मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कृषिप्रधान देशको दायित्वविहीन सरकार

कृषिप्रधान देशको दायित्वविहीन सरकार


  • काशी पौडेल आयुस
  • असोज २६ २०८०, शुक्रबार

राजनीतिक दल र तिनै तहको सरकारलाई एउटै गुनासो छ । चर्को भाषण र खोक्रो आश्वासनभन्दा नेपाली युवालाई यही देशमा रोक्ने नीति अवलम्बन गर्नुहोस् । सभा जुलुसमा खर्चिने पैसाले उत्पादनमा लगानी गरौं । जनताको पेट भाषणमा ताली पिटेर भरिँदैन ।

हाम्रो देशका युवाले स्वदेशी भूमिमा कुनै पनि अवसर नदेखेर दिनहुुँ बिदेशी मैदानमा चील गाडीको उडान भर्ने कार्य तीब्र रुपले बढेको छ । राणा र पञ्चायतकालिन समयमा रहरले दस बीसको संख्यामा विदेशिएका भए पनि बहुदलीय व्यवस्थाले देशको सरकारी उद्योगधन्दा कृषि औजार कारखाना र कृषिसंग प्रत्यक्ष जोडिएको औद्योगिक क्षेत्रलाई ध्वस्त पार्न विभिन्न ट्रेड युनियनको हड्तालसंगै निजीकरणको नाममा बेच्ने कार्यले बाध्यताबस बिदेशीने क्रमको शुरूवात भएको मानिन्छ ।

मुलभुत कारण भने २०५२ सालको कथित जनयुद्धको विध्वंसले गाउँ छाडेर विदेशिनु बाध्यता त छँदै थियो । अर्कोतिर बचेखुचेका उद्योगमा माओवादीले चन्दा असुली र व्यापारिक साझेदारीमा कुरा नमिल्दा बम आतंक मच्चाउने कार्यले भएभरको औद्योगिक क्षेत्र बन्द भएको कारण रोजगारीको खोजीमा विदेशिनु बाध्यता बन्यो ।

आफ्नो जन्मभूमि, जन्मदिने आमाबाबुसहित परिवारका सदस्य छाडेर मुटुमा पिडा गाँठो पार्दै भक्कानो छाडेर बिदेशीनु कस्लाई पो रहर होला र ? आन्दोलन र युद्धले ल्याएको नयाँ परिवर्तनमा समेत देशको अर्थतन्त्र उकास्न कृषि क्रान्ति गर्ने भन्दै भाषण र वक्तव्यबाजी गर्ने कार्य सिवाय अन्यथा केही उपलब्धि देखिदैन ।

नेता कार्यकर्ताले कृषकलाई भेडा बनाएर कृषिलाई चुनावी नारामै सीमित पारेर सत्तामा पुग्ने भ¥याङ बनाएको पाइन्छ । खोक्रो भाषणमा भने हरेक चुनाब ताका कृषिले देशैभर हरियाली छाउँछ । वास्तविक धरातलमा भने कृषिको अवस्था नाजुक छ, हुन्छ । लाखौं हेक्टर खेतीयोग्य जमिन बाझै छ । कृषक गाउँ छाडेर सहरहुँदै बिदेशतिर विस्थापित भैरहेका छन् ।

यी यावत समस्यालाई सुल्झाउन वास्तविक धरातलमा खुट्टा टेकेर उभिनुभन्दा, कृषक नामका कार्यकर्ताले नेताको चर्का भाषणमा ताली पिटेरै पेटमा भोजन भर्ने कार्य तीव्रता चलेको देखिन्छ । उनीहरुले जनतामारा नेताको जयजयकार गर्दा के कति लाभान्वित हुन्छन ? म अनविज्ञ छु, तर नेताको आफन्त र आसेपासे पहुँचवालाले भने कृषक बनेर सरकारी बजेट झ्वाम पार्दै पचाएको सयौं दृश्य देखे भोगेको छु ।

