मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नवौं राष्ट्रिय योग दिवस र सूर्यनमस्कार महिना

नवौं राष्ट्रिय योग दिवस र सूर्यनमस्कार महिना


  • डा. नरनाथ पाण्डे
  • माघ १ २०८०, सोमबार
पृष्ठभूमि
सदा झैं यसवर्ष पनि नेपालमा यही माघ १ गते तद्अनुसार २०२४ जनवरी १५ मा नवौं राष्ट्रिय योग दिवस स्वस्थ जीवनको चाहना ः योग शिक्षा र साधना भन्ने नाराका साथ मनाईंदै छ । नेपालमा मनाइने राष्ट्रिय योग दिवस हाल आएर एउटा पर्वको रूपमा स्थापित भएको छ । २०७२ सालदेखि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर मनाईंदै आइरहेको राष्ट्रिय योग दिवसको आफ्नै महत्व रहेको छ । यही दिवसको अवसर पारेर योगदर्शन, राष्ट्रिय योग दिवसको इतिहास र योगमा निकै महत्वपूर्ण मानिने सूर्यनमस्कार सम्बन्धी केही बुझ्नैपर्ने विषयवस्तुका बारेमा यस आलेखमा चर्चा गरिएको छ ।
योग र योगदर्शन
योगको अर्थ जोड्नु भन्ने लाग्छ । वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । पतञ्जलिको योग दर्शनमा उल्लेख भए अनुसार योग त्यो प्रयत्न, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो भनिन्छ । योगको अभ्यास हजारौं वर्ष पहिलादेखि नै भएको पाइन्छ र परम्परा अनुसार योगको सुरुवात गर्ने भगवान शिव हुन् भन्ने मान्यता पाइन्छ । भगवान शिवको बासस्थान हिमालय क्षेत्रमा रहेको भन्ने श्रुतिअनुसार योगको प्रारम्भ पनि हिमालय क्षेत्र अर्थात महाभारत क्षेत्रबाट भएको हो भन्ने पूर्वीय दर्शनमा उल्लेख भएको पाइन्छ ।
योगदर्शनका प्रतिपादक ऋषि पतञ्जलि हुन् । योगदर्शन भारतीय दर्शनशास्त्रको एउटा अत्यन्त पूरानो शाखा हो, जसलाई व्यवस्थित रूप दिने काम ऋषि पतञ्जलिले गरेका हुन् । नेपालमा पनि विभिन्न योग सम्बन्धी संघ संस्था मार्फत औपचारिक र अनौपचारिक योग कक्षा सञ्चालन भइरहेका छन् भने राष्ट्रिय शिक्षाका पाठ्यक्रममा पनि योगलाई राखिएको अवस्था छ । जति जति समाजको विकासको गति बढ्दै गइरहेको छ, त्यति त्यति नै योगको आवश्यकता पनि महसुस् हुँदै गइरहेको पाइन्छ । लगभग सबै धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्व दिइएको हुनाले योगदर्शनको महत्व बढी छ । यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम, ध्यान तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक, मानसिक, संवेगात्मक तथा शारीरिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्शाइएको छ ।
राष्ट्रिय योग दिवसको इतिहास
नेपालमा योग तथा राष्ट्रिय योग दिवसको चर्चा गर्दा मानसाग्नि अर्थात राष्ट्रयोगी प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलको योगदानको चर्चा हुने गर्दछ । मानसाग्निले वि.सं. २०३६ सालदेखि मकर सङ्क्रान्तिका दिनदेखि नेपालमा योग सम्वत् घोषणा गरी विश्व योग दिवस मनाउनुपर्छ भनी अभियान सुरु गर्दै योगका क्षेत्रमा पुनर्जागरण प्रारम्भ गर्नुभएको हो । २०३६ सालदेखिको उनको निरन्तरको प्रयास, अथक परिश्रम र अविरल यात्राको सफलतास्वरूप नेपालमा प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने कार्यको सुरुवात वि.सं. २०७२ साल श्रावण २८ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेपछि भएको हो । यसैगरी मानसाग्निकै अथक परिश्रम र निरन्तरको लगावका कारण योगको महत्वलाई मध्यनजर गर्दै नेपालमा कक्षा ९ देखि १२ सम्म, स्नातक तथा स्नातकोत्तर र विद्यावारिधि तहसम्म नै योग विज्ञानमा औपचारिक रूपमा पाठ्यक्रममा समावेश भइ पठनपाठन तथा अध्ययन अनुसन्धान हुन थालेको इतिहास छ ।
