बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राईसहित १९ जनाविरुद्ध ठगी मुद्धा

सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राईसहित १९ जनाविरुद्ध ठगी मुद्धा


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०८०, आइतबार
जिबी राई

पोखरा / आफ्नो बचत रकम हिनामिना गरेको भन्दै १ हजार ३६ बचतकर्ताले उजुरी दिएको पोखराको सूर्यदर्शन सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबहादुर (जिबी)  राईसहित १९ जनाविरुद्ध ठगीकोे मुद्धा दर्ता भएको छ । कास्की प्रहरीले गत साउन ३२ गते सूचना प्रकाशित गरी सूर्य दर्शन सहकारीविरुद्ध उजुरी दिन आब्हान गरेको थियो ।

अनुसन्धानमा अध्यक्ष राई लगायतले सहकारीबाट १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएपछि सहकारीका पूर्व र वर्तमान पदाधिकारी तथा सञ्चालकहरुविरुद्ध जिल्ला अदालत कास्कीमा विहिवार ठगीको मुद्दा दर्ता भएको हो ।

सहकारी ऐनअनुसार ठगी मुद्दामा प्रहरीले १९ जनालाई विपक्षी बनाउँदै ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्न सरकारी वकिललाई राय दिएको थियो ।

८ देखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्दै मुद्दा दर्ता गराएको सरकारी वकिल कार्यालयका कास्कीका जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकालले जानकारी दिए । विपक्षी बनाइएका १९ मध्ये एकजना पक्राउ परिसकेका छन् ।

बचतकर्ताको उजुरीका आधारमा गत भदौ २४ गते सहकारीका पूर्वसञ्चालक गितेन्द्रबहादुर ९जीबी० राईसहित ७ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुजी जारी भएको थियो । त्यसको २ दिनपछि सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । त्यसपछि दोस्रोपटक थप १२ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जी जारी भएका सहकारीका पूर्वअध्यक्ष जिबी राई, उनका दाइ भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा फरार छन् । वर्तमान तथा पूर्व सञ्चालक सुरज श्रेष्ठ, कैलाश दर्लामी, धीरजकुमार दास, प्रमोद भट्टराई, मनोज नकर्मी, भविश्वर अर्याल, आइस्मा गुरुङ, हेमन्त अधिकारी, कविता तामाङ, सागर केसी, शिवबहादुर गुरुङ, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ पनि पक्राउ पुर्जीपछि फरार छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी विक पक्राउ पुर्जी जारी भएकाहरुलाई खोजी भइरहेको बताउँछन् । ‘पक्राउ पुर्जी जारी भएका १ जना पक्राउ परेरअनुसन्धानकै क्रममा हुनुहुन्छ भने बाँकीको खोजी तीव्र पारिएको छ । कतिपय व्यक्तिहरु कास्कीबाहिर भएकाले खोजी गर्न केही कठिनाइ भएको हो । सम्बन्धित जिल्ला, पालिका र वडामा पत्राचार समन्वय भइराखेको छ,’ उनले भने ।

पोखरामा जीबी राई समूहले २०६५ सालमा खालेको सहकारीबाट सुरुदेखि नै रकम अन्य क्षेत्रमा लगाउँदै आएको पाइएको छ । सहकारीबाट सबैभन्दा धेरै जीबी राईको दाजुभाइकै कार्यकालमा अपचलन भएको निश्कर्ष छ ।

जीबी अध्यक्ष हुँदा २१ करोड ४२ लाख, जीबीका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख, संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख र थानबहादुर बुढाको पालामा २७ करोड ४८ लाख रुपैयाँ हिनामिना भएको देखिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिकाले सहकारीको आर्थिक हिनामिनासम्बन्धी विश्लेषणात्मक अध्ययन गर्न गत भदौ १० गते विशेषज्ञ समिति गठन गरेको थियो । उक्त अध्ययन टोलीले प्रतिवेदनसमेत तयार पारिसकेको छ । सो प्रतिवेदनअनुसार सुरुदेखि नै सहकारीको रकम अन्य क्षेत्रमा लगाउँदै आएको देखिएको छ । जीबी दाजुभाइकै कार्यकालमा ठूलो रकम अपचलन भएकोसमेत प्रतिवेदनमा उल्लेख छ । सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको प्र्रतिवेदनको ठहर छ ।

कुनै स्वार्थ समूहले अपचलन गर्न लगानी गरेको हो भन्न सक्ने अवस्था देखिएको पोखरा महानगरपालिकाका सूचना अधिकारी किरण कोइराला बताउँछन् । ‘सहकारीको ऐन नियम विपरीत लगानी गरेको हुनाले त्यसलाई खराब कब्जाभन्दा पनि कुनै स्वार्थ समूहले अपचलन गर्न लगानी गरेको हो भन्न सक्ने अवस्था देखिन्छ । सहकारीको नियमअनुसार सहकारीको सञ्चालक समिति, सञ्चालक समितिको अध्यक्ष, कोषाध्यक्ष व्यवस्थापक यसको बढी जिम्मेवारी हो,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->