गोरखा / भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका धार्चे गाउँपालिका-५ का रामबहादुर गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइते गुरुङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको हो ।
खच्चड लिएर फर्कने क्रममा चुमनुव्री गाउँपालिका-५, विहिस्थित प्रान्द्राङको भिरबाट खसेको ढुंगाले लागेर ३५ वर्षीय गुरुङ घाइते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए । खुट्टा भाँचिएको तथा अन्य भागमा समेत चोट लागेर गम्भीर घाइते गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
गुरुङ भिरबाट झरेको ढुंगाले लागेर बाटोबाट करिव ५० मिटर तल खसेका थिए । विहिमा रहेको स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात गुरुङलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । घाइते गुरुङको उद्धारका लागि प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईंले समन्वय गरेका थिए ।
ढुंगाले लागेर भिरबाट केही तल खसेका गुरुङलाई स्थानीय र खच्चड व्यवसायीले उद्धार गरी स्वास्थ्य चौकी पुर्याएको चुमनुव्री-५ का वडा अध्यक्ष कालेन छेवाङले बताए । ‘विजमको स्टेसनमा उहाँले लिएर गएको खच्चड पुगेछ, मान्छे नपुगेपछि खोज्दै जाँदा उहाँलाई बाटो मुनी घाइते अवस्थामा भेटेर स्वास्थ्य चौकी ल्याउनुभएको रहेछ,’ उनले भने ।
सडक सञ्जाल विस्तार नहुँदा चुमनुव्री गाउँपालिकामा गम्भीर प्रकृतिका बिरामीलाई हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौं लैजानुपर्ने बाध्यता छ । निषेधित क्षेत्रको रुपमा रहेको चुमनुव्री गाउँपालिकामा हेलिकप्टर उडानका लागि समेत अनुमति लिनुपर्ने प्रावधान छ ।





