मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

माओवादी जनयुद्ध : धार्मिक आक्रमण र क्रान्तिकारी पत्र

माओवादी जनयुद्ध : धार्मिक आक्रमण र क्रान्तिकारी पत्र


  • माधव चापागाई
  • असोज २३ २०८०, मंगलबार

नेपालमा माओवादी सशस्त्र द्वन्द्व २०५२ सालबाट प्रारम्भ भइ २०६३ सालमा अन्त्य भएको थियो । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी र वामपन्थी राजनीतिले २०५२ सालमा पुग्दा पार्टीभित्र र बाहिर धेरै आरोह–अवरोहको सामना गर्यो । कम्युनिष्ट नेतृत्वले समाज सुधारको महत्वाकांक्षी अभियान लिएर पार्टी गठन गरेको थियो । परन्तु नेताहरुले परम्परागत पुँजीवादी र सामन्ती सोच परिवर्तन गर्न नसक्दा मतभेद चुलिएको बुझिन्छ । अन्ततः प्रचण्ड नेतृत्वले जनवादी क्रान्तिको फौजीदारी कार्यदिशा निर्माण ग¥यो । पार्टीभित्र एकपङ्तिको बलियो खम्बा बनेका प्रचण्डले नेकपा माओवादी नाम राखेर नेतृत्वमा उभिए र २०५२ सालबाट विद्रोह प्रारम्भ गरे ।

धार्मिक आक्रमण

दस वर्षे जनयुद्धको मुख्य एजेन्डा भारतीय विस्तारवाद, शाहावंशिय तानाशाही शासन, सामन्तवाद र पुँजीवादी व्यवस्थाको अन्त्य गरि जनतालाई अधिकारको प्रत्याभूत गराउनु थियो । कम्युनिष्टहरु रुढीबादी सोचभन्दा बाहिर हुन्छन् । उनीहरु जात व्यवस्था र धार्मिक अन्धविश्वास मान्दैनन् भन्ने कुरा पाश्चात्य जगतका दार्शनिकहरुबाट प्रकाशित पुस्तकहरुमा पाइन्छ । उनीहरु धर्मलाई अफिम भन्थे । जुन कुरामा उनीहरु निश्चिन्त थिए या थिएनन् । पत्तो नपाई नेपालका कम्युनिष्ट अभियान्ताहरुले उक्त मार्ग अबलम्बन गरे । तत्कालीन द्वन्द्वरत पक्ष माओवादीले बिना सुझबुझ आफ्नो आन्दोलनलाई उचाइमा पुर्याउने काल्पनामा सनातन धर्म र धार्मिक सम्प्रदाय एवं जातिय एकतामाथी प्रतिशोधको भावना उत्पन्न गराएको स्पष्ट छ ।

माओवादीहरुले प्रारम्भ गरेको द्वन्दमा धर्मका यावत् अङ्गमाथी बहुपक्षीय आक्रमण भयो । धार्मिक गुरुहरु, पण्डित, शिक्षक, मठमन्दिर, पाठशाला र धार्मिक पुस्तकमाथी समेत हस्तक्षेप भयो । आफुहरु पापपुण्यको अन्धताभन्दा बाहिर रहेको जनाएर धेरै क्षेत्रमा क्षती पुर्याए । त्यस्को केही अंश धर्म निरपेक्षता शब्दलाई बोकाइयो । ८१ प्रतिशत जनताले मान्दै आएको आस्थामाथी कुठाराघात गरियो र सनातन धर्मका विरुद्ध धार्मिक व्यक्ति, संघसंस्था र समाजमाथी पटकपटक हस्तक्षेप गरियो । मैले यसो भनिरहँदा निश्चित सिद्धान्त र विचारसंग निकट रहेका व्यक्तिहरुले नाइनास्तीको भाषा अवश्य प्रयोग गर्नुहुन्छ ।

