मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

क्या बात बालेन, स्याबास !

क्या बात बालेन, स्याबास !


  • डा. नरनाथ पाण्डे
  • माघ १४ २०८०, आइतबार

नेपालमा पछिल्लोपटकको स्थानीय निर्वाचनमा सर्वाधिक चासोको पात्रको रूपमा कोही थिए भने बालेन शाह नै थिए । उच्च राजनीतिक छवि भएका राजनीतिक नेता र उनका आफन्तहरू एकातिर चुनाव लड्दै थिए भने अर्कातर्फ स्वतन्त्र उम्मेदवारको रूपमा गायकबाट रूपान्तरित हुँदै पहिलो पटक राजनीतिमा हाम फालेका पात्र थिए बालेन शाह । तैपनि कुनै दलबाट नभई स्वतन्त्र तरिकाले नेपालको झण्डा फहराउँदै सशक्त रूपमा उदाउँदै थिए काठमाडौंमा बालेन शाह । उनलाई सीमित साङ्गीतिक क्षेत्रका व्यक्तिबाहेक अरु कमैले चिन्दथे तर काठमाडौं महानगरपालिकामा मेयर पदका लागि सानदार भिडन्त गर्दै थिए, बालेन शाह । राजनीतिक दलप्रति वाक्कदिक्क मानेका काठमाडौंबासीले पुराना भनिएका दल, नेवार समुदाय, स्थानीय दल वा गठबन्धनलगायतका दलहरूलाई पछार्दै स्वतन्त्र उमेदवार बालेन शाहलाई अभुतपूर्व रूपले जिताएर दलहरूलाई राम्रो सन्देश दिएका थिए ।

निकै सानदार मतका साथ प्रतिपक्षीलाई फराकिलो अन्तरले पराजित गर्दै बालेन शाहले काठमाडौं मेयरको कुर्सी हात पारेपछि ‘युवाले देश बदल्न सक्छ’ भन्ने मीठो सन्देश दिन सुरु गरिहाले । उनलाई राम्रो साथ र सहयोग एमालेबाट उपमेयरमा चुनाव जितेकी अर्की युवा सुनिता डङ्गोलले पनि दिन थालिन् र बालेनलाई केही राहत महसुस भयो । बालेनले चालेका सबै कदम राम्रा छन् भन्न सकिन्न तर बेथितिले ग्रस्त समाजमा केही साइड इफेक्ट देखिँदादेखिँदै पनि थिति बसाल्न प्रयास गरेको मान्न सकिन्छ । समग्रमा बालेन शाहका केही सामाजिक सञ्जालमा पोखिएका छिटपुट विचार र हात हाल्नै नहुने खालका केही काममा जबर्जस्ती हात हाले पनि राम्रो काम गर्दै आइरहेको रेकर्ड चाहिँ बनाएका छन् र युवा हृदयमा राम्रो छाप पार्न सफल पनि भएका छन् । उनले गरेका प्रशंसनीय कार्यहरू, लोभलालच र भ्रष्टाचारबाट टाढै रहने व्यवहारलाई काठमाडौंबासीले मात्र नभइ सारा राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाटै नियाली स्याबासीसमेत दिइरहेका छन् ।

