धौलागिरी अञ्चलको अञ्चल सदरमुकाम बागलुङ हो । यहाँ दर्जनौंको संख्यामा निजी मेडिकल र क्लिनिकहरु छन् । जसका कारण यहाँ स्वास्थ्य सेवा फराकिला र पारदर्शी भइ रहेका छन् । यहाँ निजी स्वास्थ्य संस्थाका अलावा सरकारी स्वामित्वमा सञ्चालित वडास्तरीय स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य सेवा केन्द्र, सहरी स्वास्थ्य केन्द्रसहित धौलागिरी अञ्चल अस्पताल रहेका छन् । स्वस्थ्य क्षेत्रका अन्य स्थानमा सहज स्वास्थ्य सेवा भए पनि अञ्चल अस्पतालमा दैनिक बिरामीको लाम लाग्ने गरेको देख्न सकिन्छ ।
यहाँ दैनिक सयौंको संख्यामा बिरामीहरुको लाइन लाग्छ । फार्मेसीमा औषधि, हस्पिटलमा डाक्टर र इमर्जेन्सी वार्डमा बेड समेत नपाइनु खेद जनक छ । यहाँ कति उपचार पाएर खुशी हुन्छन् त कति स्वास्थ्य सेवा पर्खिँदा पर्खिदै थकित बन्छन् । गाउँबाट शहरमा आएर उपचार गर्ने बिरामीहरुले दैनिक जसो लाइनमा बस्दाबस्दै आजित बनेको बताउँछन् । अस्पतालमा एकैदिनमा उपचार सम्भव नभएपछि हजारौं रुपैयाँ खर्चिएर होटेलमा बस्नुपर्ने बाध्यता सर्वसाधारणको रहेको छ ।
हिजोआज कच्ची सडकमा महङ्गो मूल्य तिरेर स्वास्थ्योपचारका लागि सदरमुकाममा झरेका बिरामीहरु प्रशस्त पाइन्छन् । तर, सहज स्वास्थ्य सेवा नपाएका दुखी मानिसहरू अधिक छन् । दुई दर्जन बढी डाक्टरहरुले स्वास्थ्य सेवा दिइरहदा पनि उपचारमा कठीनाइ हुनु र जनताको सहज उपचार नहुनु दुःखद् हो । २०१६ सालमा स्थापना भएको यो अस्पतालले जिल्ला अस्पताल हुँदै २०६७ सालबाट अञ्चल अस्पतालको संज्ञा पाएको थियो । अहिले यो अस्पताल तीनवटा भवन, भिडियो एक्सरे, सिटिस्क्यान, ल्याब सेवा, अक्सिजन प्लान्ट, लिफ्ट र यथोचित मात्रामा स्रोत–साधनले पूर्ण भएको छ । अस्पतालले भर्खरैमात्र सिटिस्यान मेसिनसमेत प्राप्त गरेको छ । जनता मेसिन आयो रे भनेर खुसी मात्रै हुन्छन् कि उपभोग पनि गर्छन् ? त्यो हेर्न बाकी छ । किनकि मेसिनले मात्रै उपचार हुँदैन । प्रयाप्त मात्रामा विज्ञ डाक्टरहरुको चाहना मेसिन र बिरामीले गर्ने छन् ।
यहाँबाट धौलागिरी अञ्चलका पर्वत, बागलुङ, मुस्ताङ र म्याग्दीका जनता लाभान्वित हुने गरेका छन् । उत्कृष्ट उपचार हुँदाहँुदै पनि प्रशासनिक जटिलताका कारण अहोरात्र खटेर काम गर्ने डाक्टरहरुले जस नपाउनु निन्दनीय कार्य बनेको छ । विगतमा डाक्टरहरुको अभावसंगै विश्वसनीय स्वास्थ्योपचारको खोजीमा बिरामीहरु पोखरा काठमाडांै पुग्ने गर्थे । तर, अहिले विशेषज्ञ डाक्टरको उपस्थितिमा रोगको परिक्षण, जाँच र निदान यहाँ हुने गरेको छ । यस अर्थमा धौलागिरीबासी जनता खुशी हुनै पर्छ । घर गाउँको अस्पतालमा यत्तिका डाक्टर र उपचार पद्धति पाइएको छ । उनीहरुको सहयोग, परामर्श र निगरानीले धेरै मानिसले जीवन पाएका छन् । तर उपचारको समयावधि र डाक्टरसम्म पुग्नको लागि दर्जनौं लाइनमा उभिनुपर्छ । उपचारको लागि हस्पिटल पुगेका रोगिले डाक्टरसम्म पुग्न स्वस्थ्य व्यक्ति भएर संघर्ष गर्नुपर्ने बाध्यता छ ।
