नेपालको मानचित्रमा नेपालकै मुहारसँग समानार्थी भूगोल भएको जिल्ला बागलुङ हो । परिचय खोज्ने र भन्नेहरुले दोस्रो नेपाल अर्थात् नेपालभित्रैको नेपाल भन्ने गरेका छन् ।
नेपालको संघिय संरचनामा बागलुङ पहाडी जिल्लामा पर्छ । गण्डकी प्रदेश अन्तर्गत धौलागिरी अञ्चलको अञ्चल सदरमुकाम पनि बागलुङ नै हो । बागलुङलाई मुक्तिनाथको पवित्र जल कागबेनी भएर बग्ने कृष्ण गण्डकीले उत्तर दक्षिण स्पर्श गर्ने गर्छ । विश्वको एक मात्र शालिग्राम पाइने नदि कालीगण्डकीले म्याग्दी जिल्लाको अन्त्यसँगै बागलुङको भुमिलाई सिञ्चित गर्दछ । विश्व भूगोलमा गहिरो गल्छी बनाउने र सुन पाइने नदीका नामले यो नदी प्रख्यात छ । हो यही पवित्र नदिले जिल्लाको पुर्वी भूगोललाई उत्तर दक्षिण समसाथ दिलाएको छ । ठुला ठूला नदी नाला र खोँचको सुगठित संरचनामा प्राकृतिक रमणीयताको सौन्दर्याता प्रकट भएको प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा बागलुङको भौगोलिक सुन्दरताले जोकोहीको मन भुलाउन सक्छ । उत्तरतर्फ पंक्तिबद्ध उभिएका हिमाल, चौतर्फी तरेली परेका पर्वत श्रेणीहरुको बीचमा बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार अवस्थित छ ।
बागलुङ धार्मिक, एतिहासिक, पौराणिक र सांस्कृतिक सम्पदाले पुर्ण जिल्ला हो । यहाँ धेरै जातजाति, भाषाभाषी र धर्मसंस्कृति मान्ने मानिसहरुको बसोबास रहेको छ । सामाजिक मुल्यमान्यता र सद्भावपुर्ण जीवन ज्यूँने यहाँका मानिसहरूले सहअस्तित्व, सहकार्य र सहमतिको भाव जागृत गराएर सवैमा भातृत्वको सम्बन्ध कायम गर्दछन् । उनीहरु कुनै पनि जात, धर्म, वर्ग, लिङ्ग र वर्णका आधारमा भेदभाव गर्दैनन् । प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदामा नदिनाला, तालतलाउ, झरना, छागा छहरा, शैलश्रेणी र मठमन्दिरहरु प्रसिद्ध छन् भने प्राकृतिक रूपमा अनगिन्ती पर्यटकीय गन्तव्यहरुले जिल्लालाई सम्पन्न तुल्याएका छन् ।
यो भूमि कालीगण्डकीको मनोरम वातावरणले प्रकृति र मानव मनसँग अन्तर्घुलन गराउने भूमि हो । यहाँ महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले पूजाअर्चना हुने बागलुङ कालिका भगवतीको निवासस्थल रहेको छ । भगवतीकै नामले पवित्र, पावन र पुण्यक्षेत्रका रूपमा परिचित यस भूमिलाई हिमालय पर्वतको सान्निध्यता, भगवान विष्णु र जैमिनी ऋषिको दृष्टि रहेको भूमि भनेर पनि अथ्र्याउने गरिएको पाइन्छ । पञ्चकोटमा निर्मित भगवान विष्णुको मूर्तिलाई हेर्दा स्वयं पालनकर्ता विष्णुले बागलुङलाई सधैंसधैं दृष्टि दिइरहेका छन् जस्तो लाग्छ । पञ्चकोटको भ्रमण र अवलोकन गर्ने जो कोहीले न हनुमानको सामथ्र्यलाई कल्पना गर्न सकून् न त्यहाँ भन्दामाथि पनि अन्य चारओटा कोट छन् भन्ने पत्तो पाउन् । मानिस यहीँको परिवेशमा मन्त्रमुग्ध बन्छन् । पहाड बोकेर स्थिर बनेका हनुमान, गरुडमाथि चढेर हिड्ने तरखरमा रहेका भगवान विष्णु अनि सर्वत्र रासलिला रच्ने प्रेमका उत्प्रेरक राधाकृष्णको युगिन जोडीलाई सिसाको महलभित्र देख्दा
कसको मन नरमाउला र ?
