मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

शून्य परिवर्तनमा नेपाली

शून्य परिवर्तनमा नेपाली


  • माधव चापागाई
  • पुष ९ २०८०, सोमबार

नेपाल दक्षिण एशियाको मानचित्रमा अफगानिस्तान पछिको जेठो र अत्यन्त पुरानो देश मानिन्छ । विकासोन्मुख देशको सुचिमा सुचिकृत नेपाल प्राकृतिक, धार्मिक र साँस्कृतिक सम्पदाले सम्पन्न देश हो । विश्वका अग्रदुत गौतम बुद्ध र सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपाल भुपरिवेष्टित राष्ट्र हो । नेपाल दुई सम्पन्न मुलुकहरू भारत र चिनको बिचमा रहेको छ । यहाँको प्राकृतिक सम्पदा, जलस्रोत, खनिज र अन्य वस्तुहरुको संरक्षण, संवर्धन र उत्खनन गर्न सके आफैंमा सम्पन्न बन्ने निश्चित छ । देशभित्रको सम्पत्तिलाई चिन्न नसक्नु, पराइको हारगुहारमा आयातित वस्तुहरुको प्रयोग गरेर विलाशी बन्नु, दक्ष जनशक्तिको बहिर्गमनलाई रोक्न नसक्नु, परिवर्तन स्वचालित प्रक्रिया हो भन्दै यथास्थितिवादी सोच राख्नु, सरकार र मातहतका निकायहरु स्वार्थी बन्नु, सरकार सञ्चालन महंगो बन्नु, संघीय प्रणालीमा भएको आर्थिक भारले जनता थिचिनु जस्ता कारणले गर्दा नेपालले शुन्य परिवर्तनको गतिमा हिडेको बुझ्न सकिन्छ ।

परम्परागत रूपमा भएको रूप, अवस्था र गुणलाई अर्को स्थितीमा बदल्ने वा रूपान्तरित गर्ने प्रक्रियालाई परिवर्तन भनिन्छ । परिवर्तनलाई दुई प्रकारमा वर्णन गर्न सकिन्छ । एकप्रकारको परिवर्तन आफैंमा स्वतः परिवर्तित हुन्छ । त्यो समय र परिस्थिति अनुरुप फेरबदल हुन्छ । यसलाई न कसैले परिवर्तन गर्छु भनेर हुन्छ । न रोक्न नै सक्छ । अर्को परिवर्तन देखासिकी, परिष्कृत चाहाना, भविष्यको सुरक्षणार्थ एवं भावी पुस्ताका लागि उपयोगी हुने परिवर्तन हुन्छ । जसलाई देशभित्र रहेका स्रोतसाधनको समुचित प्रयोगबाट गर्न सकिन्छ ।

नेपालमा परिवर्तनको भोक नजागेको चाहिँ अवश्य होइन । बाइसेचौबिसे राजाहुँदै राणा शासनको समयमा आइपुग्दा नेपालले छुट्टै अस्तित्व पाएको थियो । वर्तमानको परिवर्तनसंग तुलना गर्ने हो भने अहिले अत्याधुनिक प्रविधिले युक्त समयमा गरिएको परिवर्तन त्यति बेलाको भन्दा शुन्यतामै छ भन्दा अन्याय नहोला । विभिन्न समयमा भएका परिवर्तनका आन्दोलन प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र लगायतका शासन व्यवस्थाले पनि राजा र राणाहरुको स्थान लिन सकेका छैनन् । सर्वसाधारण जनता झुटा आश्वासनमा भुलिरहे । सामन्ती शासकहरुले एकपछी अर्कोलाई दोषदोषारोपण गर्दै समृद्धिको नारा लगाइ रहे । तर जनता जहाँको त्यहीँ रहे । ढुंगा कुट्ने, बालुवा चाल्नेदेखि लिएर मध्यमवर्गीय जनताले शान्तिको श्वास कहिल्यै फेर्न पाएनन् । सर्वसाधारणलाई मिठामिठा सपनाको चंगुलमा फँसाएर गाउँमा चप्पल पड्काउदै क्रान्तिका स्वरहरु फुक्न लगाउनेहरु सत्तासिन भए । तिनै जनताको नाम थर नचिन्ने भए । यसरी नेताहरूले आफ्नो स्वार्थ पूर्तीका लागि गरिबको जीवनलाई खुड्किला बनाउनु नाजायज थियो ।

