पोखरा / नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीले झै राजावादीहरुले केपी ओलिमाथि ठूलो आरोप लगाएको बताएका छन् । आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा राजावादी लागेको बताएका हुन् ।
महासचिव पोखरेलले नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति नै ओली भएको समेत बताएका छन् ।
‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं।’ उनले लेखेका छन् ।