द्वन्दको समयमा क्रियापुत्रीलाई अपहरण गर्नु, पण्डितहरुलाई इच्छा विपरीत भोजन गर्न लगाउनु र संस्कृतका पुस्तकहरु जलाउनु, संस्कृत पृष्ठभूमिका संरचनामाथी हस्तक्षेप गर्नु आदि ज्वलन्त उदाहरण हुन् । अझै शैक्षिक व्यक्तिहरुमा शिक्षकहरु माथिको आक्रमण निन्दनीय नै छ । देशका विभिन्न स्थानबाट पढाउदा पढाउदैका शिक्षकमाथी क्रूर व्यवहार गरिएको कुरा पनि हामीहरु माझ छर्लङ्ग छ । धार्मिक आक्रमणको अर्को उदाहरण द्वन्दरत माओवादीले बागलुङ जिल्लाको तत्कालीन अमलाचौर गाविसमा रहेका कोट भैरवको पुजाआजामाथी गरेको हस्तक्षेप पनि आँखै अगाडि छ । पाँच वर्षसम्म वलेवाली जनताका इष्ट देवता काल भैरवमाथिको हस्तक्षेप र दुई वर्षको आयआस्थासमेत हडपेको कुरा जगजाहेर नै छ । के यो प्रवृत्तिलाई धार्मिक आक्रमण भन्न मिल्दैन ? सर्वसाधारण जनताको धार्मिक आस्थामाथी कुल्चिएर जनताको भलाइ कसरी हुन्छ ?

त्यसै गरेर धार्मिक विसङ्गतिमा तत्कालीन समयदेखि हालसम्मका नेताहरुले यो रुढीबादी धर्म नमान्ने भनेर धार्मिक स्वतन्त्रताको कडी प्रस्तुत गर्दै आएको पनि स्पष्ट छ । जसमा आफू सत्तामा पुग्दा नपुग्दै धर्म निरपेक्षताको नीति ल्याउनु, द्वन्दको समयमा धर्मको विरुद्धमा कार्यहरु गर्नु÷ गराउनु र ८१ प्रतिशत हिन्दु रहेको देशको सर्वोच्च पदमा रहेका अभिभावक समानका नेताहरुले आफ्नै घरपरिवारको काजकिरिया समेत नगरी तिनै जनताको आस्थामाथी प्रहार गर्नु जस्ता कुराहरु उदाहरणीय छन् । यसरी नेकपा माओवादीलाई धार्मिक द्वन्द निम्त्याएको आरोप लाग्दै आएको छ । संघीयताका नाममा जातीय अस्तित्व र मर्यादामाथी खेलबाड गर्दै यो राज्य वा त्यो राज्य, यो जातिको वा त्यो जातिको भनेर जनताको मतैक्यता भंग गरेको आरोप पनि जगजाहेर नै छ ।

जनयुद्धको प्रभाव

सरकार र विद्रोही पक्षबीच परेका जनताले पाएको दुखले थप उचाइ लिदै गयो । हजारौंको संख्यामा नेपालीहरुले ज्यान गुमाए । आधा लाख बढी जनता अपाङ्ग बने । समाजमा रहेका सयौँ नरनारीहरुको सिउँदो पुछियो । अनगिन्ती आमाहरुको कोख रित्तियो । हजारौं बालबालिकाहरु टुहुरा बने । उत्ति नै संख्यामा मानिसहरूको रोजीरोटी खोसियो । नेपाली नेपालीका बिचमा वैमनस्यता, दुश्मनी र द्वैषता पैदा गराइयो । कतिको सम्पत्ति खोसियो । निर्दोष मानिसलाई मृत्युको सिकार बनाइयो । कतिलाई पुख्र्यौली बासस्थान छोड्न बाध्य पारियो । सरकारी शिक्षक, कर्मचारी, सेना र पुलिसका परिवारलाई निरन्तर यातना दिइयो । यो पिडा एकतर्फ सजिव नै छ । अर्कोतर्फ द्वन्दको समयमा मृत्युवरण गरेका र गराइएकाबाहेक ज्युँदा मानिसले पाएको सास्तीले पनि बिर्सनै नसकिने इतिहास बोकेको छ । समाजमा शंका, भय र डर उत्पन्न गराइयो । जातिगत मुद्दालाई हतियार बनाइ सामाजिक, साँस्कृतिक, भौगोलिक र धार्मिक द्वन्द निम्त्याइयो ।

