पोखरा/ पोखराबाट पूर्वी नेपालका विभिन्न शहरसम्म विगतमा हुँदै आएको सिधा हवाइ सेवालाई पुनः सुचारु गर्न व्यवसायी एकमत देखिएका छन् ।
१६ कात्तिकबाट सुरु भएको जाउँ है पोखरा अभियानको तेस्रो दिन शनिबार पुर्वी नेपालको औद्योगिक शहर विराटनगरमा आयोजित पत्रकार सम्मेलन एबं अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरु आन्तरिक पर्यटन प्रवद्र्धनबारे चर्चा गर्दै थिए ।
२०७६ को माघ महिनामा विराटनगर र गएको फागुन महिनामा झापाको भद्रपुरबाट पोखरा जोड्ने गरी सुरु गरिएका सिधा उडान सेवा विगतदेखि नै स्थगित छन् । पर्यटनका लागि पहुँच (कनेक्टिभिटी) महत्वपूर्ण हुने कारण सिधा हवाई सेवा पुनः सुचारु गर्न जरुरी देखिएको अभियानको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पूर्वी नेपालका विभिन्न सहरबाट पोखरासम्म सिधा उडान सेवा र स्तरीय पर्यटक बस सेवा संचालन गर्न पुनः पहल अगाडि बढाउनुपर्नेमा अध्यक्ष सुवेदीले जोड दिए ।
होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले आवश्यक तयारी गरी पूर्वबाट पोखरासम्मको सिधा उडान सेवा सुचारु गरिनु पर्ने सुझाव राखे ।
होटल संघ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पोखरासम्म सिधा हवाई सेवा संचालन हुन नसक्नुका कमजोरीहरु समीक्षा गरी सेवा पुनः सुचारु गर्नु अघि सिमावर्ती भारतीय सहरमा पनि सेवाबारे प्रचारप्रशार गरिनुपर्ने सुझाव राखे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पूर्वी नेपालबाट आन्तरिक र भारतीय पर्यटक पोखरा पु¥याउन कनेक्टिभिटी महत्वपूर्ण पक्ष भएको बताए ।