पूर्ण योगका लागि सूर्यनमस्कार आसन
सूर्यनमस्कार अथवा सूर्यलाई गरिने अभिवादन वा स्यालुट ९क्गल कबगितबतष्यल० आसन निकै महत्वपूर्ण र पूर्ण व्यायामको योगाभ्यास हो । हिन्दू धर्ममा सूर्यलाई भगवान् र जीवनकै एक आत्माको रूपमा मानिने हुँदा सूर्य निकै पुजनिय मानिन्छन् । हठयोग अन्तर्गत पर्ने यस अभ्यासमा विभिन्न प्रकारका १२ वटा आसनहरू मार्फत सूर्यलाई प्रणाम गर्ने र शारीरिक लाभ प्राप्त गर्ने गरिन्छ । यसलाई दु्रत गतिमा गर्दा मुटु र रक्तसञ्चार प्रणालीमा राम्रो प्रभाव पर्दछ भने मन्द गतिमा गर्दा समेत विभिन्न प्रभावहरू शरीरमा परेको अनुभूति हुन्छ । त्यस्तै यसबाट सूर्यलाई सम्झिएर विभिन्न मन्त्रहरूका साथ विभिन्न आसनमा बस्दा आनन्दको अनुभव हुन्छ । प्राचीनकालदेखि सुरुवात भएको यो आसन विभिन्न आधार र अनुसन्धानबाट हाल वैज्ञानिक अभ्यास भएको पुष्टि भएको छ । नियमित रूपमा सूर्यनमस्कार आसन गर्नाले सृजनशीलता बढ्ने, कार्यक्षमता बढ्ने, निर्णय गर्ने शक्ति आर्जन हुने, आत्मविश्वास बढ्ने र नेतृत्वका सीप विकसित हुने लाभहरू प्राप्त हुने भएकोले यो अभ्यास निकै उच्च स्तरको छ र जो कोहीले पनि यो आसन गर्न सकिने सिफारिस गरिएको छ ।
यो आसन जुनसुकै समयमा गर्न सकिन्छ तापनि यसको लागि उपयुक्त समय भनेको सूर्योदयको समय हो । सूर्यनमस्कार पूर्ण व्यायामको एउटा त्यस्तो अभ्यास हो जुन स्वास्थ्यमा सरोकार राख्ने सबैका लागि वरदान नै हो । यसले शरीरमा जम्मा भएर बसेको अतिरिक्त बोसो कम गर्ने, पेट घटाउने र प्राकृतिक शरीरको आकारमा लैजाने गर्छ । यसले शरीरका आन्तरिक ग्रन्थिहरू समेत सक्रिय बनाई शरीरको कार्यसम्पादन प्रभावकारी बनाउँछ । यो अभ्यास गर्दा ३ किसिमको गतिमा गर्न सकिन्छ । मन्द गतिमा गर्दा शरीर लचिलो हुन्छ, मध्यम गतिमा गर्दा मांसपेशीमा स्फूर्ति आउँछ भने तीव्र गतिमा गर्दा तौल घट्ने र मुटु तथा रक्तसञ्चार प्रणाली बलियो हुन्छ ।
सूर्यनमस्कारका विभिन्न १२ वटा आसनहरू यसप्रकार छन्–
१. प्रणमासन (Prayer pose): यो सुरुको आसनमा योगम्याटको सबैभन्दा टुप्पोतर्फ सन्तुलित तरिकाले उभिई शरीर तन्क्याएर दुवै हातका दश औंला र हत्केला जोडेर नमस्कार गरी उभिइन्छ । यस आसनबाट गोडा, तिघ्रा र ढाड सक्रिय हुन्छन् ।
२. हस्तउत्थानासन (Raised arms pose): श्वास तानेर हातलाई उठाई पछाडि ढाडतर्फ सकेसम्म झुक्ने आसन हस्तउत्थानासन हो । यसमा सम्पूर्ण शरीर तन्किएर पछाडि झुकेको देखिन्छ ।
३. हस्तपादासन (Hand to foot pose): यसमा श्वास फाल्दै पूर्णरूपमा अगाडि झुकेर भुईंमा वा खुट्टाको कुर्कुच्चा पछाडि हातको पञ्जाले टेकिन्छ र टाउकोले घुँडा छुने गरिन्छ ।