क्रान्तिकारी पत्र, आर्थिक सहयोग र एजेन्डा

देशभित्र जुन पार्टी समुदाय र समुहले विद्रोहको आवाज उठाए पनि बीचमा पर्ने र दुख पाउने सर्वसाधारण जनताले नै हो । तत्कालीन माओवादीले प्रारम्भ गरेको १० वर्षे सशश्त्र द्वन्द्वमा पनि नेपाली जनताले अथाह दुख पाएका थिए । जनतालाई विद्रोही र सरकार दुवै पक्षबाट दुख दिइएको थियो । माओवादीहरुले धाक धम्कीपुर्ण भाषा प्रयोग गरि आफ्ना आवश्यकतामा आर्थिक सहयोग, गाँस र बासको बन्दोबस्त चाहान्थ्ये भने सरकार पक्षबाट विद्रोही पक्षका सेना संरक्षणको सटहीमा जनतालाई दुख दिइन्थ्यो । हाम्रो यो युद्ध सर्वहारा वर्गको भलाइका लागि गरिएको युद्ध हो भन्न रुचाउने माओवादी पार्टीले जनतामाथी गरेको अर्को दमन आर्थिक शोषण हो । त्यतिबेला सक्ने नसक्नेको गणना हुदैनथ्यो । सरकारी सेवामा प्रवेश गरेका जनतालाई एउटा श्रेणी र अन्य जनतालाई अर्को श्रेणीमा राखेर आर्थिक सहयोग उठाउने अभियान उक्त दलले गरेको थियो । जस्मा आर्थिक सहयोग नगर्ने मानिसलाई पार्टीले कार्वाही गर्न सक्ने भनेर घर घरमा चिठी आउँथ्यो । जसमा रकम माग गरिएको हुन्थ्यो । पत्रको ढाँचा तपशिल बमोजिम छ ।

तपाईंलाई रु…लेखी आएकोले उक्त रकम यथाशीघ्र उपलब्ध गराउनुहुन हार्दिक अनुरोध गरिन्छ । हामी कुनै दिन पनि आउन सक्छौं । (धन्यवाद) भनेर मुल पत्रको अगाडि निलो मसिले सानो चिट टासिंएको हुन्थ्यो । २० हजारदेखि लाखौ रुपैयाँ माग दाबी गर्ने उक्त भाषालाई धम्कीपुर्ण भन्दा पनि न्यायोचित नै होला । संगैको ठूलो पृष्ठ अर्थात् चिठीको अग्रभागमा माक्सवाद–लेनिनवाद, माओवाद– प्रचण्डपथ– जिन्दावाद ! लेखिएको हुन्थ्यो । मध्य केन्द्रीय कमाण्ड ने.क.पा (माओवादी)को लेटरप्याडमा एकातर्फ रातो पृष्ठभुमिमा हसिया हटौडा अङ्कित झण्डा राखिएको हुन्थ्यो । अर्कोतर्फ राता अक्षरमा ‘संसारका सबै मजदुर एक हौं’ भनेर आफ्नो नारासहित विश्वभर कम्युनिष्ट आन्दोलनमा अगुवाइ गरेका महान राजनीतिज्ञहरु माक्स, लेनिन र माओका फोटाहरु राखिएको हुन्थ्यो । संगै तल्लो हरफमा स्थुलाक्षरमा अर्को नारा लेखिएको हुन्थ्यो । जो यसप्रकार रहेको छ ।
रणनैतिक पहिलो योजना सफल पारौं ।
वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौं ।।

त्यसपछि आर्थिक सहयोग गर्नेबारे भनेर विषय उल्लेख गरेपछि पत्रको मुखबोली सुरु हुन्छ । राष्ट्रिय स्वाधिनता, अखण्डता एवं स्वाभिमानको रक्षा गर्दै जनजीविकाको ग्यारेन्टी गर्न हाम्रो महान् र गौरवशाली पार्टी ने. क. पा. (माओबादी) को नेतृत्वमा महान् जनयुद्ध चलिरहेको यहाँहरूलाई सर्वविदित छ । पार्टीले साँढे आठ वर्षको छोटै अवधिमा रणनैतिक रक्षा, रणनैतिक सन्तुलनहुँदै अन्तिमचरण रणनैतिक प्रत्याक्रमणमा प्रवेश गरेको छ ।

हाम्रो पार्टीको रणनैतिक प्रत्याक्रमणको घोषणासँग आत्तिएर दरबार हत्याकाण्डका नाइकेहरु र उसका नोकरहरुले साम्राज्यवाद एवं विस्तारवादका अगाडी नाङ्गो आत्मसमर्पण गरी स्वाभिमानी देशभक्त नेपालीहरूको राष्ट्रियता, आर्थिक आत्मनिर्भरता एवं राजनैतिक र साँस्कृतिक स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेपमा उत्रने धम्की भारतीय विस्तारवादले दिईरहेको छ । अमेरिकी सम्राज्यवादको दलालीपूर्ण समर्थन लिएर देशी–विदेशी शक्तिहरू नेपाली जनताको अग्रगामी परिवर्तनको चाहाना माथि भयानक एवं कुटिल षडयन्त्रका तानाबाना बुनिरहेका छन् ।

