बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आफ्नै पुस्तक बेच्दै महावीर पुन

आफ्नै पुस्तक बेच्दै महावीर पुन


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८०, मंगलबार

‘गण्डकी प्रदेशको सरकारले गर्ने भनेको अनुसन्धानको काम र वीरगन्ज कृषिऔजार कारखाना सञ्चालन गर्ने कामका लागि आर्थिक स्रोत कसरी जुटाउने होला भनेर घोत्लिँदै गर्दा आफ्नै जीवनकथा लेखेर बेच्नु पनि पो एउटा उपाय हुन्छ कि भन्ने लाग्यो । त्यसैले यो जीवनकथा लेखेको हो ।”

पोखरा / महावीर पुनले आज चितवनमा पुस्तक बचिरहेका छन् । ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक उनको जिवनीको पुस्तक विगत केहि समयदेखी बेचिरहेका छन् । विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ‘आज खुरखुरे बजार चितवनमा छु । मेरो जीवन कथाको किताब किन्न चाहनेले ९८४१५९२३६१ म मलाई फोन गरेर आउनुहोला ।’

शनिबार उनले पोखरामा पनि सोही तरिकाले पुस्तक विक्रि गरे । त्यतिबेला पनि उनले फेसबुकमा लेखेरै जानकारी गराएका थिए । पोखरामा उनको पुस्तक राम्रै विक्रि भयो । उनको दुई सय भन्दा बढी पुस्तक विक्रि गरेका थिए । त्यसपश्चात उनी चितवनमा छन् । उनले आफ्नो पुस्कत व्यक्तिगत खर्चको लागि नभई विरगंजमा रहेको कृषि औजार कारखाना सञ्चाल गर्नका लागि बेचिरहेका छन् ।

पुस्तक पसलेहरुले ३० प्रतिशत कमिशन मागेपछि उनी आफै कस्सीएका हुन् । उनका अनुसार बन्द कारखाना ९ महिना लगाएर मर्मत भइसकेको छ । तिहार पछि कारखाना सञ्चालन गर्ने उनेको योजना छ । राज्यको तर्फबाट उचित सहयोग नभएपछि उनी सहयोग रकम खोज्दै हिडिरहेका छन् । आफुलाई कारखाना जसै चलाउनुपर्ने भएकाले उनी आफ्नो जिवनी बेचिरहेका छन् । ‘कारखान सञ्चालनका लागि आफै पुस्तक बेचिरहेको छु । कति विक्रि हुन्छ थाहा छैन् । मैले कुनै लक्ष्य लिएको छैन । जतिसम्म विक्रि हुन्छ त्यति बेच्छु’ उनले भने ।

आत्मकथा लेख्ने निर्णय अचानक यसरी गरे

२०७९ सालको साउन र भदौ महिना मेरा निम्ति साँच्चै उत्साहप्रद रहे । मैले आशा नै नगरेका अचम्मका दुईवटा सूचना पाएँ । साउनमा सुनें, गण्डकी प्रदेश सरकारको संसदले राष्ट्रिय आविष्कार केन्द्रका लागि दश करोड रूपैयाँ अनुदान बजेटमा छुट्याएको छ । अनि भदौमा त्यतिबेलाका सङ्घीय अर्थमन्त्री जनार्दन शर्माबाट त्यस्तै अर्को राम्रो खबर सुनें, ३० वर्षदेखि बन्द भएको वीरगन्जको कृषिऔजार कारखानाको मर्मत र व्यवस्थापन गर्न तथा अनुसन्धान र विकास गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय मन्त्रीपरिषद्ले गरेछ । त्यही अनुरूप भएको सम्झौतामा त्यो कारखाना मर्मतका लागि भनेर एक पटकलाई मात्र आवश्यक परेको रकम सङ्घीय अर्थमन्त्रालयले नै उपलब्ध गराउने निर्णय पनि राखिएको थियो ।

