मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

इलामको यात्रा–२

इलामको यात्रा–२


  • माधव चापागाई
  • पुष १ २०८०, आइतबार

…समयको माग भ्रमण भनेपछि छुट्टै उत्साहका साथ त्यहाँबाट पुनः गाडीले नारायणगढको बाटो समात्यो । केही समय रोमाञ्चक शैलीमा नाचगान गरिरहेका विद्यार्थी भाईहरुलाई निद्रादेवीले आक्रमण गरेर होला गाडीले शान्त वातावरणमा गुड्न पाएको थियो । बाटोमा रहेका सडक बत्ती, आसपासमा देखिने विद्युतिय विज्ञापनका होडिङ बोर्ड र घरहरुमा जडान गरिएका दशै तिहार विशेष बत्तिहरुले बाहिरी दृश्यमा सपनाको शहर भनौं या कुनै नयाँ शहरमा पुगेको भान हुन्थ्यो । सबै जना सुतेर निदाए पनि हामीसंगै बसेका भुमिराज सर र म आफ्नै लयमा कुराकानीमा मग्न थियौं । जस्को कारण रातको समय भए नि हामी गाडीभित्र र बाहिरको परिवेशसंग परिचित नै थियौं ।

बिहान जनकपुर धाममा दर्शनार्थीको परिचय बनाउन पुग्ने उद्देश्य अनुरुप हामी निरन्तर अगाडि बढ्यौं । चितवन र मकवानपुर जिल्ला कटेपछी पुर्वपश्चिम महेन्द्र राजमार्गले नछुने तराईको एक मात्र पर्सा जिल्लालाई दाहिने छाडेर बारा हुँदै रौतहट पुगेर तात्तातो चिया पियौं र पुनः जनकपुरको यात्रामा जुट्यौं । सर्लाही र महोत्तरी जिल्लाका समथर भुभागमा बनेका भौतिक संरचना र त्यहाँको वस्तुस्थिति निक्कै भिन्न थियो । बाटोको छेउछाउमा निर्माणाधीन र निर्माण सप्पन्न घरहरु सुक्ष्मातिसुक्ष्म आकारमा देखिन्थ्ये । पहाडमा उद्गमस्थल भइ तराइको बाटो भएर भारततर्फ बहने नदीहरु माथी बनेका पुलहरु देख्दा सम्पन्न देशको झल्को आउथ्यो । तर तिनै नदि किनार र आसपासमा बनेका संरचनाहरुले तराइलाई भिन्न परिचय दिए जस्तो लाग्थ्यो । खुल्ला प्रकृतिको पहिरन र परम्परागत चलनचल्ती देख्दा अशिक्षा, गरिबी र रुढीवादी जीवन शैलीको झल्को दिन्थ्ये ।

रातभरको यात्रालाई बिट मार्ने समय पर्खिएका हामी गाडीले धनुषा जिल्लामा प्रवेश पाएलगत्तै केही नयाँ अनुभुतिका साथ धारापानी बजारमा झर्यौं र छोटो समयमै नित्यकर्म सकेर मन्दिर दर्शनका लागि तयारी भयौं । निर्माण कार्यका लागि ९ लाख लागेकाले नौलखा मन्दिर भनेर चिनिने विशाल प्राङ्गणसहित कलात्मक रुपमा निर्माण गरिएको मन्दिर निकै सुन्दर थियो । त्यहाँको पौराणिक र पुरातात्विक महत्वको बोधले विद्यार्थीमा नयाँ भाव पैदा गरेको अनुमान गर्न सकिन्थ्यो । मुख्य मन्दिर, रामसिताको विवाह मण्डप, जनक राजाका कुल देवताको मन्दिरसहित धनुषा बजारको परिभ्रमणले करिब १५÷१६ घण्टाको हाम्रो यात्रा र थकानलाई निस्तेज पारिसकेका थिए ।

दोस्रो दिन बिहान धनुषाकै लालगढस्थित सुशान्त होटेलमा खाना खाएपछि हामी कोशी ब्यारेजतर्फ अगाडि बढ्यौं । बाटोमा पुरानो बाजेको पेडा पसलहरु रहेछन् । सबैजसो एक समान देखिने पेडा पसलमा दुधबाट बनेका पेडाहरु पाइदा रहेछन् । विद्यार्थीहरुको आग्रहमा फर्किदा त्यहीँबाट पेडाहरु किनेका थियौं । नेपाल र भारतको सीमाक्षेत्रमा बनेको बाँध अर्थात् कोशीब्यारेज सप्तरी र सुनसरी जिल्लाको बीचमा पर्दोरहेछ ।

