बागलुङ/ नेपाली कांग्रेसले शुक्रबार र शनिबार जिल्ला सम्मेलन गर्ने भएको छ । महाधिवेशन सम्पन्न भएको दुई वर्ष पुग्नै लाग्दा जिल्ला सम्मेलन गर्न लागेको हो । गत साउनमा भएको केन्द्रीय समितिको बैठकले वडादेखि जिल्ला र प्रदेश सम्मेलन गर्ने योजना अनुसार जिल्ला सम्मेलन गर्न लागिएको हो ।
बिहीबार पत्रकार सम्मेलन गरेर कांग्रेसले उक्त जानकारी गराएको हो । सम्मेलनका लागि क्षेत्रीय प्रतिनिधि १ हजार ६ सय र अन्य पाहुनासमेत गरी २ हजार जना सहभागी हुनेछन् ।
८ लाख रुपैयाँ खर्च हुने सम्मेलनमा दुईदिने प्रशिक्षण कार्यक्रम संचालन गरिने जनाइएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनपछि महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र संगठन विभागका प्रमुख मधु आचार्यले प्रशिक्षण गर्नेछन् ।
कांग्रेसका कार्यकर्तालाई वडातहदेखिनै जागरुक बनाउन थालिएको अभियानलाई जिल्ला तहमा पु¥याइएको जिल्ला सभापति जीतबहादुर शेरचनले बताए ।
सम्मेलनमा ७५ वर्ष काटेका १०१ जना कार्यकर्ता सम्मान गरिनेछ भने सशस्त्र द्वन्द्व र अन्य समयका शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको हो । कार्यक्रममा भाग लिन जिल्ला र प्रदेश तहका नेता, सांसद र पदाधिकारीहरु बिहीबारदेखि नै सदरमुकाम आइसकेको पार्टी सचिव हरिहर शर्माले जानकारी दिए ।





