मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बालमैत्री अवधारणाभित्र बागलुङ नगरपालिका

बालमैत्री अवधारणाभित्र बागलुङ नगरपालिका


  • माधव चापागाई
  • पुष २१ २०८०, शनिबार

बालबालिकाहरु भविष्यका कर्णाधार हुन् । समाजलाई भविष्यमा सुसंस्कृत र जिम्मेवार बनाउनका लागि बालबालिकाहरुको चौतर्फी विकासमा जोड दिनु आवश्यक हुन्छ । शूक्ष्म शारीरिक आकारभित्र रहेको बाल मस्तिष्क र प्रतिभाको सम्मान गर्नु हामी सबैको कर्तव्य हुन्छ । बाल अधिकारको विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायमा गरेका प्रतिबद्धताहरु पुर्ण गर्न र बाल अधिकार प्रवर्धन गर्न लागि परिरहेको छ । जसका लागि बालमैत्री स्थानीय शासनको अवधारणा आवश्यक छ ।

नेपाल सरकारले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बमोजिम २०८७ सालसम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री बनाउने लक्ष्य लिएको छ । सोही लक्ष्यमा हातेमालो गर्दै बागलुङ नगरपालिकाले पनि २०८१ पुस मसान्तसम्म बालमैत्री नगर घोषणाको तयारी गरेको छ । देशैभरी बालमैत्री स्थानीय शासन अभियान सञ्चालन भइरहेका छन् । स्थानीय व्यक्ति, परिवार, समुदाय, विद्यालय, स्वास्थ्य संस्था र स्थानीय सङ्घ संस्थाहरुलाई बालबालिकाका पक्षमा उभिनुपर्ने भएको छ । प्रथमतः समुदायस्तरका मानिसहरुले बालबालिकाको मनोभावना बुझ्ने र उनीहरुका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने कार्यमा जोड दिनुपर्छ । उनीहरुका अधिकारप्रति संवेदनशील बन्न उत्प्रेरित गर्दै मीठो बोली, वचन र आचरणप्रति जिम्मेवार बनाउँदै लैजानु पनि महत्वपूर्ण हुन्छ ।

बालमैत्री पालिका निर्माणको हकमा समुदाय, समाज, सामुदायिक संघ संस्था, विद्यालय, स्वास्थ्य संस्था, सूचना तथा सञ्चार प्रविधिलगायत सबैको महत्वपूर्ण भूमिका रहन्छ । यसरी चौतर्फी प्रयासबाट मात्र बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न सकिन्छ । जसको पहिलो खुड्किलो स्वरुप बागलुङ नगरपालिकाका दुई वडाहरु कान्छा र जेठा क्रमशः १४ र १ ले बालमैत्री वडा घोषणा गर्न सफल भएका छन् ।

पालिकाहरुले बालमैत्री स्थानीय शासनको नीति अवलम्बन गरिरहँदा टोल तथा विद्यालयस्तरबाटै बालसमूह गठन गरी वडा तथा पालिकास्तरमा पनि बाल सञ्जाल गठन गर्ने प्रक्रिया छ । यसले सामाजिक क्षेत्रमा बालबालिकाको सहभागिता, क्षमता विकास, औपचारिक जीवनशैली र व्यवहारमा परिवर्तन ल्याउँछ । जसबाट बालबालिकाहरु जिम्मेवार बन्ने, सामाजिक परिवेश र विषयवस्तुमा उनीहरुको पहुँच अभिवृद्धि हुने, आन्तरिक रूपमा रहेको अन्तर्निहित प्रतिभा प्रष्फुटन हुने र नयाँ ज्ञान सिक्ने वातावरण सिर्जना हुने अपेक्षा गर्न सकिन्छ । विद्यालय र समुदायस्तरमा गठन हुने बाल समूहमा सहभागी बालबालिकालाई सचेत र जिम्मेवार बनाउने, उनीहरुकै नेतृत्वमा अतिरिक्त क्रियाकलाप सञ्चालनको व्यवस्था मिलाउनुपर्ने हुन्छ । बालबालिकाका समस्याको पहिचान गरी समस्या समाधान गर्नु आवश्यक हुन्छ । त्यसैगरी बाल समूहलाई नेतृत्वदायी भूमिकामा सरिक गराउँदै वातावरण सरसफाइ, सामाजिक विकृति विसङ्गती र लागुपदार्थ दुव्र्यशनका विरुद्धमा जनचेतनामुखी कार्यक्रम, सिकाइ आदानप्रदान कार्यक्रम, प्रतिभा प्रष्फुटन र बाल अधिकारका विषयमा अभिमुखीकरण जस्ता कार्यक्रमको आयोजना गर्न लगाई आवश्यक सहजीकरण गरिदिन सकिन्छ । यी कार्यक्रमहरुले उनीहरूमा सकारात्मक सोचको विकास हुन्छ । औपचारिक जीवन र नेतृत्वदायी भूमिकामा सक्रिय बन्नुका साथै सक्षम र जिम्मेवार नागरिक बन्न उत्प्रेरित गर्ने वातावरण प्रदान गर्छन् ।