यहाँ हरेक दिन बिरामीहरुले ९/१० वटा लाइन बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । अस्पतालमा हिजोआज स्वास्थ्य बिमाका बिरामीहरुले अधिक मात्रामा सेवा लिने गरेका छन् । कर्मचारीहरुको अनियन्त्रित कार्यशैलीका कारण उपचारमा असहज भएको सर्वसाधारण बताउँछन् । करार सूचीमा नियुक्ति पाएका अस्पतालका कर्मचारीले बिरामीमैत्री वातावरण सिर्जना गर्न सकिरहेका छैनन् । राजनैतिक छत्रछाया पाएर नियुक्त भएका उनीहरुको दम्भ नै स्वास्थ्य सेवालाई कमजोर पार्ने प्रमुख तत्व भएको छ । केही विशेषज्ञ डाक्टरसहित करिब दुई दर्जन एमबीबीएस डाक्टरहरुको दरबन्दी रहेको अस्पतालमा व्यवस्थापन समितिले कर्मचारीहरुको व्यवहार सुदृढीकरण गर्न सकिरहेको छैन । कर्मचारीको व्यवस्थापनमा समस्या देखिनु, अस्पतालमा रहेका अधिकांश कर्मचारीमा सरकारी मनोभावना उत्पन्न भइ उदासिनता प्रकट हुनु जस्ता समस्याहरु जल्दाबल्दा छन् ।
अस्पतालमा रोगीहरु रोग निको पर्ने अभिलाषाले पुग्छन् । तर यहाँ ससाना समस्याका बिरामीहरुलाई समेत घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । बहिरङ्ग विभागमा चेकजाँच गराउन जाने जटिल समस्याका बिरामीलाई पालो पर्खिदै दिन जान्छ । दैनिकजसोको लाइन र दुखले बिरामीहरुमा थप रोगको जोखिम सिर्जना हुने समस्या छ । अस्पतालले पुर्वाधार निर्माणमा ढिलासुस्ती गरी बिरामीको उपचारमा जटिलता उत्पन्न गरेको छ । डाक्टर र नर्सहरु अस्पताल प्रशासनको उदासिनताका कारण समस्यामा रहेको देख्न सकिन्छ । कर्मचारीको भद्र भलाद्मीपन, स्वास्थ्य बिमाका बिरामीलाई उपेक्षा गरी निशुल्क औषधि दिन पनि आनकानी गर्नु, स्वास्थ्यमा विषम परिस्थितिको आँकलन गरि अस्पताल आएका बिमाका बिरामीलाई इमर्जेन्सीमा टिकट दिन असहमति प्रकट गर्नु, डाक्टरहरुले निगरानी गरिरहँदा र रोग निदानमा सकारात्मक भूमिका खेल्दाखेल्दै कर्मचारीहरुले परोक्षको व्यवहार गर्नु, भौगोलिक समस्याका कारण विशेषज्ञ डाक्टरहरु सरुवा हुनु, सञ्चालक समितिले तत्कालै डाक्टर उपलब्ध गराउन नसक्नु, जस्ता समस्या सर्वकालीन बन्न पुगेका छन् ।