४. अश्व सञ्चालनासन (Equestrian pose): यसमा श्वास तानेर दायाँ गोडा सकेसम्म भुईंमा पछाडि लगी बायाँ गोडा अगाडि लगेर भुईंमा हातले टेकी गोडालाई दुवै हातको बीचमा राखेर टाउको माथितिर लगेर पछाडितर्फ तन्काइन्छ ।
५. अधोमुखासन/पर्वतासन (Adhomukhasana/Mountain pose): यसमा हिपको भाग सकेसम्म माथि उठाई टाउको जमिनमा झुकाउने र दुवै खुट्टा जोडी पछाडि लगेर घोप्टो परिन्छ ।
६. अष्टाङ्ग नमनासन (Salute with eight parts or points): यसमा बिस्तारै दुवै घुँडाले जमिनमा टेक्ने, कुर्कुच्चा उठाई औंलाले टेक्ने, घोप्टो परेर जमिनमा सुत्दा हिप उठाउने र दुवै हातले दायाँ बायाँ टेकी चिउँडो र छातीले जमिनमा टेकिन्छ । यसरी दुवै हात, दुवै खुट्टा, दुवै घुँडा, चिउँडो र छाती गरी आठवटा अङ्गले जमिनमा टेकी सूर्यनमस्कार गरिने भएकोले यसलाई अष्टाङ्ग नमन आसन भनिएको हो ।
७. भुजङ्गासन (Cobra pose): यस आसनमा केही अगडि झुकी छाती उठाउने र दुवै हातले दायाँबायाँ टेकेर हातकै बलले टाउको उठाई माथि हेरिन्छ । यसमा लामो श्वास तान्ने र श्वास रोकेर टाउको उठाइन्छ ।
८. पुनः पर्वतासन (Mountain pose): यस आसनमा पनि पाँच नम्बर आसनकै तरिका अपनाईन्छ ।
९. अश्व सञ्चालनासन (Equestrian pose): यस आसनमा पनि आसन ४ मा जस्तै प्रक्रिया अपनाईन्छ तर यस आसनमा दाहिने खुट्टा अगाडि र देब्रे खुट्टा पछाडि सिधा गरेर पसारेर राखिन्छ ।
१०. हस्त पादासन (Hand to foot pose): यस आसनमा पनि आसन ३ अनुसारका प्रक्रियाहरू नै अपनाइन्छ ।
११. हस्तउत्तनासन (Raised arms pose): यस आसनमा पनि आसन २ अनुसारका प्रक्रियाहरू नै अपनाइन्छ ।
१२. ताडासन वा पुनः प्रणमासन (Standing mountain pose): यस आसनमा श्वास छाड्दै दुवै हात उठाई उभिने गरिन्छ । त्यसपछि चरण एक अनुसार नै नमस्कार गर्दै आराम लिइन्छ ।
सूर्यनमस्कारका अभ्यासहरू गर्दा नियमहरूको पूर्ण पालना गर्दै श्वासप्रश्वासलाई नियन्त्रण गर्दै तालबद्ध तरिकाले गर्नुपर्छ । यस अभ्यासबाट लाभ प्राप्त गर्न कुशल प्रशिक्षकको नियमित निगरानी र प्रशिक्षणमा रहेर गर्नुपर्छ । सूर्यनमस्कारको नियमित अभ्यासबाट हुने अधिकांश फाइदा मध्ये मुख्य फाइदाहरू यसप्रकार छन्–
̵ यो आसन नियमित गरेमा रोगमुक्त भई बाँच्न सकिन्छ र शरीरको सन्तुलनमा वृद्धि हुन्छ ।
̵ मुटुको शक्ति बढ्छ वा रक्तसञ्चार प्रक्रियामा सुधार हुन्छ ।
̵ पाचन प्रणालीको कार्यक्षमता बढ्ने र कब्जियत जस्ता समस्या पूरै समाधान हुन्छन् ।
̵ पेटका मांसपेशी, श्वासप्रश्वास प्रणाली, लसिका प्रणाली, मेरुदण्डका स्नायुहरू र अन्य आन्तरिक अङ्गहरूमा सक्रियता आउँछ ।
̵ ढाड, घाँटी, काँध, हात, नाडी, पछाडिको भाग, तिघ्राका मांसपेशी लगायत सबै शरीरमा लचकताको विकास हुन्छ ।
̵ नियमित अभ्यासले निःशुल्करूपमा तौल घटाउन मद्धत पु¥याउँछ । मांसपेशी तन्काउने, खुम्च्याउने र सक्रिय बनाउने अभ्यासका कारण थप सञ्चित क्यालोरीको खपत भई नाटकीय रूपमा तौल घट्ने गर्छ । साथै थाइराइड ग्रन्थिको नियमित कार्य सम्पादनका कारण समेत तौल घट्ने गर्दछ ।