तर उपरोक्त धरातलीय यथार्थलाई अलिक पर छाडेर ! ललितपुर जिल्ला, बागमती गाउँ पालिका वडा नम्बर ७ गिम्दी पिपलबोट निवासी वर्ष ३२ को मानबहादुर थोकरले आफूलाई सफल कृषकमा स्थापित हुन दिनरात मिहिनेत गर्दै हुनुहुन्छ । घरजग्गा बन्धकी राखेर म्यानपावर कम्पनीलाई लाखौं रकम बुझाएर विदेशिन युवा कतिपय सफल भएपनि कतिको अंगभंग भएको त कति रातो बाकसमा फर्किँदा न सन्तान रहेकोे न घर जग्गा नै बन्धकी फिर्ता भएको दृष्टान्त आफ्नै आँखाले देखे भोग्नुभएको छ ।

उहाँको सपना अठोट छ एकदिन यहीँ धर्तीलाई पसिनाले सिंचित गर्दै उदाहरण बनेर समाजमा स्थापित हुनुछ । तपाईं एकजनाले धर्तीमा पसिनाले सिंचाइ गरेर यहीँ स्थापित हुँदै गर्दा गाउँका युवाले तपाईं संगै सहकार्य गर्दै अगाडि बढ्नुको साटो किन विस्थापित भएको होलान् ? भन्ने, प्रश्न तेस्याउँदा उहाँ भन्नुहुन्छ सरकारले कृषकलाई सहुलियतपूर्ण रुपमा मल, बीउ, सिंचाइ र बिजुली उपलब्ध गराउन सके तब न गाउँसँगै देश छाडेर भाँसिएका युवाले यहीँ माटोमा पसिना बगाउँथे ।’ दुखको कुरा तीन तहको सरकार वास्तविक किसानलाई सहुलियत प्रदान गर्नुको सट्टामा आफन्त पोस्नुबाहेक अरु कर्म गर्नै जान्दैन ।

बुबा सुकराम थोकर, आमा सुकुमाया घलान थोकरको जेठो छोरा मान बहादुरको संयुक्त परिवार छ । आफ्नै कान्छा भाइ र श्रीमती देशमा अवसर नदेखेर वैदेशिक रोजगारको निम्ति मलेसिया र कुबेत हानिनु भएको छ । उहाँको घरका आफन्त बिदेश भएपनि भनेजस्तो कमाई नहुने कठिन दुख र अर्काको हेपाईको ब्यथा सुन्नु, पढ्नु भएकोले नै मानबहादुर भने मातृभुमिमै पसिनाले खेती सिंचाइ गर्न हरपल मेहनतले आफ्नै स्वदेशी भुमिमा पसिना बगाउने कर्ममा रमाउने दृढ़ संकल्प लिनुभएको छ ।

कृषिको कर्मसंगै सामुदायिक विद्युत सेवामा कार्यरत उहाँले पशुपालनमा पनि गजब प्रगति गर्नुभएको छ । सुरुवाती चरणमा एक माउ भैंसीबाट सुरु गरेको पशुपालन व्यवसाय सिटिजन बैंकबाट १५ लाख ऋृण लिएर थप भैंसी किन्ने र सुधारिएको गोठ निर्माणका निमित्त खर्चिनु भएको थियो ।

हाल उहाँको गोठमा ८ माउसंगै ९ पाँडापाँडीसहित १७ वटा चौपाया बनाउनुभएको छ । भैंसी गोठबाट निस्कने मललाई सदुपयोग गर्दै तरकारी खेतीको निमित्त प्रयोगमा ल्याउनुभएको छ । शुरूवातको काँक्रो खेती परीक्षणस्वरूप एक रोपनीमा लगाउनुभएको थियो । मल, बीउ र जग्गा भाडा आफ्नो मिहिनेत सबै जोड्दा ३५ हजार खर्च भएको उहाको भनाइ छ ।

