पोखरा/ एमाले गण्डकीले झन्डै १० करोड पर्ने घर पार्टी कार्यालय प्रयोजनका लागि खरिद गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीले अधिवेशनपछिको पहिलो बैठकमा नै घर किन्ने योजनाबारे सदस्यहरुलाई जानकारी गराएको हो ।
त्यसका लागि एमालेले प्रत्येक पार्टी सदस्यहरुबाट पाँच सय रुपैयाँ उठाउनेछ ।
‘गण्डकीमा हाम्रा ६३ हजार सदस्यहरु हुनुहुन्छ । उहाँहरुबाट कम्तीमा पाँच सय रुपैयाँ उठाउनेछौँ,’ एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले भने ।
एमालेको अहिलेको पार्टी कार्यालय पोखरा नयाँबजारमा छ । त्यहाँ उसले मासिक भाडा तिरेर कार्यसञ्चालन गर्दै आइरहेको छ । तर, कुनै बैठक गर्नुपरेको खण्डमा भने पार्टी प्यालेस नै धाउनुपर्ने बाध्यतापनि छ ।
त्यसका लागि आफ्नै भवन खरिद गर्न लागिएको सचिव धनञ्जय दवाडीले बताए ।
एमालेले पोखरा ८ सिर्जनाचोकमा साढे पाँचतले घर किन्न लागेको हो । त्यसका लागि १५ लाख रुपैयाँ बैना दिइसकेको छ ।
खरिद गर्न लागेको यो भवनमा पहिला रेडियो स्टेसन र इन्टरनेटको अफिस थियो । दुवैले छोडेपछि र आर्थिक मन्दीको समयमा भवन किन्ने पाएपछि घरधनीले बेच्ने निधो गरेका हुन ।
९ करोड ३५ लाखमा यो घर चैत मसान्तभित्रै पास गर्ने सम्झौता भइसकेको छ । त्यसलाई फर्निसिङको आवश्यकता छ । बैठक हल, पदाधिकारीका कोठा, आवश्यकताअनुसार फर्निचर, रंगरोगन गर्दा ११ करोड रुपैयाँ खर्च हुने अनुमान एमालेको छ ।
यसका लागि रकम व्यवस्थापन गर्न पार्टी सदस्यबाट पाँच सयका दरले रकम उठाउँदा ३ करोड १५ लाख रुपैयाँ संकलन हुन्छ ।बाँकी रकम भने शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने दवाडीले बताए । जिल्ला कमिटीलाई पनि भवन खरिद बारे कार्ययोजना छिटै पठाइने उनले बताए ।
‘भवन किन्ने भनेर कुराकानी भएको छ । त्यसको निमित्त रकम उठाउने कार्ययोजना बनाएर जिल्लामा पठाउने छौँ,’ दवाडीले भने । आफ्ना पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँग पनि एमालेले रकम संकलन गर्ने तयारी गरेको छ ।
गण्डकीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र उनीहरूका स्वकीय, प्रदेश सांसद र स्वकीय, पालिका प्रमुख र उपप्रमुख, एमालेमा आस्था राख्ने कर्मचारी, शिक्षकसँग एक महिनाको पारिश्रमिक सहयोगबापत माग्ने योजना एमालेको छ । यसबाट एक करोड रुपैयाँ उठ्ने हिसाब छ । आर्थिक अवस्था राम्रो भएका ५ सय जना सदस्यबाट १/१ लाख, अझै सम्पन्नशाली १० जनाबाट १०–१० लाख गरेर रकम जुटाउने योजना एमालेको छ । पार्टी कार्यालय बनाउन लागेको थाहा पाएपछि प्रतिनिधिसभा सदस्य प्रभु ग्रुपका प्रमुख देवी भट्टचनले १० लाख रुपैयाँ दिइसकेका छन् । एमाले गण्डकीका अध्यक्ष शर्माले शुभेच्छुकहरुबाट सहयोग लिइने भनिए पनि विचौलिया,दलाल र खराब आचरणका व्यक्तिहरुबाट अनि दबाबमा पारेर चन्दा नउठाइने दाबी गरे ।





