बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एमाले सरकारमा आउला कि भनेर सबै आतंकितः अध्यक्ष ओली

एमाले सरकारमा आउला कि भनेर सबै आतंकितः अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०८०, शनिबार

गोरखा / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय शक्ति एमाले सरकारमा आउला कि भनेर आत्तिएको बताएका छन् । मध्य पहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा गोरखा आइपुगेका ओलीले शनिबार सदरमुकाममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रमा प्रतिस्पर्धा स्वच्छ हुनुपर्ने बताए ।

‘लोकतन्त्रमा प्रतिस्पर्धाको प्रणाली छानेरै ल्याएको हौँ, प्रतिस्पर्धा स्वच्छ हुनपर्छ, प्रतिस्पर्धा कामबाट देखाउन पर्‍यो,’ उनले भने,‘यहाँ त काम गर्‍यो भने, नाकाबन्दीसँग डटेर सामान गर्‍यो भने, उत्तरतिरको छिमकीसँग यातायात, पारवहन सम्झौता गर्‍यो भने, विकासको गतिलाई अघि बढायो भने सबै मिलेर सरकारबाट हटाउँछन्, सबैलाई आतंकको विषय के छ भने एमाले सरकारमा आउला, किन आतंक छ भने पहिलेको अनुभव छँदै छ त्योभन्दा बढी जोडले काम गर्दछ, अहिलेभन्दा बढी जोडले काम गर्छ ।’

कालापानी, लिम्पियाधुरा, र लिपुलेकका बारेमा सरकारले उच्चस्तरीय वार्तामा उठाउन नसकेको पनि ओलीको आरोप छ । ‘अडिनै नसक्ने खालको कमजोरी देखाउनु लज्जाको विषय हो,’ उनले भने,‘लिम्पियाधुरा, लिपुलेक, कालापानीका कुरा हाम्रा उच्चस्तरीय संवादमा उठ्दैन, योभन्दा गए–गुज्रिएको अवस्था के हुन्छ ? योभन्दा देशप्रतिको बेइमानी के हुन्छ ? हामी राष्ट्रियताको मामलामा यति धेरै कमजोर हुनु हुँदैन ।’

वर्तमान सत्ता गठबन्धनलाई ‘चीनको सहयोग लिए अर्को छिमेकी रिसाउँछन्’ भन्ने भय रहेको ओलीको आरोप छ । ‘हामी साह्रै व्यापार घाटामा छौँ, मद्धत गर्नुपर्‍यो भनेर चीनका राष्ट्रपति सी चिनफिङसँग कुरा राखेँ, उहाँले उत्पादन गरेर जति पठाए पनि किन्दिन्छौँ भननुभयो, तपाईंहरुको उत्पादन छैन उत्पादन बढाउन के गर्नुपर्छ भन्नुस् पनि भन्नुभयो,’ ओलीले भने, ‘यहाँ फर्किएर आएपछि नेताहरू चीनको सहयोग लियो भने अर्को छिमेकी रिसाउँछन् भन्छन्, यहाँ एयरपोर्ट बनायो चल्न दिएको छैन ।’

आफ्नै जमिनमा बनेको विमानस्थल चलाउन नसक्नु लाजमर्दो भएको पनि अध्यक्ष ओलीले बताए । ‘पोखरा विमानस्थलमा चीनबाट मात्र टुरिस्ट लिएर आउ भन्यो भने ८/१० लाख लिएर आउँछन्,’ उनले भने, ‘लुम्बिनी एयरपोर्टमा बुद्धिस्टहरूको ओइरो लाग्छ, एयरपोट बनेको छ, आफनै जमिनमा बनेको छ, आफ्नै जमिनबाट उडाउने, आफ्नै जमिनमा ल्यान्ड गर्न के समस्या हुन्छ ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->