सो काँक्रो खेतीबाट ४० हजार खुद नाफा कमाउन सफल भएपछि काँक्रो खेतीमा हौसिनु भएको उहाँ । सानो लगानीमा नै ठुलो नाफा देखेरै होला कृषि पशुपालनमै उज्ज्वल भविष्य छ भन्नुहुन्छ । हाल उहाँले ४ रोपनीमा काँक्रो खेती गर्नुभएको छ ।

उहाँ एक प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँ जस्तै सयौं किसान कृषि पशुपालनमै आफ्नो सम्पूर्ण जीवन व्यतित गर्दै हुनुहुन्छ । कतिपय अवस्थामा स्वदेशमै केही गर्छु भनेर अठोट लिँदै गर्दा शुरूवाती चरणमा आफन्त र छिमेकीले देशमा केही हुदैन सबै नेपालीले बिदेश चाहार्दा तिमीले पनि देशमा हैन बिदेश गएर मेहन गर भन्दै सुझाउने गरेको पाइन्छ ।

परदेश गएका ब्यक्ती रातो बाकसमा अरठ्ठिएर फर्केका, अंगभंग भएर बिक्षिप्त भएको शरीर आफ्नै आँखा अगाडि देखे भोगेको समाज पनि देशमा केही हुदैन बिदेश नै जान सुझाउँछन् । तर आफ्नै पौरखमा स्वदेशमै पसिना बगाउन उत्तम हुन्छ । आफ्नै माटोमा पसिनाले मोती फलाऊm आऊ आफ्नै देश फर्क युवा भन्न न सरकारले सकेको छ न समाजका अगुवाले नै । स्थानीय सरकारले लगानीको सुनिश्चितता, उत्पादन भएको बस्तुको बजारीकरणमा स्वामित्व ग्रहण गर्दिने हो भने हजारौं युवाले जन्मभुमि छाडेर ४०÷५० हजार कमाउन बिदेशी भुमि खुन पसिनाले भिजाउन पर्थेन ।

तर सरकारले नेपाली नागरिकलाई लगानीमा हौसला, तालिम लगायत अत्यावश्यक सामग्रीमा सहुलियत दिनुभन्दा बिदेशी कम्पनीलाई डाकेर कृषि खेतीको निम्ति देशको जमिन कब्जा गर्ने बाटो खुला गर्दै कमिसन खाने दाउ हेर्दैछ । अनि नेपाली नागरिकलाई बिदेश धमाएर रेमिट्यान्सले देश चलाउने धन्दा गर्दै आएको छ ।

देशमा कृषिजन्य बस्तुको पर्याप्त उत्पादन हुदैन बिदेशीको भर पर्नुको विकल्प रहदैन । जब नागरिकले आफ्नै जग्गा बाँझो राखेर बिदेशी कृषिजन्य बस्तु खरिद गरेर बिहान बेलुका हातमुख जोड्न बाध्य हुन्छन् हरेक बस्तुमा बिदेशीको भर पर्नुपर्छ । तब त्यो देशको नागरिक र त्यो देशले समृद्धि हासिल गर्न सक्दैन । देशले आर्थिक क्रान्ति गर्न असम्भव प्रायः हुन्छ ।

मेरो सम्पुर्ण राजनीतिक दल र तिनै तहको सरकारलाई एउटै गुनासो छ । चर्को भाषण र खोक्रो आश्वासनभन्दा नेपाली युवालाई यही देशमा रोक्ने नीति अवलम्बन गर्नुहोस् । सभा जुलुसमा खर्चिने पैसाले तत्–तत् स्थानमा कुनै न कुनै उत्पादनमुलुक क्रियाकलापमा लगानी लगाऊ । जनताको पेट भाषणमा ताली पिटेर भरिदैन ।

अब एक पटक गहिरिएर सोचौं, घृणित राजनीतिको सिकार बन्दा देश कंगाल र युवाबिहिन हुँदा पनि चेतना नपलाउने कस्ता नागरिक कस्ता जनप्रतिनिधि बनेका छौ ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->