ठिक यहि सन्दर्भमा महान जनयुद्धलाई नयाँ उचाईमा उठाउन, राष्ट्रिय आत्मसमर्पणवादको विरुद्ध प्रतिरोध आन्दोलन सञ्चालन गर्ने, दुश्मनका सबै खाले फौजी हस्तक्षेपलाई चकनाचुर पारी नयाँ गणतन्त्रात्मक राज्य व्यवस्थाको स्थापना गर्न हाम्रो पार्टीको केन्द्रीय योजना अनुसार यस मध्य कमाण्डले केही निश्चित अवधिको लागि विशेष आर्थिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हामीलाई आशा एवं विश्वास छ यहाँले विगतमा झै हाम्रो जनयुद्धलाई विशेष आर्थिक सहयोग गरी यसलाई सफल बनाउनु हुनेछ । सहयोगको लागि धन्यवाद ! भनेर क्रान्तिकारी अभिवादनसहित कमरेड लालध्वज नामका व्यक्तिलाई इन्चार्ज बनाएर उनकै हस्ताक्षरमा पत्र पठाइएको हुन्थ्यो । जस्को नामले जनता भयभीत हुन्थे । दिउँ पैसा छैन । नदिउ जत्तिखेर पनि पैसा लिन आउन सक्छौं भन्ने बन्दुकधारी जनमुक्ति सेनाको कठोर आवाज कानमा गुन्जिन्थ्यो । पत्रको अन्तिम वाक्यमा ‘हामीलाई आशा एवं विश्वास छ यहाँले विगतमा झै हाम्रो जनयुद्धलाई विशेष आर्थिक सहयोग गरी यसलाई सफल बनाउनु हुनेछ’ भनिए अनुसार तत्कालीन माओवादीले आर्थिक सहयोगका नाममा जनतालाई पटकपटक दुख दिएको बुझ्न सकिन्छ ।

पत्रको कुरापछि अन्य कुरा गरौं । यसरी रातारात बाढिने पत्रले जनता दिनको भोक न रातको निद्रा हुन्थ्ये । कतिले आर्थिक सहयोग गरेर स्याबासी पाए । कतिले गरेनन् वा गर्न सकेनन् । त्यही निहुँमा कतिलाई प्रताडित गराइयो त कतिलाई अपहरण नै गरेर यातना दिइयो । २०६३ यता नेकपा माओवादी सत्तामा पुगेपछि के यी सबै गतिविधिको मूल्य नेपाली जनताले पाए त ? त्यही युद्ध जुन युद्धलाई सफल पार्न जनतालाई खुड्किलो बनाइयो त्यो युद्धले नेपाली जनताको रोजिरोटिमा फरकपन थप्यो वा थपेन त्यो पाठकको अनुभवमा आधारित रहन्छ । नेतृत्व गर्ने नेताहरु सिंहासनमा आसिन हुँदा लडेका र लडाइएका जनताको अवस्था परिवर्तन भयो त ? के अहिले स्थानीय तहदेखी संघीय संरचनासम्म २÷४ जना युद्ध लडेका मानिस नेता भएका छन् ? सबका सब अवसरमा छन् । बिना योगदान नेता बनेर तिनै सर्वहारा वर्गमाथी शासन गरिरहेका छन् । द्वन्दकालमा उत्पन्न गराइएको डरको पैँचो खुशी र परिवर्तनले तिर्नु थियो । जहाँ हजारौं पीडितहरुका ओठ फक्रीने पर्खाइमा थिए । तर विडम्बना नेता र तिनका आसेपासे, इष्ट मित्र मोटाए जनता उहीँ दलन र अपहेलनामा बाँच्न विवश छन् । यी सबै विषयवस्तु र प्रश्नको सकारात्मक चिरफार गरि जनतालाई अधिकारको प्रत्याभूत गराउनु माओवादीको कर्तव्य अनि आगामी यात्रा रहन्छ । वर्तमान समयमा माओवादीले पार्टीभित्र देखिएका तमाम व्यथितीहरु मेटाएर अगाडि बढ्नु पर्ने देखिन्छ । नेकपा माओवादीतर्फ सोझिएका कर्तव्य परायणताका बाछिटाहरुले भविष्यमा मार्गचित्र कोर्ने छन् । परन्तु माओवादीका लागि २०६४ सालको जनसमर्थन जुटाउन अवसर र चुनौती दुवैको सामना गर्नुपर्ने नै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->