पोखरा / पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारी प्रक्राउ परेका छन् । उनीहरुलाई बैंकिङ कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुको उजुरीका आधारमा शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘उहाँहरु सहकारीभन्दा पनि बैंकिङ कसुरमा पक्राउ गरिएको हो,’ जिप्रकाका प्रहरी निरीक्षक सूर्य रानाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
२२ सय जनाभन्दा बढी बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि अहिले मित्रमिलन सहकारी संकटमा छ । सहकारीमा पैसा बचत गरेका बचतकर्ताहरु दैनिक धाउँदा पनि फिर्ता नपाएको गुनासो गर्दै आएका छन् । सहकारीका अनुसार करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।