प्राकृतिक, धार्मिक एवं साँस्कृतिक सम्पदाहरुमा यहाँका विभिन्न धुरी, लेक र कोटहरु प्रसिद्ध छन् । बागलुङको उत्तरी भेगमा रहेका ताराजाल कोट, कारीकोट, माझकोट, राङ्राङ्गे कोट, संसारकोट र पन्चकोटले आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याइ रहेका छन् । दक्षिण पश्चिममा मूलाबारीको धूरी, पाञ्जाकोट धुरी, बिहुँमा रहेको रामकोट, पश्चिम बागलुङकै घुम्टेको लेक र लोङाको धुरी, बोबाङ्को फागुनेको धुरी, भिमपोखराको थाप्लेको धुरी, चित्रे वनको धुरी, अधिकारी चौरमा रहेको अर्नाकोट र ग्वालिचौरमा रहेको चमेरे गुफा जस्ता स्थानहरु प्रकृतिका उपहार स्वरुप बागलुङले पाएका महत्वपूर्ण सम्पत्ति रहेका छन् ।
त्यसै गरेर धार्मिक एवं सांस्कृतिक सम्पदाहरुमा बाँस्खोलाको खड्ग कालिका मन्दिर, ढोरपाटनको ताल बराह मन्दिर, बोवाङको रामकोट मन्दिर, तित्याङ्मा निर्माण भएको शिवालय मन्दिर, दक्षिण पश्चिम भेगमा रहेका सत्यवति मन्दिर र सिद्धेश्वर मन्दिर, राजकुटको नृसिंह भगवती मन्दिर, निरहेघाटमा रहेका जङ्गेस्वर महादेव र वलेवामा रहेको लिङ्गेढुङ्गाको महिमागान गाएर कहिल्यै सकिदैन ।
बागलुङमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुको उत्कृष्ट धार्मिक आस्थाको केन्द्र बागलुङ बजारमै रहेको ज्ञानोदय बुद्ध बिहारले अहिंसा र सत्यवादी प्रवृत्तिको लागि मार्गनिर्देश गरिरहेको अनुभव गर्न सकिन्छ । यी र यस्ता अनगिन्ती विशेषताले बागलुङको विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । पर्यटन प्रवद्र्धन गरी बागलुङलाई भावी कालखण्डमा पर्यटक मैत्री बनाउन बा.न.पा ८ सिम र बा.न.पा १० भकुण्डेको मुलाबारीमा अध्ययन थालिएको प्यारागलाइडिङ प्वाइन्टलाई दीर्घकालीन विकासका सूचक मान्न सकिन्छ ।
बागलुङको उत्तरी भेगमा रहेको श्री श्रीधराचार्य शालग्राम संग्रहालय एवं तिरुपति बालाजीधाममा मुक्तिनाथदेखि देवघाट त्रिवेणिसम्म कालिगण्डकीको यात्रा अवलोकन दर्शन गर्न पाइन्छ । साथमा श्री रंगवेङ्कटेश मुक्तिनारायण मन्दिरको दर्शनबाट पुण्य कमाउन सकिन्छ । पर्वत जिल्लाको यात्रालाई माल्ढुङ्गाको पुल तरेपछी पूरा गरिन्छ । वर्तमानमा बागलुङको पुर्वी भुगोलका पहिलो, दोस्रो र तेस्रो गन्तव्य क्रमशः बागलुङ कालिका मन्दिर, बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पुल र पञ्चकोट हुन् । झोलुङ्गे पुलमा चढेर जो कोहीले बागलुङको रमणियतामा रमाउन पाउँछन् । राजमार्गको माथि निर्माण गरिएको पुललाई गण्डकी स्वर्णिम झुला भनेर नामाकरण गरिएको छ । रात्रीकालिन समयमा पङ्तिबद्ध जडान गरिएका बत्तिहरुले साँझ बिहान थप सौन्दर्यता प्रकट गरेका हुन्छन् ।
पर्यावरणीय सन्तुलनले जनजीवन सापेक्षित अधिकार प्रयोग गरेपनि बढ्दो जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण, सवारी सधनको प्रयोग र बसाइँसराइका कारण वातावरणमा प्रतिकुल प्रभाव परिरहेको हुन्छ । पहाडी क्षेत्र, हरियाली वनजङ्गलको सान्निध्यमा रहे पनि यहाँको तापक्रम दिनप्रतिदिन अनुकूल रहन सकिरहेको छैन । तसर्थ गर्मी मौसममा यहाँ बसोबास गर्ने मानिसहरुले बिहान, बेलुका चिसो हावापानीको अपेक्षा गर्नु स्वभाविक रहन्छ । बागलुङ बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरू हरेक दिन साँझ, बिहान चिसो हावा खान र व्यायाम गर्न निस्किने रामरेखा, उपल्लाचौर र बाङ्गेचौरको ढिकलाई पनि यहाँको उत्कृष्ट स्थान मान्न सकिन्छ ।
