मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

इलामको यात्रा–१

इलामको यात्रा–१


  • माधव चापागाई
  • मंसिर २६ २०८०, मंगलबार

नेपाल प्राकृतिक दृष्टिले सम्पन्न देश हो । प्राकृतिक विविधताले पुर्ण हाम्रो देशमा भिन्न भूगोलमा जन्मिएर हुर्किएका मानिसलाई अर्को भुगोलको सुन्दरता मन पर्नु स्वभाविक नै हुन्छ । हामी पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई तराइका सम्मा फाटहरुले लोभ्याउनु अनौठो प्रायः हुँदैन । त्यस्तै चिया बारीको सौन्दर्यताको भोक जाग्नु पनि जायज नै हो । शरदकालिन समयमा पहेलपुर धानका बालाहरुले सिङ्गारिएको तराईले आगन्तुकहरुको आतिथ्यतालाई स्वागत गरेझै लाग्छ । अन्नको भण्डार तराईलाई नियाल्दै, रामसिताको विवाह स्थल एवं विधेयराज जनकको राज्य स्पर्श गर्ने हामीहरुको इच्छा पुरानै थियो । भने इलामको कन्याम, फिक्कल लगायतका स्थानले चियामैत्री प्रकृतिमा रमाउन यथाशीघ्र आग्रह गरिरहेको भान मलाई भइरहेको थियो । जुन समयमा धरानमा अवस्थित देवाधिदेव महादेवकी धर्मपत्नी एवं दक्षप्रजापती पुत्री सत्यदेविको दात पतन भएर त्यसै स्थानमा उत्पत्ति भएकी दन्तकाली र मनोवान्छित फल प्रदान गर्ने प्रेमको संसारलाई जगत उत्पत्तिको मर्यादाक्रम मान्ने बुढासुब्बाको निमन्त्रणाले पनि हामीलाई बोलाइरहेका थिए ।

ताप्लेजुङमा रहेकी पाथीभरा मातासंग भगिनी सम्बन्ध राख्ने इलामकी पाथिभराले हामीलाई निरन्तर बोलाइरहेकी थिइन् । उनै देविदेवता र प्राकृति सुन्दरताको सौन्दर्यतालाई निकटबाट दृश्यावलोकन गर्न हामी तयार भयौं । जसलाई सार्थकता दिन बागलुङ भगवती यातायात प्रालिद्वारा सञ्चालित बा ४ ख ४८८ नम्बरको बसको समसाथ मिलेको थियो ।

आफैंमा नेपालको मानचित्रसंग मुहार मिल्दो सुन्दर जिल्ला बागलुङबाट इलामको यात्रामा निस्किने दिन नजिकिदै गर्दा मन प्रफुल्लित थियो । शैक्षिक भ्रमणमा सहभागी विद्यार्थीहरुका निर्मल, निश्चल नयनले छिटो हिडौं भनिरहेका थिए । ४० सदस्यीय भ्रमण समुहमा म पनि एक जोर नयन लिएर हिड्ने तर्खरमा थिएँ । भ्रमणको प्रारम्भिक छलफलमा ४ जना शिक्षकशिक्षिकाको जिम्मेवारीमा भ्रमण सफल पार्ने निर्णय भएको थियो । शैक्षिक क्षेत्रबाट अवलोकनमा निस्किदा एकपछि अर्को सरलदेखि जटिल समस्याहरू उत्पन्न हुन्छन् भन्ने भनाइ हाम्रो समाजमा छ । जस्को पुर्वानुमान र निर्भयताको परिकल्पनामा हामी सचेत नै थियौं । अघिल्लो वर्षको भ्रमण दलमा सहभागी भएको हुनाले मेरो मनमा यी यावत् कुराहरुको कल्पना हुनु स्वभाविक नै थियो । भने बाहिरी व्यवहारमा सहज महशुस गरे पनि मनमा केही समस्याका भावहरु तरङ्गित हुन्थे । बढ्दो उमेर, यौवनावस्था, नानाथरी स्वभाव, मनसाय र चरित्रका विद्यार्थीलाई एउटै छाताभित्र अटाएर सकुशल अभिभावकको जिम्मा लगाउन त्यति सहज भने थिएन । तथापि समय सापेक्षित कार्यक्रमको संयोजन गर्नु हरेक शैक्षिक संस्थाको बाध्यता नै हुन्छ ।

