बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राजा र राजसंस्था फर्कँदैन : सभापति देउवा

राजा र राजसंस्था फर्कँदैन : सभापति देउवा


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८०, मंगलबार

नवलपुर / पूर्वप्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले राजा र राजसंस्था नफर्कने बताएका छन् । नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटनमा गर्न नवलपुरको देवचुली आएका सत्तागठबन्धन दलका नेतासमेत रहेका देउवाले संविधानसभाले नै लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले राजसंस्था फर्कने कुनै पनि सम्भावना नरहेको जिकिर गरे ।

पार्टी सभापति देउवाले धर्म निरपेक्षतालगायत अहिले उठेका अन्य विषयमा भने सरसल्लाह गर्न सकिने बताए । पार्टीको विधानतः आयोजित जिल्ला सम्मेलनमा पार्टीका प्रभावशाली नेता डा. शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मासमेत उपस्थित हुने जनाइए पनि नेताद्वय भने अनुपस्थित रहे ।

सोही कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले संघीयताको मर्म अनुसार संघ सरकार नै नचल्दा संघीयता अनावश्यक जस्तो लागेको बताए । संघ सरकारमा मन्त्रालय घटाएर ठूला आयोजना मात्र हेर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने समन्वय गर्ने र प्रदेशले विकासका गतिविधि गर्नेखालको संघीयताको स्पष्ट मोडल हुनुपर्ने उनले सुझाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो कार्यकालमै त्रिवेणी–कोरोला सडक सञ्जाल जोड्ने संकल्प लिएको बताउँदै राष्ट्रिय निकुञ्जका कारण अवरोध भइरहेको त्रिवेणी–दुम्किबास खण्ड खुलाएरै छाड्ने तर त्यसका लागि नवलपुरवासी सबैले साथ दिन आग्रह गरे ।

कांग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले नवलपुर जिल्ला नामाकरण, स्तरोन्नतिको क्रममा रहेको पूर्व–पश्चिम मुख्यमार्ग निर्माणमा तीब्रता, नवलपुर सदरमुकाम निर्माण प्रक्रिया थालनी, धौवादी फलाम खानी सञ्चालन, त्रिवेणी–दुम्किबास खण्डको बाधा शीघ्रातिशीघ्र फुकुवा लगायतका विषय प्रधानमन्त्रीलाई अवगत गराउन सभापति देउवासमक्ष ध्यानाकर्षण गराए ।

उद्घाटन सत्रमा गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्मा, उद्योगपति एव. सांसद विनोद चौधरी, केन्द्रीय सदस्य एवं सांसद डा. शशांक कोइरालालगायतले बोलेका थिए । अधिकांश वक्ताहरुले अहिले कांग्रेस पार्टीमाथी चौतर्फी आक्रमण भएकोले पार्टी नेतृत्व र कार्यकर्ता गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

यसैबीच सम्मेलन परिसरमा नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ प्रदेश ख का सचिव बसन्त पोखरेलले संघीयता खारेज गर, हिन्दु राज्य कायम गर, शिक्षा र स्वास्थ्य निःशुल्क लगायतका बुँदा समावेश गरेको पर्चा वितरण गरेका थिए । उनले बाँडेको पर्चामा नयाँ नेपाल निर्माणका लागि गणतन्त्रको व्यवस्थालाई भने समावेश गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->