरूले आफ्ना आफ्ना कार्यकर्ता ठाउँ ठाउँमा राख्या छन् । यसै कारण अनगिन्ती युवामा राजनीतिको ‘र’ सुन्दै घृणा लाग्छ ।
सुनदेखि नुनसम्मको राजनीतिले जनता क्विन्टलमा खाद्यान्न किन्न सकिरहेका छैनन् । उता दलालहरुले क्विन्टलका क्विन्टल सुन भित्र्याउँछन् । अत्यावश्यक वस्तुमा सहुलियत दिएको सरकारको नुनले हुम्ला जुम्लामा नपुग्दै भिमकाय आकार लिन्छ । ‘कहि नभएको जात्रा हाडी गाउँमा’ भन्या झै जनता गाँस, बास र कपासको आवस्यकता पूरा गर्न दसतिर चहार्नुपर्छ । सरकारले मन्दिरमा समेत क्विन्टल बढिको जलहरी लगाउनु पर्ने, अनि त्यसै माथी पनि कुदृष्टि लाउने ? नेपालले पाएको राजनिती पनि अजिवको छ ।
सर्वसाधारणले मृत्यु संस्कार गर्न नपाएको बेला सरकारी गिरोहले खोलै समेत गुमनाम गराउँछन् । कति भुमी विहिनले वर्षौंसम्म भुमिको सुगन्ध पत्तो पाएका छैनन् यता राजनीतिका वादशाहहरुको निद्रा सरकारी जमिन आफ्नो नाममा नल्याएसम्म पर्दैन। विद्यार्थी उमेरमा राजनीति गर्नेले नपढी नलेखी खेतालो खोजेर परिक्षा दिन्छन् । डिग्रीको शोधपत्रलाई कालो धनले किन्न पाइन्छ भन्थ्ये । अहिले त राजनैतिक ओहोदा भेट्न तिर्खाएकाहरुले पिएचडीको शोधमा समेत राजनीति गर्न थाले छन् । पार्टीको झण्डा मुनिको मान्छे जहाँ पनि शुद्ध हुन्छ । विपक्षको नालनाताले छोएको भए सबै ठाउँमा अशुद्ध हुन्छ । तिनका रगतले छोए घर जग्गा मुद्दा मामिला सबैमा कानुन सुध्रिने अरुको लागि तिहार पछिको पिठो हुने ? यो कस्तो राजनैतिक सिद्धान्त बन्यो नेपालमा रमिता लाग्न थाल्या छ ।
आधुनिक राजनितीले सार्थक र विकसित समाजको परिकल्पना गर्नुपर्छ । समाजमा परिवर्तनको अब्बल व्यवहार र ढाँचा देखिनु पर्छ । जनतालाई कानुनी राज्यको प्रत्याभूत गराउनु नै विजयको झण्डा फहराउनु हो भन्ने कुरा नेतामा हुनुपर्छ । विधिको शासनबिना सर्वसाधारणले न्याय पाउदैनन् । तसर्थ सदाचारिताको पक्षलाई आत्मसाथ गरि अराजक गतिविधि र भ्रष्टाचारलाई निर्मुल पार्नु पर्छ । अदालतको आदत बिग्रीने र बिगार्ने कार्य कहि कतैबाट हुनु हुँदैन । तब मात्र राष्ट्रको उन्नती हुन्छ ।