परिवर्तनले पुरानो स्वरुपलाई नयाँ स्वरुपमा परिष्कृत गर्ने सामथ्र्य राख्छ । नेपालमा युगानुकुल परिवर्तन भए पनि घोषित र उद्देश्य उन्मुख परिवर्तन भएको पाइदैन । ‘हुने खानेलाई मुख भरी नहुनेलाई आँखा वरिपरि’ भन्याझै सत्ता पक्षलाई सबथोक छ । उनका आफन्त, इष्टमित्र सबैको राज चल्या छ । नहुनेको चुलोले आगो समेत देख्दैन । विपक्षले बिरालोले अगेनो कुरेझै पालो पर्खिरहेका छन् । ‘काला गए गोरा आउछन्’ भन्याझै एकपछि अर्को राजनेताको पालो आइहाल्छ । जनताको रोजीरोटी कसैले खोजेनन् । गरिब जनता आफ्ना लालाबालाको खुशी किन्न विदेशी भुमीमा रगत र पसिना बगाइरहेका छन् । छाना, माना र नानाको आवस्यकता अनि नेपाली हुनुमा गर्व गर्दै त्यही नेपालीपनको लाज छोप्न विदेशको बाटो लागेका प्रदेशी दाजुभाइ, दिदिबहिनीहरु कति अलपत्र छन् । त कति बाकसमा आउँदा समेत टुलुटुलु हेरेर बस्ने सरकारलाई भोट दिन तम्तयार यी हातहरु किन काप्दैनन् ? किन अझै तिनै दलका झण्डा बोकेर हिंड्दै छन् जनता अनौठो लाग्छ । वृद्धहरु लौरो टेकेर किन मतदान स्थलमा जान्छन् । जुन व्यवस्थाले आफैलाई झुक्यायो । युवा जनशक्तिलाई विदेश पलायन गरायो, आफ्नै छोराछोरी, नातिनातिना र इष्टमित्रलाई विदेशीको गुलाम बनायो । नेपालीको गरिब थाप्लोमा खरबौंको ऋण बोकायो । धार्मिक, सांस्कृतिक, भौगोलिक र जातिय द्वन्द निम्त्यायो । हजारौं नरनारिको सिंदुर पुछ्यो । कैयौं बालबालिकालाई अनाथ बनायो । गाउँमा चेतनाको ज्योति बाल्ने शिक्षक, पण्डित र बुद्धिजीवीहरुको मृत्युवरण गरायो । हाम्रा पुर्खाहरुको स्वाभिमान र उनीहरुको गौरव गुमनाम पार्यो । एकीकरणका नायक पृथ्वीनारायण शाहले आर्जेको मुलुकलाई सात टुक्रा पारेर लुट्यो । पुर्वमा तिष्टा र पश्चिममा कागडा भनेर नारा लागाउने राष्ट्रभक्त नेपालीहरुलाई सहिदको टिको लगायो । राजाले स्थापना गरेका सयौं उद्योगधन्दा कलकारखानाहरु बन्द गराएर नेपालीहरुको अस्तित्व माटोमा मिलायो । के यहि व्यवस्था सहि छ ? के सर्वहारा वर्गको नारा लगाउनेले सर्वहाराको मन बुझे ? आखिर किन बुझ्दैनन् नेपालीहरु ? परिवर्तन कहाँ छ ?