भारतिय पक्षको सर्वाधिकार हुने गरि निर्माण गरिएको ब्यारेजमा पुग्दा घमाइलो मौसम तयार भएको थियो । ब्यारेजमा ५६ वटा ढोका रहेछन् । सन् १९६२ मा निर्माण सम्पन्न ब्यारेज नेपालमा रहेता पनि भारतीय अधिकारीहरुद्वारा नियन्त्रित हुने हुँदा बाढी, पहिरो र विपतजन्य समस्यामा नेपाली भूमी जलमग्न हुने र नागरिकहरुले दुख पाउनुका साथै धनजनको क्षती हुने गरेको रहेछ । यसरी कोशी ब्यारेजको अवलोकनका साथमा केही थान तस्वीर खिच्ने र ऐतिहासिक विषयवस्तुको जानकारी लिने कार्य सकिएसंगै हामी इटहरीतर्फ लाग्यौं । साँझ इटहरीको पाथीभरा होटेलमा बस्ने तयारी गरिरहेका हामी त्यहाँ पुगेर शरीरलाई बिसाउन आतुर थियौं । होटेल सम्पन्नताले पुर्ण र आलिसान रहेछ । भब्य रुपमा सुसज्जित होटेलका सबै कोटाहरु सुविधा सम्पन्न थिए । आधुनिक प्रविधिको समुचित उपयोग गरिएको त्यस होटलमा हरेक कोठामा एसिका साथै तलमाथि आवतजावतका लागि लिफ्टको समेत व्यवस्था थियो । भने खानपान र अन्य सुविधाका हिसाबले हामीलाई होटलले सन्तुष्ट तुल्याएको थियो । तसर्थ चौथो रातको बसाईलाई पनि होटेल बुकिङ गर्यौं ।

पुर्वी नेपालको सुन्दर नगरी भन्दा अन्याय नहुने इटहरी बजारलाई पुनः भेट्ने बाचाका साथ तेस्रो दिन सबेरै इलामतर्फ लाग्यौं । सुनसान सडक, शान्त वातावरण, सडक बत्तिको उज्यालोमा देखिएका बन्द सटरहरुको लामलस्कर भित्रबाट गाडीले हामीलाई एकपछि अर्को बजार क्रमशः सुन्दर दुलारी, बेलबारी, पथरी बजार, उर्लाबारीबाट केहीबेर जंगलको बाटो हिंडेपछि झिलझिले, सतासी धाम, दोमुखाहुँदै बिर्तामोड पु¥यायो । करिबन ४ घण्टाको यात्रापछि गोलाकार भूगोलमा बसेको बिर्तामोड बजारमा जेरिपुरी र तरकारीले भोक मेटाएपछि अनिश्चित जिन्दगीमा निश्चित उद्देश्यको चाह पूरा गर्ने लक्ष्य लिएर चिया बगान हेर्ने उत्कट इच्छालाई पुर्णता दिन अगाडि बढ्यौं । गाडीले महेन्द्र राजमार्गलाई चारआलीबाट दायाँ छोडेर मेची राजमार्गको बाटो समातेपछि हाम्रो गन्तव्य विन्दुले पुनः स्वागत गरेको आभास भएको थियो । समथर मैदानमा रहेको बर्ने चिया बगानको सुन्दरतालाई केही समय समसाथ दिएर सुनामाईहुँदै जोरकलशबाट उकाली लाग्दा पहाडी क्षेत्रको चौफेरो घुमेझै लागेको थियो । साँघुरो बाटो, हाम्रै पहाडी शैलीका आवधिक जग्गा र भौतिक संरचनाको अवलोकन गर्दै हाँस पोखरी, हर्कटे बजार र सानो पाथीभरा मन्दिरको प्रवेश पार्कमा पुग्दा १२ बजेको थियो ।

सयपत्री फुलहरुले सजिएको पार्कसंगैको कलात्मक पोखरी आसपासमा केही समय टहलिएर फोटाहरु खिच्यौं र आधा घण्टाको पैदल यात्रा पश्चात् पाथीभरा मन्दिरको दर्शन पायौं । ताप्लेजुङमा पुग्न असमर्थ हुनेका लागि इलाममा रहेकी पाथिभरा माताले आशिर्वाद प्रदान गरुन् भन्ने कामना गर्दै हामीहरु जंगलको बाटो ओरालो झरेर खाना खाने तयारीका लागि होटेलतर्फ लाग्यौं । कन्यामको चियाबारीमा दृष्टि दिदै भोक मेटाएपछि हामी कन्यामको मुख्य बगानतर्फ आकर्षित भयौं । हाम्रो अन्तिम प्रतीक्षाको घडी कन्याम पुग्दा दिनको ३ बजेको थियो । केही ढल्के परेका सुर्यले हामीलाई छड्के नजर लगाएर हेरिरहेका थिए । छर्लङ्ग उज्यालो पर्दामा देखिएका सुर्यले नजिकैबाट उर्जा प्रदान गरेको अनुभव हामीले गरेका थियौं । चिसो सिरेठोभित्र चिया बगानमा विद्यार्थीहरु रमाइरहेका थिए । हुन पनि भ्रमणको केन्द्र बिन्दु एवं उनीहरुको खुशीको उत्कर्ष स्थानमा नरमाउन पनि कसरी ? त्यसमाथी त्यति सुन्दर स्थानको सौन्दर्याताभित्र कस्लाई रमाउन मन नलागोस् ।