̵ टाउकोमा हुने रक्तसञ्चारको प्रभावले कपाल झर्नबाट रोकिन्छ भने कपाल फुल्ने क्रम घट्ने र स्वस्थ रौं को विकास हुन्छ ।
̵ शरीरभर हुने प्रभावकारी रक्तसञ्चारका कारण शरीर तथा अनुहारको छाला स्वस्थ, चमक, मुलायम र चिल्लो हुन्छ । साथै चाउरी पर्ने वा छिटो बुढ्यौली हुने क्रम समेत रोकिन्छ ।
̵ ग्रन्थि प्रणालीमा पर्ने सकारात्मक प्रभावका कारण महिलाको महिनावारी चक्र समेत राम्रो र नियमित हुन्छ । यसबाट स्वस्थ बच्चा जन्माउन समेत सहयोग मिल्छ भने सुत्केरी अवस्थामा दूधको राम्रो उत्पादन हुन्छ । महिलाको हिप, तिघ्रा, पेट, चिउँडो र घाँटी समेत सुन्दर हुन मद्धत पुग्छ ।
̵ मानसिक रूपमा यो अभ्यासले शरीर र मनलाई जोड्ने काम गर्दछ । यो अभ्याससँगै तनाव हट्ने र यसमा मिलाइने श्वासप्रश्वासको नियमले मस्तिष्कमा आनन्द र शान्तिको अनुभूति दिलाउँछ भने सचेतनाको क्षमता अभिवृद्धि हुन्छ ।
̵ मानिसको अन्तज्र्ञान बढाउने, एकाग्रता बढाउने, डिप्रेशन र मानसिक नकारात्मक कुण्ठाहरू हटाउने काम गर्छ ।
̵ नियमित रूपमा बालबालिकाले यो अभ्यास गरेमा विभिन्न प्रतिस्पर्धामा अब्बल सावित हुने र युवा अवस्थामा पनि पाँच वर्ष कम उमेरको देखिने जस्ता अद्भूत फाइदा पाउन सकिन्छ ।
सूर्यनमस्कार अभ्यासका यावत् फाइदाहरूलाई मध्यनजर गरी पतञ्जलि योग समिति नेपालले यसवर्ष पुस महिनालाई सूर्यनमस्कारको महिना भनी विभिन्न योग केन्द्रहरूमा सूर्यनमस्कार कार्यक्रम, अभ्यास र प्रतियोगिता सञ्चालन गरेको छ । एक महिनाभर देशका विभिन्न योग केन्द्रमा योग अभ्यास गरिरहेका योग साधकहरूलाई लक्षित गरी सूर्यनमस्कार कार्यक्रम सञ्चालन गर्न पुस १ गतेदेखि ९ पटकका दरले सूर्यनमस्कार गरी प्रत्येक गतेमा ९ ले गुणा गर्दै आउने अङ्क जति सूर्यनमस्कार गर्नुपर्ने नियम राखेको छ । यसो गर्दा माघ १ गते ३० दिनका दिन ९ गुणा ३० गर्दा आउने २७० पटक सूर्यनमस्कार गरिनेछ । अनलाइन माध्यमबाट सञ्चालन हुने उक्त प्रतियोगितामा भाग लिने योग साधकलाई माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै कार्यक्रम समापन गरिने अवसरमा पुरस्कार तथा प्रमाणपत्रको समेत व्यवस्था गरी सूर्यनमस्कार आसनको महत्वलाई उजागर गरेको छ ।
अन्तमा, फुर्सत नहुनेहरू वा अल्छी लागेर केही गर्न नसक्नेहरूका लागि समेत सूर्यनमस्कार एउटा पूर्ण व्यायामको भरपर्दो अभ्यास हुनसक्छ । सूर्यनमस्कार मात्र एउटा त्यस्तो योग अभ्यास हो जसले व्यक्तिलाई शारीरिक तन्दुरुस्ती प्रदान गर्ने, मानसिक सन्तुष्टि प्रदान गर्ने र आध्यात्मिक दृष्टिकोणले पनि जोड्ने भएकोले यसलाई पूर्ण योगको चमत्कारिक विधि पनि भन्न सकिन्छ । आफ्नो क्षमता हेरेर दिनहुँ कम्तीमा पनि १२ पटक भन्दा बढी यो अभ्यास गर्न सकियो भने पनि पूर्ण स्वस्थता प्राप्त गर्न सकिनेमा कुनै शङ्का छैन ।
कावासोती–८, नवलपुर 
(लेखक जीवनशैली व्यवस्थापनमा विद्यावारिधि, सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक, प्राध्यापक र पतञ्जलि योग समिति नवलपुरका जिल्ला अध्यक्ष हुन्)
९८५७०४०४६३
(२०८०÷०९÷२३)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->