पोखरा/ अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) ले आयोजना गर्ने सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
रेवानको आयोजनामा पोखरा लेकसाइडमा हुने सडक महोत्सवको २५ औं संस्करण बिहीबारदेखि हुँदैछ । पाँचदिनसम्म चल्ने महोत्सवमा करिब पाँच लाख दर्शक भित्र्याउने लक्ष्य रेवानले लिएको छ ।
मंगलबार महोत्सवको अन्तिम तयारी बारे जानकारी दिन आयोजित पत्रकास सम्मेलनमा बोल्दै रेवान अध्यक्ष नरेश भट्टराईले तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् । उनले महोत्सवलाई लोकप्रिय बनाउनका लागि विभिन्न प्याकेजसहित प्रचार प्रसारलाई तीब्र पारेको समेत सुनाए । अघिल्लो वर्षसम्म कोरोना महामारीका कारण चाहेर पनि पाहुना पोखरा आउन नपाएको र अहिले भने अवस्था सहज भएकाले बढी पाहुना आउने अपेक्षा रहेको बताए । उनका अनुसार महोत्सव लक्षित गर्दै पयर्टकको आगमन तथा होटल बुकिङ सुरु भईसकेको छ ।
‘क्रिसमस देखि नै यो पटक केही दिन बिदा परेकोले पोखरामा बढी पाहुना आउने अपेक्षा लिएका छौं । होटल बुकिङ समेत सुरु भईसकेको छ । आन्तरिक पाहुनाको चलहपहलले हामी उत्साही भएका छौं,’ उनले भने, ‘आन्तरिक पाहुना पोखरा भित्र्याउने यो नै सबैभन्दा महत्वपूर्ण र भव्य इभेन्ट हो ।’
अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँवर्ष स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सव लेकसाइडको तीनकिलोमिटर क्षेत्रमा संचालन हुने उनको भनाई छ ।
सोही क्रममा बोल्दै रेवान महासचिव विकास भट्टराइले अघिल्ला वर्षभन्दा भव्य बनाउने गरि महोत्सवको तयारी गरेको बताए । विभिन्न संस्कृति, खाना र संगीतलाई प्राथमिकता दिएर मेला आयोजना गरिरहेको सुनाए । पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पाँच लाखभन्दा बढी पर्यटक भित्र्याएर पोखराले यो बेला आन्तरिक पर्यटनबाट लाभ लिने सुनाए । मेला अब पोखराको मात्र नभई अन्तर्राष्ट्रिय रुपमा नै चर्चामा आएको र पर्यटकको रोजाइ बन्नेमा आशावादी रहेको उनले बताए ।





