पोखरा / पोखरामा सयपत्री फूल मेलामा नबिकेका मालावापत पोखरा महानगरपालिकाले किसानलाई प्रतिमाला २० रुपैयाँ दिने भएको छ ।
पोखराको श्री कम्प्लेक्स परिसरमा २५ देखि २८ कात्तिकसम्म सञ्चालन भएको सयपत्री फूल मेला प्रदर्शनीमा किसानले बिक्रीका लागि राखेको करिब ६५ सय माला बिक्री नभएको महानगरपालिकाको अनुमान छ ।
ती मालावापत किसानलाई प्रतिमाला २० रुपैयाँ प्रोत्साहन रकम दिने महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
‘श्री कम्प्लेक्स परिसरमा ल्याएर नियमित फूल बिक्री वितरण गर्ने कृषकको आजसम्मको स्टकलाई हेर्दा, बजारमा माग भन्दा बढी आपूर्ति भएको र बाह्रय क्षेत्रबाट पनि फूल आएको, विगतको तुलनामा माग पनि कम भएकाले माला बिक्री वितरणमा समस्या आएकोले पोखरा महानगरपालिकाको तर्फबाट प्रति माला रु २० का दरले प्रोत्साहन गरिने निर्णय भएको छ’ उनले भने ।
बिक्री नभएको ६ हजार ५०० मालालाई प्रति माला २० का दरले १ लाख ३० हजार प्रोत्साहन रकम दिइने उनले वताए ।
किसानको बारीमा नै रहेको फूल र बिक्री नभएको माला सुरक्षित राख्न महानगरपालिकाले आग्रह गरेको छ । ‘सुकेका फूल गुणस्तर हेरी प्रतिकिलो ५० देखि ८० रुपैयाँसम्ममा खरिद गर्ने व्यवस्था गरिएको छ’, कडरियाले भने ।