ती दुई समाचारले हौसला त दिए तर निकै नै ठुलो जिम्मेवारी र चुनौती पनि थपिदिए । गण्डकी प्रदेशको दश करोड रूपैयाँ अनुदानका लागि बनेको कार्यविधिमा अन्तिम ४० प्रतिशत किस्ता अर्थात् चार करोड रूपैयाँ अनुदान अनुसन्धानको काम सकेर अन्तिम रिपोर्ट बुझाइ सकेपछि असारमसान्तसम्ममा मात्र पाइने कुरा थाहा भयो । त्यो अन्तिम किस्ताको चार करोड रूपैयाँ आविष्कार केन्द्रले नै जसरी भए पनि खोजेर अनुसन्धानको काम जसरी पनि पूरा गर्नुपर्ने थियो । केहीगरी समयमा काम पूरा नभएमा अन्तिम किस्ताको चार करोड रूपैयाँ झ्वाम् हुने भयो । अब त्यो चार करोड रूपैयाँ कहाँबाट जुटाउने ?

योभन्दा पनि ठुलो चुनौती थियो, कृषिऔजार कारखाना वीरगन्जको विस्तार तथा उत्पादन कसरी सुरू गर्ने भन्ने । नेपाल सरकारले गरेको बाचाअनुसार मर्मतसम्भार गर्न भनेर मानौं एक पटकलाई अनुदान दियो भने पनि कृषिऔजार उत्पादन गर्न र बजारीकरण गर्नका लागि चाहिने करोडौं रूपैयाँको चालुखर्च कहाँबाट ल्याउने ? त्यसका लागि पनि सरकारबाटै सहयोगको अपेक्षा गर्दै बसेर मात्र त हुने कुरै भएन । किनभने सरकारबाट त्यस्तो सहयोग पाउने सम्भावना एकदमै न्यून हुन्छ । केही गरी सरकारले सहयोग नै दिने भएछ भने पनि अनेकौं प्रक्रिया र औपचारिकता पूरा गर्नुपर्ने हुन्छ, जसका लागि महिनौं मात्र नभएर वर्षौ कुर्नुपर्ने पनि हुन सक्छ । तर एक्काइसौं शताब्दीको यति चर्को प्रतिस्पर्धाबीच हामी कछुवाको गतिमा हिँडेर कहिले गन्तव्यमा पुग्ने ? समयको यति ठुलो महत्त्व भएका बेला हामीलाई त भ्यागुताजस्तै भुत्रुकभुत्रुक उफ्रेर अगाडि बढ्नुपर्ने बाध्यता छ ।

तर भुत्रुकभुत्रुक उफ्रदै अगाडि बढ्न त पैसा चाहियो नि ! मैले पाएका अन्तर्राष्ट्रिय तक्मा र पदकहरू बेचेर केही हुन्छ कि त भनेर तीन वर्ष अगाडिदेखि बेच्न प्रयास गरेको पनि हो । २०५२ सालतिर हाल अमेरिकामा बसोबास गर्ने पदम पुन भन्ने भाइसँग मिलेर किनेको र मेरो नाममा भएको पोखरानजिकै ठुलाकोट भन्ने ठाउँको २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रकै लागि बेच्न खोजेको पनि हो । तर ती पदकहरू र जग्गा अझै बिकेका छैनन् । कुनै दिन ती पनि बिक्लान् र बिक्री भएर आएको पैसा पनि राष्ट्रिय आविष्कार केन्द्रमा लगाउन पाइएला भन्ने आशा मरेको छैन । त्यो बाटो पनि हेर्दैछु । ती अन्तर्राष्ट्रिय पदकहरू र त्यो २८ रोपनी जग्गा कुनै पनि हालतमा बेचिने छन् ।

अहिलेसम्म म आफैले न त पैसा कमाउने जागिर खाएँ, न व्यापार व्यवसाय नै गर्न जानियो । गण्डकी प्रदेशको सरकारले गर्ने भनेको अनुसन्धानको काम र वीरगन्ज कृषिऔजार कारखाना सञ्चालन गर्ने कामका लागि आर्थिक स्रोत कसरी जुटाउने होला भनेर घोत्लिँदै गर्दा आफ्नै जीवनकथा लेखेर बेच्नु पनि पो एउटा उपाय हुन्छ कि भन्ने लाग्यो । त्यसैले यो जीवनकथा लेखेको हो ।

