शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाको कालीगण्डकीबाट बीस लाखको फूल निर्यात

स्याङ्जाको कालीगण्डकीबाट बीस लाखको फूल निर्यात


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८०, सोमबार

स्याङ्जा / स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु. २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो । कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म रु. २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिए ।

फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई पालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । पौडेलले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको रु. २५ लाख बराबरको सयपत्रीका फूल निर्यात हुने वताए ।

“फूल खेती र ड्रागन खेतीका लागि रु १० लाख बजेट विनियोजन गरेका थियौँ”, उनले भने, “फूलखेती गर्न चाहेका ३२ कृषकको निवेदनमाथि उत्कृष्ट जमिन छनोट गरेर १६ समूह तथा कृषकलाई प्रतिरोपनी अनुमानित लागतको ५० प्रतिशत अनुदानअन्तर्गत नौ हजार उपलब्ध गराएका छौँ ।”

पालिकाभित्र अनुदान लिएर गरेका फूलखेतीमध्ये धरादीका हीरामणि सुवेदी, लसर्गाबेँसीकी पुष्पासिंह राना, बाँसटारीका रविलाल गौडेल, लालप्रसाद न्यौपाने, इम्सिलका कासीराम न्यौपाने र बारीचौरका घनबहादुरको समूह खेती उत्कृष्ट रहेको पौडेलले बताए । पालिकाले फूलखेती गर्ने हरेक कृषकलाई निःशुल्क परामर्श र प्राविधिक सहयोग गरेको थियो ।

कृषि शाखा प्रमुख पौडेलले जुनसुकै मौसममा पनि फुल्ने क्रमा जातको ‘हाइब्रिड’ सयपत्री फूलखेती गर्न कृषकलाई आफूहरुले सिफारिस गरेको बताए । सयपत्री फूल कृषकले बिक्री गर्न नसकेमा बजारीकरणका लागि पालिकाले सहयोग गरिरहेको छ । अघिल्ला दुई वर्ष पाँच प्रदेशका केही ठूला पुष्प व्यापारीको समन्वयमा पालिकाभित्र उत्पादन भएको सयपत्री फूल बिक्री गरेको थियो ।

नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले पालिकाले बजारको जिम्मा लिने भएपछि आफूहरु फूलखेतीतर्फ आकर्षित भएको जानकारी दिए । “गाउँ पालिकाले विगत तीन वर्षदेखि फूलखेत गर्ने कृषकलाई अनुदानसमेत उपलब्ध गराउँदै आएको छ”, उनले भने, “उत्पादित फूल पालिकाले नै बिक्री गरिदिने भएपछि हामीहरुलाई सजिलो भएको छ ।”कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले कालीगण्डकी गाउँपालिकालाई फूलैफूलको पालिका बनाउने उद्देश्यअनुरुप कृषकलाई फूल उत्पादनतर्फ उत्प्रेरित गरिरहेको बताए । उनले यस वर्ष गाउँपालिकाको अनुुदानमा १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनी जमिनमा सयपत्री फूलखेती गरिएको जानकारी दिए ।

अध्यक्ष थापाले कालीगण्डकीमा सयपत्री फूूलखेतीका लागि उपयुुक्त माटो, हावा र पानी भएकाले आगामी वर्ष खेतीलाई विस्तार गरिँदै लगिने जानकारी दिए । “कालीगण्डकी पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको पालिका हो”, अध्यक्ष थापाले भने, “यहाँ भएका होमस्टेलाई फूलको माध्यमबाट प्रवद्र्धन तथा विकास गर्ने, यहाँका धार्मिक तथा ऐतिहासिक महत्वका स्थल अवलोकन गराउने र आम्दानीको स्रोत बनाउने हाम्रो लक्ष्य हो ।”

अध्यक्ष थापाले पालिकावासीले गाउँपालिकाको योजनालाई साथ दिँदा आफूहरु सफल भएको बताए । कृषकलाई ड्रागनखेतीतर्फ आकर्षित गर्न पालिकाको लागानीमा ड्रागन खेती गरिएको र यसको खेती गर्न चाहने कृषकलाई पोल, बिरुवा, टायललगायतका वस्तुमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->