पोखरा / घरेलु टोली गण्डकी प्रदेशको केपी ओली कप टी २० क्रिकेटको यात्रा सकिएको छ । आइतबार जित्नैपर्ने दबाबमा रहेको गण्डकी लुम्बिनीसामु निरीह हुँदा समूह चरणबाटै बाहिरिएको हो । लुम्बिनीले जीत हासिल गर्दा एपिएफ अन्तिम चारमा प्रवेश गरेको छ ।
समूह ‘बी’ मा गण्डकी, लुम्बिनी र एपिएफ रहेका थिए । तीनै टोलीले समान दुई खेलमा एक जीत र एक हारसहित समान दुई÷दुई अंक बटुलेका थिए । तर, नेट रनरेटको आधारमा एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो भने लुम्बिनी र गण्डकी समूह चरणबाटै बाहिरिएको हो । एपिएफको नेट रन रेट १.९८९ रह्यो । गण्डकीको माइनस ०.००८ र लुम्बिनीको माइनस १.९७५ रह्यो ।
आइतबार भएको खेलमा १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा अलआउट हुन पुग्यो । १९ औं ओभरको पाँचौ ओभरमा जितको छक्का हान्ने क्रममा सुदिप अर्याल क्याच आउँट हुँदा गण्डकीको यात्रा सकिएको हो । २४ बलमा २ चौका र ४ छक्का प्रहार गरेका उनी मोहम्मद हुसेनको बलमा आउट भएका हुन् । गण्डकीको सुरुवात राम्रो हुन सकेन् । पहिलो ओभर (पावर प्ले) मा मात्र १ रन जोेडेको गण्डकीले दोस्रो ओभरमा भने दुई विकेट गुमाएको थियो ।
मोहम्मदले प्रहार गरेको दोस्रो ओभरको पहिलो बलमा ओपनर गौरव विक १ रनमै आउट भए । अर्का ओपनर किरण पौडेल पनि सोही ओभरको पाँचौ बलमा शून्यमै बोल्ड भए । मोहम्मदकै चौथो ओभरको पाँचौ बलमा दिनेश बुढामगर १३ रनमा रमेश कुर्मीबाट क्याचआउट भए । पाँचौ ओभरको पाँचौ बलमा मुस्कान थापा एक रनमा बोल्ड भए ।
गण्डकीले पावर प्लेमा १९ रनमा ४ विकेट गुमाएको स्थितिमा थियो । सुरुवातमै हारको संघारमा पुगेको गण्डकीले सातौं विकेट गुमाएपश्चात केही आशा जगाएपनि अन्तिममा हार व्यहोरेको हो । सातौं ओभरको तेस्रो बलमा सन्दिप क्षेत्री शुन्यमा स्टम्प्ट आउट भए । लगत्तै आठौं ओभरको पहिलो बलमा अमृत गुरुङ १ रनमै क्याच आउट भए ।
दशौं ओभरको चौथो बलमा अभिषेक थापा ९ रनमा स्टम्प्ट आउट भए । १२ औं ओभरको छैटौं बलमा कप्तान विपिन खत्री १९ रनमा क्याचआउट भए । १४ औं ओभरको पहिलो बलमा कमल परियार ११ रनमा क्याच आउट भए ।
लुम्बिनीका लागि मुहम्मद हुसेनले ३.५ ओभरमा ९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अजय लुनियाले ४ ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । रमेश कुर्मीले २ तथा अभिषेक गौतमले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन बनाउन सफल रह्यो । लुम्बिनीका ओपनर मिर्नल गुरुङ ११ रनमा क्याच आउट भए । अर्का ओपनर सुशान्त थापा शुन्यमा क्याचआउट भए । महेन राना २ रनमा आउट भए । विराट भण्डारी १६ रनमा क्याच आउट भए । धु्रव सुनार र नर सार्की समान २३÷२३ रनमा क्याच आउट भए ।
कप्तान कृष्ण कार्की ८ र मोहम्मद हुसेन ७ रनमा क्याच आउट भए । अभिषेक गौतम र अजय लुनियाँ समान २÷२ रनमा अविजित रहे । गण्डकीका लागि अमृत गुरुङले ३ विकेट लिए । चन्द्र पौडेल २ तथा विपिन खत्री, सुदिप अर्याल र दिनेश बुढामगरले समान १÷१ विकेट लिए ।
भुर्तेलको शतकमा पुलिसको सहज जीत
यस्तै आइतबार नै भएको समूह ‘सी’ को पहिलो खेलमा कुशल भुर्तेलको शतकीय इनिङमा नेपाल पुलिसले मधेश प्रदेशलाई ५७ रनले हराएको छ । १ सय ७६ रनको विजयी लक्ष्य पाएको मधेश प्रदेश १८.२ ओभरमा १ सय १८ रनमा अलआउट हुन पुग्यो । ओपनर कप्तान हरिशंकर शाह चार रनमा बोल्ड भए ।
अर्का ओपनर अनिल शाह शून्यमै बोल्ड भए । इम्रान शेख २२ रनमा स्टम्प्ट आउट भए । पवन सर्राफ २, हिमान्सु दत्त शुन्यमा आउट भए । रोहन विकले १० रन जोडे । विशाल सुस्लिङ चार रनमा आउट भए । रुपेश सिंहले सर्वाधिक ४० रनको पारी खेले । उनले २५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । राकेश कमात १० र प्रदिप पासवान ६ रनमा आउट भए ।
पुलिसका लागि सागर ढकालले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । करण केसी, रशिद खान र ललित राजवंशीले पनि समान २÷२ विकेट लिए भने कुशल भुर्तेल र सुनिल धमलाले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको पुलिसले २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन जोड्यो । ओपनर कुशल भुर्तेलले शतकीय इनिङ खेले । उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । अर्का ओपनर सुनिल धमला ४५ रनमा आउट भए । उनले ४७ बलमा ४ चौका प्रहार गरे । यी दुई ओपनरले ९५ बलमा १ सय ३८ रनको उत्कृष्ट साझेदारी गरे। पुलिसले पहिलो विकेट १६ औं ओभरको छैटौं बलमा कुशललाई गुमायो । सुस्लिङको बलमा उनैबाट क्याच आउट भए ।
रशिद खान ३, दिलिप नाथ १ र अर्जुन साउद १ रनमा आउट भए । करण केसी १६ रनमा अविजित रहे । उनले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे । कप्तान आरिफ शेख ६ रनमा अविजित रहे । उनले १ बलमा १ छक्का प्रहार गरे । मधेशका लागि विशाल पटेल र विशाल सुस्लिङले २÷२ तथा रुपेश सिंहले १ विकेट लिए ।