तर यति छिट्टै जीवनकथा लेख्नेबारे पहिले सोचेको थिइनँ । कतिपय लेखकहरूले मेरो जीवनकथा लेख्न अनुमति नमागेका पनि होइनन् । म भन्थेँ, “अहिले नै मेरो जीवनी लेख्ने बेला कहाँ भएको छ र ? देश र समाजका लागि जेजति सेवा गर्ने सपना देखेको छु, त्यसको सानो अंश पनि पूरा भएकै छैन । अहिले नै त के लेख्ने र ? ‘मलाई जहिले पनि लाग्थ्यो, मैले के नै पो ठुलो काम गरेको छु र ? अनि कसलाई पो सुनाउनु छ र ?’ साँच्चीकै भन्नुपर्दा मैले मेरो जीवनकथा बुढेसकालको खर्च जुटाउने स्रोतको रूपमा साँचेर राखेको थिएँ ।

त्यो कुरा मनमनै सोचेको थिएँ तर कसैलाई भनेको थिइनँ । मैले अहिलेसम्म पैसा कमाउने कुनै काम नगरेको, साथीहरूको सहयोगमा दैनिक खर्च चलाएको र बुढेसकालको लागि कुनै सम्पत्ति नजोडेको हुनाले सत्तरी वर्ष उमेर काटेपछि बिस्तारै जीवनकथा लेखूँला र त्यसैलाई बेचेर जीवन धानूँला भन्ने मेरो सोच थियो । तर परिस्थितिले गर्दा त्यो सोच बदल्नु पर्ने भयो र अहिले नै किताब लेख्नुपर्ने अवस्थ आयो । किनभने मेरो आफ्नै आवश्यकताभन्दा मातृभूमिको आवश्यकता हजारौं गुणा ठुलो देखें ।

७ वटा प्रदेश सरकारहरूमध्ये गण्डकी प्रदेश सरकारबाट आउने सबैभन्दा पहिलो सहयोग र नेपाल सरकारकै अनुरोधमा कृषिऔजार कारखानाजस्तो राष्ट्रको सम्पत्तिको मर्मत तथा सञ्चालन गर्न पाउने सुवर्ण अवसरलाई म गुमाउन चाहन्नथें । तर नेपाल सरकारको अति नै झन्झटिलो र हतोत्साही गर्ने किसिमका कानुनी प्रक्रियाबारे भुक्तभोगी केही साथीहरू र शुभेच्छुकहरूले सरकारसँग काम गर्दा निकै नै सावधान हुन वा त्यस्तो कठिन काम लिंदै नलिन गम्भीर सल्लाह पनि दिएका थिए । साथीहरूका सुझाबलाई मैले मानिनँ । ’समस्यासँग हटेर होइन, डटेर लड्नु पर्छ नि साथीहरू ! भन्दै म आफैले जिद्दी गरेर यी दुईवटा काम गर्न जबर्जस्ती अगाडि सरेको हो ।

आफैले जबर्जस्ती जिम्मा लिएको काम सफल पार्नका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई निकट भविष्यमा आर्थिक समस्या नपर्ने अवस्था भएको भए म यो जीवनकथा लेख्नेतिर लाग्ने नै थिइनँ । जीवनमा कहिलेकाहीं मनले नचाहेका कुरा गर्नुपर्ने बाध्यता पनि आइलाग्दो रहेछ । यहाँ भनिएका दुईवटा महत्त्वपूर्ण काम गर्नका लागि थोरै भए पनि मद्दत मिल्ला नि त भनेर आफ्नो कथा म आफैले लेख्ने निर्णय गरेको हुँ । किनभने गण्डकी प्रदेश सरकार र नेपाल सरकारसँग सम्झौता भइसकेको छ र सम्झौताअनुसारको काम कुनै हालतमा पूरा गर्ने मैले अठोट गरेको छु । बरू ज्यान जाला तर आफूले जिम्मा लिएको काम पूरा नगरी छोडिँदैन । तपाईंहरूले तिरेको यो किताबको पैसा राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जानेछ र त्यसैबाट गण्डकी प्रदेश र कृषिऔजार कारखानाका लागि खर्च गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->