हामीले बागलुङबाट इलामका लागि भ्रमणको कार्यक्रम तय गरिरहँदा अघिल्लो दिन आगामी कार्यदिशा र निर्देशनसंगै पूर्ण तयारीको मोडमा थियौं । शिक्षक/शिक्षिकाको तर्फबाट दुई जना म्याडम र हामी दुई जना सरहरुको उपस्थिति रहने निश्चित थियो । अन्तिम तयारीमा जुटिरहँदा विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारी सरले आफू पनि भ्रमणमा जाने मनस्थितिमा रहेको बताउनुभयो । सबै खर्चपर्च र रुटको निर्णय भएलगत्तै उत्पन्न सरको यो मनसायले मेरो मनमा थप उत्साह थप्यो । किनकी प्रअ सरको समसाथमा घुम्न जाँदा आफुमा हुने थप जिम्मेवारीलाई केही हलुका महशुस मैले गरेको थिए । पटकपटकका शैक्षिक अवलोकन भ्रमण र प्राप्त जिम्मेवारीहरुले मलाई भ्रमणको कामलाई नजिकबाट चिन्ने अवसर दिएका थिए । जस्का कारण भ्रमण भन्ने शब्द मेरा लागी त्यत्ती सजिलो थिएन । विद्यार्थीहरुलाई जाम जानुपर्छ । म साथमा हुन्छु । भन्नू र अभिभावकसंग आग्रह गर्नु जति सजिलो हुन्छ । त्यति सजिलो भ्रमणमा हुँदैन । गन्तव्य विन्दुदेखी यावत् स्थानमा समस्यै समस्या हुन्छन् । अहिलेका केटाकेटीहरु स्वभावैले स्वतन्त्र हुन चाहान्छन् । त्यस्मा पनि प्राइभेट बोडिङ स्कुलको कडा अनुशासनमा रहेका उनीहरु भ्रमण, वनभोज र अन्य कार्यक्रममा सोचेभन्दा ज्यादा अन्र्तमुखी र स्वतन्त्र बनिदिन्छन् । यसर्थमा पनि प्रिन्सिपल सरको आगमनले मेरो मनमा थप सहजता महशुस भएको थियो ।

भ्रमण दलमा सहभागी विद्यार्थीहरुको खुशीयाली र निकट भविष्यको उल्लासपुर्ण चाहलाई औपचारिक मान्यता दिन न्यू एभरेष्ट एकेडेमी रामरेखा १ बागलुङ शैक्षिक अवलोकन भ्रमण लेखिएको ब्यानरलाई गाडीको अग्र भागमा टाँसियो र गाडीलाई अनिवार्यता मानी सामुहिक तस्बीर खिचेपछि हाम्रो यात्राले नयाँ मोड लिएको थियो । बालबालिकाहरु बढ्दो उमेरसंगै उच्श्रृखल हुन्छन् । विद्रोही र घमण्डीपनले गालेको हुन्छ । उनीहरुलाई वशमा राख्न सकिदैन भन्ने सोच्नु नादानी हुन्छ । उनीहरु जत्ती समस्याग्रस्त हुन्छन् त्यतिनै संवेदनशिन, मायालु र करुणामय पनि हुन्छन् । उनीहरु छलकपट र अतिआदर्शवादलाई रुचाउदैनन् । निहित स्वार्थ र भलाद्मीपनका विरुद्ध जस्तोसुकै तर्क गर्न पनि पछि नपर्ने उनीहरु स्वतन्त्रताका पुजारी हुन्छन् । किनकी उनीहरुलाई निर्भयताको मार्गमा सत् प्रेरणा प्रदान गर्न सकेमा उनीहरुबाट जुनसुकै अपेक्षा पुर्ण गर्न सकिन्छ । सधैं गुरुचेलाको दुरिमा रहेका विद्यार्थीहरुलाई भ्रमणको अवधिभर हामीहरुले मित्रवत् व्यवहार देखाएर स्वतन्त्र वातावरण प्रदान गरेका थियौं । जस्का कारण उनीहरुले मानसिक रुपमा उत्पन्न भावना र संवेगहरुलाई बुलन्द पार्ने जमर्को गरेका थिए । गाडीको पछाडिबाट उत्पन्न मिहिन स्वरहरुले स्वतस्फुर्त मार्ग खोजीरहेका बेला भुमिराज सर र मेरो समसाथ पाएपछि दोहोरीका भाकाहरु उच्चरित हुन थाले । अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उपयुक्त समय पनि यस्तै स्वतन्त्र पर्व हुन भन्ने मेरो भावनामा सबै जना सहमत भएको भान मलाई भइरहेको थियो । निश्चल अधिकारी र सुसान खत्रीका प्रस्तुतिका विरुद्ध सायुज थापाको मन जागृत हुँदा गाडीमा निकै तरङ्गित माहोल पैदा भएको थियो । स्वतन्त्र अभिव्यक्तिका माध्यमबाट उत्पन्न माहोलमा केही बहिनीहरुले पनि साथ दिएपछि उनीहरु भित्र रहेको प्रतिभाले फुल्ने र फक्रने अवसर पाएको अनुमान गर्न सकिन्थ्यो । यसर्थ पनि बालबालिका इश्वरका निर्विकार सत्य हुन् । उनीहरुको मनोभावनाको कदर स्वरुप उपयुक्त वातावरण र व्यवहारले सम्बोधन गर्न सके भोलिको पुस्ता उदारणिय बन्ने अवश्य प्रायः छ । तसर्थ शैक्षिक क्षेत्रमा यस्ता अवसर र कार्यक्रमको आयोजना गरि बालबालिकाको भविष्य फराकिलो बनाउनु आवश्यक हुन्छ ।