नेपालमा समुदायस्तरबाट पालिकाको नेतृत्वमा बाल संरक्षणका लागि अनिवार्य गर्नुपर्ने केही समस्या छन् । जसमा बालश्रमको न्यूनीकरण, पठनपाठन व्यवस्थापन, पाठ्यपुस्तकको सहज उपलब्धता, लागूपदार्थ दुर्व्यसन, बालविवाह र अनाथ बालबालिकाको व्यवस्थापन रहेका छन् । बालमैत्री वडाको अभियानसँग मितेरी लगाउन इच्छुक पालिकाले उपरोक्त समस्या समाधानमा उल्लेख्य पहल कदमी देखाउनु जरुरी हुन्छ । हरेक विद्यालयमा बाल समूह गठन, ५१ सुत्रीय सूचकसहित हस्ताक्षर सङ्कलनको ब्यानरलाई कार्यान्वयन तहमा टास्ने कार्य पनि अनिवार्य रहन्छ ।

बागलुङ नगरपालिकाले लिएको लक्ष्य अनुसार अबको एक वर्षमा यो पालिका पुर्णतः बालमैत्री बन्नेछ । यही लक्ष्यलाई पहिलो चरणमा बा.न.पा १ रामरेखाले बालमैत्री वडा घोषणा गरेको छ । यस अघि नै १४ नम्बर वडाले घोषणा गरेको थियो । भने क्रमशः अन्य वडाहरुले पनि बालमैत्री वडा घोषणा गरेपश्चात् बागलुङ नगरकार्यपालिकाको कार्यालयले समग्र पालिका बालमैत्री घोषणा गर्नेछ । जसको अन्तिम प्रतीक्षा बिन्दुलाई अर्को वर्ष निर्धारण गरिएको छ ।

२०८० साल पुस ५ गते विद्यालय पोसाकमा सुसज्जित विद्यार्थीहरुको लामलस्करले रामरेखा क्षेत्रको परिक्रमा ग¥यो । पन्चेबाजा सहित बागलुङ कालिकाको सान्निध्यबाट बाङ्गेचौरको मैदानमा ¥याली बिसायो । विभिन्न आमा समूह, विद्यालय र स्वास्थ्य संस्थाका छुट्टाछुट्टै झुन्डका बीच रामरेखा बासी जनताको उपस्थिति थियो । रङ्गिबिरङ्गी मञ्चमा पालिकाका मेयर, उपमेयर, शिक्षा शाखाका प्रमुख सहित पालिकाका कर्मचारीहरुको बाक्लो उपस्थितिमा आयोजक वडा नम्बर १ का वडाध्यक्ष सहित कर्मचारी र जनप्रतिनिधिहरुको खुशीयाली भिन्नै थियो ।

पढाइलाई यथास्थितिमा छोडेर बालमैत्र नारा लगाउन पाएका विद्यार्थीहरु यो सबै देखेर अचम्मित भएका थिए । उनीहरुले बोकेका प्लेकार्डमा ‘बालबालिकाको सुरक्षा, हामी सबैको दायित्व, बाल शिक्षा, सुनौलो भविष्यको प्रतीक्षा !’