त्रिचन्द्र कलेजको स्थापना गरेर ‘मैले आफ्नो खुट्टामा आफैं बन्चरो हाने’ भन्ने चन्द्रशमसेरभन्दा अहिलेका शासक जटिल मोडमा उपस्थित भएका छन् । उनले भने पनि कलेज स्थापना गरे तर अहिलेका शासकहरुले शिक्षित युवायुवतीलाई विदेश पठाएर वृद्धवृद्दामाथी शासन गरिरहेका छन् । राजाले जनताको भलो चाहान्थे । सदाशयताले पुर्ण थिए । उनको रवाफ नरुचाउनेहरुले सर्वसाधारणलाई परिवर्तनको आशा देखाएर सत्तामा पुगे, तर आफ्नो स्वार्थपुर्ती पछि जनताको बलिदानी बिर्सिए । आफन्तका अनुहारमा मात्रै खुशी खोजे । सर्वसाधारणको जीवनस्तरमा परिवर्तन शुन्य भयो ।
चाहे २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलन होस् या ०४६ र ०६२÷६३ को जनआन्दोलन नै किन नहोस् । यी सबै लडाइँ लडाइँ नै होइनन् । यी त नेपाली नेपालीका बीचमा विद्वेष फैलाएर सरकारलाई कमजोर बनाउने खेल मात्रै रहेछन् । सत्ता प्राप्तिका लागि रचिएका प्रकाण्ड रहेछन् । छद्मभेशधारी नेता आफू अगाडि जान सर्वसाधारणको बलि चढाएका रहेछन् । कहिले प्रजातन्त्रका नाममा खाए । त कहिले गणतन्त्र र लोकतन्त्रका नाममा खाए । किनकी यिनीहरुका नारा सदावहार एउटै छन् । प्रजा, गण र लोक शब्दको अर्थ जनता हुन्छ । भने तन्त्र भनेको शासन हो । अथ्र्याएको र अर्थिएको एउटै हो । यहीँ शब्द र अर्थ उनीहरुको भाषामा जनताको शासन हुन्छ तर जनताको शासन कहाँ छ ? भोका, नाङ्गा, उत्पीडित, गरिब, बेरोजगार जनताका लागि कहाँ छ शासन ? दैनिक हजारौं जनता विदेशिएका छन् । आखिर वर्षौंदेखि खोजिएको शासन यहीँ हो ? दक्ष जनशक्ति जति बाहिर, रोगी, वृद्ध, असहाय, अशक्त, बालबालिका, महिला र दुइचार जना आफ्ना कार्यकर्ता माथिको शासन कहिलेसम्म ?

२०६३ सालमा राजतन्त्रलाई पन्छ्याएर गणतन्त्र ल्याएका जनताले कुन पापले आजको अवस्था खेप्दै छन् ? राजाले स्थापना गरेका उद्योगधन्दा कलकारखाना बेच्नका लागि जनताले कांग्रेस, एमालेलाई भोट दिएका हुन् । या जंगलमा रुमलिएको माओवादीलाई सिंहदरबार पुर्याएका हुन ? ठुला राजनैतिक दलहरूले प्रगतिका नाममा के के गरे कस्ले खोज्ने ? के यिनको दसकौं सम्मको नेतृत्वले नेपाललाई यहि स्थितिमा दुर्गन्धित बनाइ रहने हो ?

परिवर्तनका नाममा जुनसुकै नेता र राजनैतिक दलले आवाज उठाए पनि आखिर जनताको दुख ज्युकात्यु छ । गरिबहरुले आफ्नो रोजिरोटी कहिल्यै पाएनन् । समयमा किसानले मल र विद्यार्थीले पाठ्यपुस्तक पाउनु भन्ने किंवदन्ति उस्ताको उस्तै छ । तराईका किसानले उखुको मूल्य पाउदैनन् । रुकुम रोल्पा र जाजरकोटमा नुन पुग्दा धनको खोलो लाग्छ । महंगीले दिन दुइगुणा रात चौगुणाका दरले आकाश छुदो छ । हिउँदे बाटाघाटाले बर्खामा भेल तर्काउन सकिरहेका छैनन् । जनस्वास्थ्यको कुरै नगरौं नेताका आसेपासेहरुको भर्ती केन्द्र बनेका हस्पिटलहरुमा जनताको रोगले डाक्टर नै भेट्दैन । खानेपानी, सिचाइ, कुलो, कृषि उपज सामग्री वितरण लगायतका सुक्ष्मातिसुक्ष्म विषयमा समेत भ्रष्टाचार हुन्छ ।

