आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङ प्रशासनबाट गैर आवासीय नेपालीलाई नागरिकता वितरण गर्न सुरु

लमजुङ प्रशासनबाट गैर आवासीय नेपालीलाई नागरिकता वितरण गर्न सुरु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०८०, सोमबार

लमजुङ / जिल्ला प्रशासन कार्यालय लमजुङले गैर आवासीय नेपालीलाई नागरिकता वितरण गर्न सुरु गरेको छ । बेंसीसहर नगरपालिका-२, भकुण्डे माइती र बेंसीसहर नगरपालिका-१, उदिपुर खत्रीचौर घर भई हाल अस्ट्रेलियाको सिड्नी बस्दै आएकी पवित्रा थापा बुढाथोकीलाई शुक्रबार पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गरेको हो ।  उनका पति शिवबहादुर बुढाथोकीलाई पनि गैरआवासीय नागरिकता प्रदान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको गैर आवासीय नागरिकतालाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले सेवाग्राहीलाई हस्तान्तरण गरे ।

शिवबहादुर हाल सिड्नीमा आफैं रेस्टुरेन्ट सञ्चालन गर्दै बसेका छन् । उनकी पत्नी पवित्रा नर्स हुन् । उनीहरुले बिहीबार नेपाली नागरिकता त्यागेर शुक्रबार गैर आवासीय नागरिकता लिएका हुन् । ‘नेपाली नागरिकता त्याग्नु बाध्यता भयो । यसबाट जे–जे अधिकार प्राप्त भए पनि स्वीकार्नुपर्छ,’ शिवबहादुरले भने । उनले गैरआवासीय नेपालीलाई ‘भोटिङ’ राइट हुनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले गैर आवासीय नेपालीलाई राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका आर्थिक, सामाजिकलगायत अधिकार हुने बताए । उनका अनुसार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र दिन थालिएको हो । गैर आवासीय नेपाली नागरिकतासम्बन्धी विषयहरुलाई समावेश गरी नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस) अद्यावधिक गर्ने कार्य गृह मन्त्रालयबाट भइसके पनि जिल्लाबाट नागरिकता दिन प्रणाली व्यवस्थापनमा केही समय लागेको उनले बताए ।

गैर आवासीय नेपाली नागरिकताको लागि नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको सिफारिस सहितको निवेदन वा निवेदक विदेशी मुलुकमा बसोबास गरेको अवस्थामा सम्बन्धित मुलुक हेर्न तोकिएको राजदूतावास वा महावाणिज्य दूतावासको सिफारिस आवश्यक पर्नेछ । यसमा १० रुपैयाँको नेपाली हुलाक टिकट टाँस्नुपर्नेछ ।

निवेदक आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण हुनुपर्नेछ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र (भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका) बाहेकको देशको नागरिकता, नागरिक भएको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता अनुसूचि (८) को (घ), हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको सक्कल वा सोको प्रमाणित प्रतिलिपी आवश्यक पर्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->