बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नारायणस्थान स्वास्थ्य चौकी बन्यो पोषणमैत्री

नारायणस्थान स्वास्थ्य चौकी बन्यो पोषणमैत्री


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०८०, बुधबार

बागलुङ÷बालमैत्री नगरको अभियानमा अगाडि बढेको बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थान स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था पनि घोषणा गरिएको छ । तोकिएका १६ सूचक र ११ निर्देशन पालना गरेर नारायणस्थान स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्थामा घोषित भएको हो ।
मंगलबार बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उक्त संस्थालाई पोषणमैत्री घोषणा गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सबै सूचक र निर्देशन पालना गर्ने यो संस्था पहिलो भएको नगर स्वास्थ्य प्रमुख रामप्रसाद खनालले बताए । यो संस्थाले वडाभरका आम नागरिकको तथ्यांक समेत डिजिटल बनाएको छ ।
तोकिएका १६ सूचकमध्ये एकजना पोषण फोकलपर्सन तोकिएको, कम्तिमा एकजना पोषणमैत्री तालिमप्राप्त स्वास्थ्यकर्मी रहेको, सबै सेवाग्राहीका लागि पहुँचयुक्त शुद्ध खानेपानीको व्यवस्था, पहुँच युक्त सफा शौचालय, साबुनपानीले हातधुने व्यवस्थापन भएको हुनुपर्ने छ । त्यस बाहेक बालबालिकाको उमेर अनुसार तौल लिने मेसिन, उचाइ, लम्बाइ लगायतका सूचक मापन गर्ने मेसिन मुआक टेप उपलब्ध भएको हुनुपर्ने छ । पोषणका लागि आवस्यक भिटामिन ए, जुकाको औषधी, जिंक ट्याब्लेट, बालभिटा प्याकेट, आइरन, बहिरंग उपचार सेवा र कम्तिमा एक महिनाकालागि उपचार र औषधी रहेको हुनुपर्ने छ ।
व्यवस्थापनतर्फ मासिक कम्तिमा एकएकवटा बैठक बसेको हुनुपर्ने छ । पोषण सम्बन्धी सामाग्री आम सेवाग्राहीले देख्ने गरी प्रर्दशन गर्नुपर्ने, बाल स्वास्थ्य कार्ड लागू भएको, दुइ बर्ष सम्मका बालबालिकाको पोषण रजिष्टर, गाउँघर क्लिनिक र त्यसको पनि रजिष्टर राखेको हुनुपर्ने प्रावधान नारायणस्थान स्वास्थ्य चौकीले पुरा गरेको हो । महिला स्वासथ्य स्वयंसेविकाहरुले पनि आफ्नो फाइल समेत स्पष्ट राख्ने गरेका छन् । नगरपालिकाले उनीहरुलाई फाइल व्यवस्थापनका लागि एकएक वटा साना सोकेस समेत दिएको छ ।
गुणस्तर मापनका लागि स्वास्थ्य संस्थामा नियमिच चेकलिष्टको व्यवस्था भएको छ । पोषण कर्नर बनाएर प्रर्दशनी गरिएको छ । उक्त संस्थाको सेवाक्षेत्रका गर्भवतीहरुले ८ पटक स्वास्थ्य परीक्षण गराएका छन् । सुत्केरीपछि पनि ३ पटक स्वास्थ्य संस्थामा पुग्ने गरेको स्वास्थ्य चौकी प्रमुख ऋषिराम शर्माले बताए । गर्भवतीले गर्भ अबधिभर १ सय ८० आइरन चक्की खाएको, ९० प्रतिशत बढीले स्थानीय स्वास्थ्य संस्थामै सुत्केरी भएको रेकर्ड छ । बाँकी १० प्रतिशत पनि सुविधासम्पन्न अस्पतालमा गएको देखिएको हो ।
जसका कारण कम तौलका शिशु जन्मने दर शुन्य प्रायः भएको छ । सबै बालबालिकाले समयमा पूर्ण खोप पाएकोले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सकिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । त्यसका लागि शाखाले तोकिएका सूचकबारे अध्ययन अनुगमन गरेर सबै सूचक रुजुसमेत गरेपछि मात्र घोषणाको अबस्थामा पुगेको खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->