सर्वसाधारणको अपेक्षा सुरक्षित, सहज र सरल उपचार पद्धतिमा हुन्छ । संविधानले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य उपचार प्रदान गर्ने व्यवस्था गरेको छ । तर धौलागिरी अञ्चल अस्पतालमा स्वास्थ्य सेवाको लागि विभिन्न चरणहरु पार गर्नुपर्छ । जसलाई यहाँ सविस्तार वर्णन गर्न सकिन्छ । सर्वप्रथम अस्पतालमा बिरामीहरु बिहान ७ बजेदेखि टोकनको लाइनमा बस्नुपर्छ । बजारमा आफन्त भएका बिरामीले घर (गाउँ)बाट हिंड्नु पूर्वनै टोकन लिन लगाएका हुन्छन् । जस अनुसार बिरामी र बिरामीका आफन्तको पहिलो लाइन टोकन लिनको लागि आवश्यक क्रमवद्ध प्रमाण हो । प्रत्येक दिन बिहान ९ बजे खुल्ने टोकन र टिकट काउण्टरमा सेवाग्राहीहरु लाइन लगाउँछन् । छिटो पालो परेमा बेलुकी छिटो घर पुग्ने आशाले वृद्धवृद्धाहरु तछाडमछा गरिरहेको देखिन्छ । त्यसपछि डाक्टर भेट्ने आसमा सम्बन्धित रोगको सघन एवं परामर्श कक्षको अगाडि लाइन बस्नुपर्छ । भने छोटोमोटो डाक्टरको सल्लाहपछि बिरामीहरु लगत्तै परिक्षण गरिने शीर्षक अनुरुपको दस्तुर भुक्तान एवं विल काट्न काउन्टरमा उभिनै पर्छ । साना, ठूला, बालक, वृद्ध, वयस्क र अपाङ्ग सबैलाई लाइनले समान नजर दिइरहेको हुन्छ । त्यसैले लाइनबाट कोहि पनि भाग्न सक्दैन । यसर्थ पनि बिरामीहरुलाई एक्सरे कक्षको अगाडि लाइन लगाउनु पर्ने हुन्छ । निश्चित ठाउँमा निश्चित कर्मचारीको कार्यक्षेत्र तोक्ने प्रबन्ध भएमा यो भीडलाई साम्य पार्न सकिन्थ्यो होला । तर अस्पतालको निगरानीबिहीन बिरामीको यो प्रतीक्षाको घडी निकै महंगो हुन्छ । इसिजीको सन्दर्भ फेरि निकै भिन्न रहेको छ । ओपिडीमा चेकजाँच गर्ने बिरामीले इसिजी गर्नुपरेमा दिनको २ बजाउनै पर्ने नियम छ तर २ बजेपछि ओपिडी बन्द हुने भएकाले सम्बन्धित बिरामीहरुको यो सातौं लाइन निक्कै चुनौतीपूर्ण हुन्छ ।
सागुरो बसाइँमा फराकिलो कार्यक्षेत्र रहेको प्रयोगशालाको व्यवस्थापन निक्कै असहज छ । चैतेदशैंको मेलामा एउटै स्टलमा झुम्मिएका दर्शकहरु झै निश्चित परिधीमा बिरामीहरुको उपस्थिति थप जटिल बन्छ । घनञ्चमनञ्च लाइनमा बसेर दुखैदुखमा रगत, दिशा र पिसाब परिक्षणका लागि दिनुपर्छ । बिरामीहरुको उत्तिकै उपस्थितिमा दुई तीन घण्टापछि दिइने रिपोर्ट लिनको लागि अर्को लाइनमा बस्नै पर्छ । बिरामीका निम्ति महत्त्वपूर्ण कागज बन्ने रिपोर्ट लगेर डाक्टरलाई पुर्ववत् कक्षमा भेट्न बिरामीहरुले थप दौडधुप गर्नै पर्छ । दैनिक सीमित बिरामीसँगको सम्पर्कलाई तय गरिएको क्रमसंख्यालाई कोही मानिसले तोड्न सक्दैनन् । सम्भव भए डाक्टर भेटिन्छन् । अन्यथा भोलि आउनुहोस् भनेर पठाइन्छ । अन्ततः भोलिपल्ट त्यही बिरामीले सबै नियम र विधि पूरा गरेर लाइन बस्नै पर्छ । अझै समस्याको कुरा त रोग अनुसारको परिक्षणका लागि ओपीडीमा निश्चित संख्या हुनु