यत्तिकैमा पृन्सिपल सरले जातीय पोसाकमा फोटो खिच्ने र चियामैत्री कार्य गर्न रुचाउने विद्यार्थीहरुलाई प्रवन्ध मिलाउदै हुनुहुन्थ्यो । हामीहरुले अन्य विद्यार्थीहरुलाई लिएर भ्युपोइन्टतर्फ अगाडि बढ्यौं । सन्ध्या कालले आक्रमण गर्दै गरेको प्रकृतिमा हामीहरु रल्लिरहेका थियौं । उता सर म्याडमहरु जातीय पोशाकमा सझिनु भएछ । चिया बगानमा उहाँहरूलाई फोटो खिच्दै र रमाउदै गरेको देखेपछि उहाँहरूको सोखका बिच भुमिराज सरले घोडा सवार गरौं भन्नुभयो । उहाँको आग्रहलाई स्विकार गरेर म पनि तयारीमा जुटेँ । अन्ततः कन्यामलाई घोडा चरेर एक फन्को लगायौँ र हाम्रो त्यस दिनको यात्रालाई सुर्योदय होटेलमा बिसायौं । फिक्कल बजारको परिक्रमालाई भोलिपल्ट साचेका हामीले चौथो दिन बिहान त्यहीँबाट सुर्योदयको अनुपम दृश्य नियाल्यौं । भने, केही समय स्थानीय उत्पादनलाई उपहार र चिनो स्वरुप किनमेल गरि खाजा खाएर विराटनगरतर्फ लाग्यौं ।

हाम्रो विद्यालयसंग समन्वय सम्बन्ध स्थापित गर्ने पुर्वी नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य एभरेष्ट सेकेण्डरी स्कुल सुन्दर र विद्यार्थीमैत्री रहेछ । त्यस विद्यालयमा करिब २५०० विद्यार्थीले अध्ययन गर्दा रहेछन् । सिँगारिएका कक्षा कोठा, खेल मैदान, बाल उद्यान, आधुनिक प्रविधियुक्त कम्युटर कक्षा, साइन्स ल्याब र पौडी खेल्नका लागि तयार पारिएको कृत्रिम ताल अनुकरणीय थिए । केही समय विद्यालयका शिक्षक शिक्षिकाहरुसंग त्यहाँको वस्तुस्थिती र वर्तमान शैक्षिक गतिविधिका विषयमा भलाकुसारी गरेपछि त्यो आकर्षक विद्या कुन्जबाट बिदा भयौं र धरानतर्फ लाग्यौं ।

पछिल्लो स्थानीय निर्वाचनमा बालेन शाहपछि लोकप्रिय बनेका हर्क साम्पाङको पालिका वास्तवमै सुन्दर र विकसित रहेछ । चिल्ला र चौडा बाटाहरु, स्वच्छ पर्यावरण भित्रका मानव बस्ती निकै आकर्षक देखिन्थ्ये । पर्यटकिय दृष्टिले भरिपूर्ण त्यस क्षेत्रमा रहेका प्रमुख शक्तिपिठहरु बुढासुब्बा र दन्तकाली माताको दर्शन पश्चात् विद्यार्थीहरुलाई इटहरी बजारमा किनमेलसहित अवलोकनका लागि फूर्सदिलो समय उपलब्ध गराउदै त्यो दिनको भ्रमणलाई पनि पुर्णता दियौं । भ्रमणको अन्तिम चरण अर्थात् पाचौं दिनको बिहान सबेरै पाथिभरा होटेलको गगनचुम्बी भवनसहित पुर्वी नेपाललाई बिदाईका हात हल्लाउँदै सर्लाही जिल्लामा निर्मित बागमती ब्यारेज र भरत तालको अवलोकनमा केही समय खर्चियौं । साइकलिङ, पानी जहाज सवार र अन्य मनोरञ्जनात्मक वातावरणमा नयनहरुलाई डुलाउदै इलामको सिरेठो र तराइको गर्मीलाई त्यही बिसायौं । यसरी विद्यार्थीहरुका बिच पाँच दिने स्वतन्त्रताको दुनियाँमा भुल्दै भुलाउदै नारायणगढ, पोखराहुँदै बागलुङ फर्कियौं । इलामको यात्रालाई अन्तर्मनदेखि मानसपटलसम्म अविस्मरणीय सुचिमा सुचिकृत गर्दै त्यो परिवेश जीवन्त रहने पुर्वानुमान म गरिरहेको छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->