संघीयता आएपछि हामी जनताले सुख पाइन्छ । राज्य संयन्त्र र उस्का कामहरू पारदर्शी हुन्छन् भन्नू बेक्कार रहेछ । सुन चोर्नेलाई सुनैले चोख्याउने यो देशमा नुन चोर्नेलाई कानुन लाग्छ । यहाँ मानिसका आधारभूत आवस्यकता माथी नै छरपष्ट राजनीति हुन्छ । शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीमा हुने बेतिथीले देशमा वितण्डा मच्चिएको छ । राजनीतिभन्दा बाहिरका जनतालाई बिहान बेलुकी हातमुख जोर्न सकस हुँदै छ । चोरीपैठारी गर्नेहरुको राज चलिरहेको छ । त्यसैले त हामी शून्य परिवर्तनमा छौं ।

उदार नीतिका नाममा बन्द गरिएका र माओवादी जनयुद्धमा विस्तापित उद्योगधन्दा र कलकारखानाहरुको पुर्नस्थापना गरेर गरिबी, बेरोजगारी र महंगाईको भूमरीमा पिल्सिएका जनतालाई खुशी दिनु नै राष्ट्र सेवा र समृद्धिको मार्ग अवलम्बन गर्नु हो । भ्रष्ट राजनीतिको फेरोमा नैतिकता, अनुशासन, बुद्धिविवेक र सत् कर्म घुमिरहेका छन् । सिद्धान्त नै बिर्सिएर राजनैतिक कुकर्ममा जुटेका नेताहरु भागबन्डाको खालमा मग्न छन् । स्थानीय जनप्रतिनिधिदेखि राज्य संचालनको बागडोर सम्हालेका मन्त्रीहरु नै राजनैतिक दुर्गन्धमा रुमलिएका छन् । यहि नियति र दुषित कर्मका कारण धर्म संस्कृतिमा ठूलो विचलन आएको छ । राजनैतिक नेतृत्व सत्ता प्राप्तिको खेलमा धर्म निरपेक्षताले दोसल्ला ओडेर रमाइरहेको छ । असत् कर्मको वर्चस्व बढिरहदा परिवर्तन भने शुन्य छ ।

संघीयताको खर्च धान्न कठिनाइ भएको छ । स्थानीयदेखि संघीय सरकार संचालनका काममा अनियन्त्रित भावहरु स्पष्ट देखिएका छन् । विकास निर्माणका कार्यहरु ठप्प छन् । देशले रेमिट्यान्सको वैशाखी टेकेर स्वाभिमान ढल्काइरहेको छ । सरकार चलाउने निहुँमा नाजायज करका शिर्षकहरुले मान्यता पाएका छन् । लाखौं नेपालीहरु विदेश गएर नेपालको अर्थतन्त्र धान्नुपरेको छ । वृद्धवृद्धाहरु रित्तो कोख सुम्सुम्याइ रहेका छन् । यो जस्तो विडम्बना अरु के नै हुन सक्छ र ? यहि स्थितिले समाजमा हत्या, हिंसा, बलात्कार, चोरी र व्यभिचारका घटनाहरु उत्पन्न भैरहेका छन् । जस्का कारण सदाचार दिउसैं टुकी बालेर खोज्नु पर्ने बेला आएको छ ।

यी सबै बेतिथीको अन्त्य गरि कानुनी राज्यको प्रत्याभूत गराउनु आजको आवस्यकता हो । जनताका समस्या आन्तरिक धरातलमा पुगेर बुझ्नु र तिनको समाधान गर्नु राज्यको कर्तव्य ठह¥छ । राष्ट्रमाथी कुदृष्टी लगाउने, राजनैतिक पृष्ठभूमिमा जनता र देशलाई ठग्ने, घुसखोरी गर्ने र राष्ट्रको स्वाभिमानमाथी अंकुश लगाउने जोकोहीलाई पनि कार्बाहीको दायरामा ल्याउन सके अबको केही समयमा केही परिवर्तन होला । अन्यथा जुनसुकै तन्त्र ल्याए पनि परिवर्तन शून्य हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->