जमिनबाट करिब पाँच फिट उचाइमा रहेका सुसज्जित सिट, सामग्रीले भरिएका ब्यागहरु दायाँबायाँका क्याविनमा भरिएका थिए । बागलुङ्गे गायक बसन्त थापाको स्वरमा रहेको ‘बागलुङ बजारमा बाघको शालिक’ बोलको गीत बजेसंगै विद्यार्थीहरुको रौनकता प्रस्फुटित हुन थाल्यो । अन्तिममा रहेका विद्यार्थी भाईहरुको स्वतन्त्र कलाप्रदर्शनले हामी सबैलाई रोमाञ्चक तुल्याएको थियो । मादलको तालमा रमाएका विद्यार्थीहरुले भरिभराउ हाम्रो गाडीले बागलुङ कालिकालाई दाहिने पारेर मालढुंगाहुँदै पर्वतको कुस्मा बजारतर्फ लागेपछि हाम्रो भ्रमणले थप गति लियो ।

मोदी खोलाको किनारै किनार डिमुवासम्म पुग्दा झिसमिसे उज्यालो बाँकी थियो । चराचुरुङ्गीहरुले गुडमा जाने तर्खर गरिरहेको देख्दा सन्ध्याकालको आभास भएको थियो । विद्यार्थीहरुको रौनकताभित्र रमाइरहेका हामीलाई सडक छेउमा रहेका पसलमा बत्ती बलेको देखेपछि मात्रै अँध्यारोको अनुभुति हुनु स्वभाविक थियो । लगत्तै केही समय हिंडेपछि विद्यार्थीहरुको भोक मेटाउन चाउचाउ र पानीसंग साक्षात्कार गराइयो जसबाट उनीहरु प्रसन्न भए । बर्षा ऋतुको बहिर्गमन र शरद ऋतुको आगमनले मौसम न गर्मी र जाडोको दोसाँधमा थियो । कास्कीको लुम्ले र काँडेमा हामीलाई केही जाडोको अनुभव भए पनि गाडी बिस्तारै तराइमा प्रवेश गर्दा जाडोको महशुस हुन छाडेको थियो । भ्रमणको पहिलो रात्रीलाई उमङ्गमय वातावरणमा कटाइ रहँदा खाना खान तनहुँको छबिसेस्थित संगम होटेलमा पुग्दा १० बजेको थियो ।
….बाँकी आगामी आइतबारको अंकमा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->