‘बालबालिकाका लागि कोशेली, मायाल व्यबहार र मिठो बोलि, बालबालिका माथि हुने, सबैखाले हिंसा अन्त्य गरौ’ ‘बालमैत्री स्थानीय शासन, बागलुङ नगरपालिकाको मुख्य अभियान’ ‘बालबालिकाको शारीरिक तथा बौद्धिक वृद्धि, यसले ल्याउँछ सुख समृद्धि’, ‘घर घर विद्या दीप जलाऔं, छोराछोरी स्कूल पठाऔ’, ‘जाँडरक्सी जुवातास, गर्छ धन जीउको सत्यनास’, ‘बालबालिका वर्तमानमा साझेदार, भविष्यका हिस्सेदार’, ‘बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो बिहानी’, ‘हरेक समाजले बालबालिकालाई शिक्षित र जागरुक बनाऔँ’, ‘बालमैत्री शासन, बालबालिकाको अनुशासन’, ‘बाल मजदुरी एउटा पाप हो, बालबालिकाको लागि एक अभिशाप हो ।’ ‘हाम्रो स्थानीय हाम्रो सरोकार, गरौं बालबालिकाको उपकार’, ‘एउटै आमाको सन्तान, छोरीछोरा एक समान’, ‘बालश्रम हटाऊ, बालमैत्री बातावरण बनाऔं’, ‘बालबालिकाको अधिकार, हामी सबै नै जिम्मेवार’ लगायतका विभिन्न २४ बुदाँहरु समेटिएका थिए । संविधानले प्रदत्त गरेका बालबालिकाका हक अधिकारलाई समुदाय स्तरमा पालना गर्ने÷गराउने वैधानिक पाटोको रुपमा लिइएको यो अभियानले के कति सफलता पाउछ हेर्न बाकी छ ।

स्थानीय निर्वाचनमा विजय हासिल गरेलगत्तै बागलुङ नगरपालिकाका जनप्रतिनिधिहरुले बालमैत्री नगर निर्माण गर्ने अभियान सञ्चालन गरेका थिए । महत्वाकांक्षी उद्देश्य लिएका उनिहरुलाई अभियान सफलताको शुभकामना दिए पनि पर्ख हेरको अवस्थामा प्रतिपक्षलगायत केही सर्वसाधारणहरु थिए । पालिकाले आफ्नो लक्ष्योन्मुख कार्य गरिरहदा पालिकाका दुई वडाहरुले अभियानको थालनी गरेका छन् । पालिकाले बा.न.पा १४ लाई धन्यवादको प्रमुख पात्र बनाइरहँदा वडा नम्बर १ ले पनि सोही यात्रामा समवाय सम्बन्ध स्थापना गरेको छ ।

विशेषतः बालमैत्री पालिकाको अवधारणाले बालबालिकाको हितविरुद्ध हुने जुनसुकै हिंसा उन्मूलन गरि अधिकारको प्रत्याभूत गराउने उद्देश्य लिइएको हुन्छ । सरोकारवाला सर्वसाधारण र अभिभावकले नियमित पठनपाठन र व्यवहारोपयोगी शिक्षाको अपेक्षा राख्ने गरेको पाइन्छ । समयमै पाठ्यपुस्तक उपलब्ध गराउनु, उचित निगरानीसहित दक्ष तथा शिक्षक शिक्षिकाद्वारा भयरहित वातावरणमा समय सापेक्षित शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिने गरिएको पाइन्छ । आशा गरौं बालमैत्री समाज, विद्यालय, वडा र पालिकामा बालबालिकाका समग्र समस्या समाधान हुनेछन् । साथै देशविदेशमा सहजै बिक्ने र टिकाउ हुने शैक्षिक जनशक्ति उत्पादन हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->