अप्ठ्यारो परिस्थिति छ । त्यसमाथि कुनै बिरामीको अप्रेसन गर्नुपर्ने अवस्था आएमा ओपिडी सेवा नै बन्द हुन्छ । अस्पतालको यो कार्यशैलीले दुर्गम गाउँबाट हजारौं रुपैयाँ खर्चिएर आएका बिरामीहरुको बिचल्ली हुने गरेको छ । बिरामीहरुले घण्टौंको प्रतीक्षापछि प्राप्त गरेको रिपोर्ट लिएर रोगको पहिचान र आवश्यक परामर्श लिन डाक्टर भेट्ने लाइन त्यसपछि लगत्तै औषधिको बिल काट्ने लाइन हुन्छ । लगत्तै डाक्टरको निर्देशन अनुसार औषधि लिन पुग्ने मानिसहरूले कागजी प्रक्रिया पूरा गरेर औषधि लिन्छन् । अन्त्यमा बिहान टिकट काट्दा अस्पताललाई बुझाएको स्वास्थ्य बिमाको कार्ड लिनको लागि पनि लाइनै बस्नुपर्ने बाध्यता अस्पतालमा छ । उल्लेखित सम्पूर्ण लाइनहरु अनुशासनपूर्वक पार गरेपछि मात्र बिरामीको कर्तव्य पूरा हुन्छ ।
यसरी धौलागिरी अञ्चल अस्पतालमा बिरामीका लागि दैनिक चुनौतीहरु थपिदै गएका छन् । म आफै कतिपटक स्वास्थ्य बिमाको कार्ड लिएर डाक्टरको सिफारिससहित औषधि लिन जादा फर्कनु परेको छ । फार्मेसीमा कार्यरत कर्मचारीले मान्छे हेरेर औषधि दिनु खेदजनक छ । यहाँ औषधि छैन पाउदैन बाहिर मेडिकलमा जानुस् भनेर ताकेता गर्नु गलत हो । त्यही उपचार, त्यही उपचार पद्धति र त्यही औषधि अस्पतालमा कार्यरत कर्मचारीका आफन्त र इष्टमित्रले सहज उपभोग गर्न पाउने तर अन्य सर्वसाधारणले नपाउने ? यो त सिधै नातावाद कृपावाद भएन र ?
अस्पतालका जटिलताहरुमा चौबीसै घण्टा खटेर काम गर्दा समेत डाक्टरहरुले जस नपाउनु, उपस्थित हुने बिरामीहरुको मागलाई सम्हाल्न सक्ने स्वास्थ्यकर्मी र कर्मचारीको अभाव हुनु हो । अस्पतालमा यस्तो अवस्था सिर्जना हुनुमा एउटा पक्षको मात्र समस्या छैन । स्थानीय शासकहरु आफन्त र इष्टमित्रको सेवामा तल्लीन हुनु, स्वास्थ्य क्षेत्रमा पनि नातावाद, कृपावादको छाया देखिनु, कर्मचारी नियुक्तिमा राजनैतिक भरणपोषण हुनु, स्वास्थ्य बिमाका बिरामीहरुलाई फरक सोचले हेरिनु, कर्मचारीहरु बाहिरी मेडिकल र व्यापारीहरुसंग सहकार्यमा जुट्नु, बिरामीसंग सहृदयी व्यवहार प्रकट नगर्नु, स्रोत र साधनको सहि प्रयोग नगरिनु, सर्वसाधारणमा सकारात्मक सोचको अभाव हुनु, सम्बन्धित निकायले नियमित अनुगमन गर्न नसक्नु, जस्ता समस्याहरु देखापरेका छन् ।
यसर्थ बिरामीलाई घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेर नविनता ल्याउन सकेमा सञ्चालक समिति, अस्पताल प्रशासन र स्थानीय सरकार अवस्य सफल हुने छन् भने बिरामीहरुको चापलाई थाम्न सक्ने नीति अवलम्बन गरेर अस्पतालको विकासमा जोड दिन सके अस्पतालकै सुविधाले बागलुङको उन्नति निश्चित छ ।