बागलुङको दक्षिणभेग पाग्जा र बास्कोट, वलेवा एयर्पोर्ट, पश्चिममा तित्याङ, साल्बोट र सिगाना, उत्तरमा रातमाटा र पन्चकोट, पुर्वमा पर्वतका पाङ, खुर्कोट, नाङ्लिबाङ र मल्लाजका सम्मा फाटहरुबाट बजार क्षेत्रको मनोरम वातावरण दृश्यावलोकन गर्न सकिन्छ भने बजारबाट यिनै स्थानलाई हेर्दा पनि उत्तिकै सुन्दर देखिन्छन् ।
नेपालीहरुको महान चाड विजया दशमी र चैत्राष्टमीको अवसरमा बागलुङ कालिका मन्दिर र वलेवा काल भैरवको मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्छ । श्रावणमा भैरवस्थानको प्राङ्गणमा लाग्ने हरेलो महोत्सव र प्रत्येक वर्ष बागलुङ कालिका गुठीले आयोजना गर्ने चैत्राष्टमी मेलाले देशका विभिन्न स्थानका मानिसहरुलाई बागलुङको परिवेशसङ्ग परिचित हुने अवसर प्रदान गर्दछन् । बागलुङ उद्योग वाणिज्य महासंघले आयोजना गर्ने बागलुङ महोत्सवले पनि धौलागिरी अञ्चलका मानिसहरुलाई मनोरञ्जन र व्यापार प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्दछ ।
यसैगरी बागलुङ जिल्लाका अन्य पर्यटकीय स्थानहरुमा बागलुङको गौरिधाम, म्यादीको रत्नेचौर र बागलुङको कुडुले जोड्ने झोलुङ्गे पुल, भकुण्डे दह (ताल), भकुण्डे कै भ्यूटावर, दक्षिणी भेगमा अवस्थित हाडिकोटबाट गुल्मी र पर्वत जिल्लाका साथमा धुल्लुबास्कोट र बरेङलगायतका स्थानको अवलोकन गर्न सकिन्छ । जैमिनी नगरपालिकामा रहेको माइकाथानको मन्दिर, पौराणिक इतिहास र धार्मिक विश्वासका आधारमा महत्वपूर्ण पुण्य क्षेत्र मानिएको ज्यामिरघाट अर्थात् जैमिनी ऋषिको तपस्या स्थल, शङ्ख आकारको शिला भएकाले त्यहीँ स्थानमा रहेको शङ्खेढुङ्गाको महिमा पनि अपरम्पार रहेको छ । पश्चिम दिशामा रहेका गलकोट नगरपालिकाको टेउवामा निर्माण भएका मूर्तिकला, ताराखोला गाउपालिकामा रहेको गाइघाट झरना, खिउ बराह ताल, बुर्तिबाङको बजार कटेर अगाडि लागेपछि पुगिने ढोरपाटन सिकार आरक्षण लगायतका स्थानहरु घुम्नै पर्ने ठाउँमा रूपमा परिचित छन् । त्यसै गरि नेपाल र भारतका तिर्थ यात्रीहरु कालीगण्डकीको उद्गम स्थल अर्थात् कागबेनीमा पुगेर पितापुर्खा एवं आफ्ना पितृहरुको मुक्तिको कामना गर्दछन् । भने मुक्तिनाथमा पुगेर भगवानको पूजा अर्चना गर्दछन्। पछिल्लो समय मुस्ताङ घुम्न आउने पर्यटकहरु, विभिन्न रोग र समस्याका कारण म्याग्दीको तातोपानी कुण्डमा डुब्न जाने र गएर फर्किने मानिसहरु कालिका भगवतीको दर्शन र पन्चकोटको भ्रमण गर्न यहाँ आउने गरेको पाइन्छ ।
यसरी बागलुङका प्राकृतिक, धार्मिक, एतिहासिक र सांस्कृतिक सम्पदाहरुले यहाँको गौरव बढइ रहेका छन् । आन्तरिक र बाह्य पर्यटकहरुको रोजाइमा रहेका पन्चकोट, बागलुङ कालिका भगवती, गण्डकी स्वर्णिम झुला र भैरवस्थान जस्तै अन्य स्थानहरुको पनि समुचित प्रचारप्रसार र विकासमा ध्यान दिनसकेमा चौतर्फी उन्नयनको मार्ग बागलुङले समाउने छ । सर्वप्रथम हाम्रा सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्वका विषयवस्तुले हामीलाई पुर्ण बनाएकोमा गर्व गर्नु आवश्यक छ। प्राचीन कालदेखि प्रचारप्रसारको पर्खाइमा रहेका अनेकौं सम्पदाहरु संरक्षणमा स्थानीय सरकारले तदारुकता देखाउनु पर्छ । भौतिक रुपमा टाढा रहेका सम्भावित स्थानहरुमा सडक सञ्जाल पु¥याउने गरि कार्यारम्भ गर्नु पर्दछ । यहाँका स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोग पुग्ने गरि सर्वसाधारण, सरोकारवाला र उत्पादित वस्तुसँग सम्बन्धित व्यवसायीहरुले सक्रिय भुमिका खेल्नुपर्छ । नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचानमा सचेत नागरिकहरुको ध्यान जान जरुरी छ । संघियताको मुल मर्म अनुरुप आआफ्ना पालिका र वडाहरुको वस्तुस्थितिमुलक सन्देश प्रवाह गरेर पनि विकासको गति अघि बढाउन सकिन्छ ।