यसै क्रममा पछिल्लो कदमका रूपमा बालेन शाहले यही मंसिर २७ गतेदेखि काठमाडौं महानगरपालिकालाई प्लाष्टिकजन्य वस्तु उत्पादन, बिक्री वितरण र प्रयोगमा निषेध गरेर अर्को राम्रो निर्णय गरेका छन् । यसैगरी सूर्ती तथा सूर्तीजन्य पदार्थको उत्पादन, प्रयोग, ओसार पसार, प्याकेजिङ्ग र बिक्री वितरणसमेत गर्न नपाइने गरी निषेध गरेका छन् । जुन कदमहरू सर्वसाधारण र स्वास्थ्यप्रति सरोकार राख्ने वा सचेत वर्गका लागि राम्रो निर्णय भएको अनुभव गरिएको छ । हुन त यो बालेनको सृजनात्मक सोच होला तर पनि प्रक्रियाका लागि महानगरपालिकास्तरीय बैठक र सरोकारवालाहरूसँग व्यापक छलफल गरी निर्णय गरेपश्चात् घोषणा गरिए होला तैपनि यतिबेला प्रशंसा बालेन शाहको भएको छ । कसैकसैलाई यी कुरामा पनि चित्त नबुझ्न सक्छ तैपनि ठूलो समुदायको सहयोग र समर्थनबाट यो निर्णय पनि कार्यान्वयनमा जानसक्ने सम्भावना छ । तर, सबैभन्दा ठूलो चुनौती चाहिँ महानगरपालिका किन सफल हुन नसक्ला भन्ने रहेको छ भने छिमेकी ललितपुर र भक्तपुर महानगरपालिकाले पनि यस्ता निर्णय सँगसँगै कार्यान्वयनमा नलैजाने हो भने एक्लो काठमाडौं महानगर यो मामलामा सफल हुन सक्ला भन्ने ठोस आधार देखिँदैन । यदि प्लाष्टिकजन्य र सुर्तीजन्य वस्तुको उत्पादन, प्रयोग र बिक्री वितरण गर्नु ठिक छैन भन्ने कुरा सबैलाई लाग्छ भने बालेनको यो कदमको प्रशंसा गर्दै सबैले साथ सहयोग दिन जरुरी देखिन्छ । यदि बालेनले सुरु गरेका सकारात्मक कदमलाई पनि साथ नदिने हो र देशलाई यथास्थितिमा राखिरहने हो भने भन्नु केही छैन तर स्वास्थ्यका लागि र वातावरणका लागि असाध्यै घातक मानिएका यी दुवै वस्तु सूर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य पदार्थको निषेध गर्नुपर्छ । विभिन्न समयमा विभिन्न ऐन नियम र कानूनहरू ल्याएर यस्ता पदार्थको नियन्त्रण गर्न खोजिए पनि सफलता हात नलागेको अवस्थामा बालेनले काठमाडौं महानगरमा मात्र भएपनि जुन निषेधको नियम ल्याएर कार्यान्वयनमा जाने हिम्मत गरेका छन् त्यसलाई साथ र सहयोग दिनु सबैको कर्तव्य पनि हो भन्ने लाग्छ । बालेनको यो कदमलाई हामीले हृदयदेखि नै स्याबासी दिनुपर्छ र यस्तो कदम काठमाडौंमा मात्र नभएर यथाशीघ्र देशभर चाल्नुपर्छ ।

बेथिति नै बेथितिको डङ्गुर थुप्रिएको हाम्रो देशमा कतै पनि सन्तोषको सास फेर्ने ठाउँ देखिँदैन । भए नभएका नीति, नियम र कानूनले भरिपूर्ण भएको हाम्रो देशमा देशबासीले चाहेजस्तो नेता पाउन नसक्नु नै दुर्भाग्य बनिरहेको छ । ‘आशालाग्दो केटो जेठाजु परेछ’ भनेजस्तै अलिअलि आश पलाएका नेताहरू पनि कुर्सीमा पुगेपछि शासन सत्ताको दलदलमा पर्ने र पुर्खाहरूका पदचाप पछ्याउँदै भ्रष्टाचार, दुराचार र आफ्नो स्वार्थमा मात्र फस्ने गरेको इतिहास छ । नेपालमा जनताले गर्ने आन्दोलनको बीजारोपण राणा शासन पूर्व नै सुरुवात भएतापनि त्यसको आधिकारिक जग चाहिँ राजनीतिक दलहरूको स्थापना भएपछि नै बसेको हो । नेपालमा प्रजापरिषद् भन्ने दलको स्थापना भएपश्चात् तत्कालीन युवाहरूले विद्रोह सुरु गरेपछि बिस्तारै जनताले साथ दिँदै सानो समूहमा गठन भएको दल ठुलो आकारको बन्न पुगेको र २००४ सालपछि त अरु दलहरू पनि जन्मिएको इतिहास छ । त्यसपछि आधिकारिक रूपमा दलहरूले राणा विरोधी आन्दोलन गरेर २००७ सालमा सफलता पाए । अनि जनताले भनेजस्तो अवस्था नआएका कारण २०१७ साल, २०३६ साल, २०४६ साल, २०६२/६३ साल हुँदै माओवादीको जनयुद्ध, मधेस आन्दोलन, पहिचान पक्षधरका आन्दोलन हुँदै अहिले आएर दुर्गा प्रसाईंको गणतान्त्रिक व्यवस्था र धर्मनिरपेक्षता विरुद्धको आन्दोलन समेत हामीले देख्दै आइरहेका छौं ।

यी आन्दोलनले देशमा असंख्य नेताहरू जन्मायो र हामीले उचित सम्मान पनि गर्दै आयौं केवल देशमा स्थिरता, शान्ति, समृद्धि र विकासको फड्को मार्न सकिन्छ कि भन्ने उद्धेश्यले । तर, अहिले आएर थाहा हुँदैछ कि नेताहरू र नेता आवद्ध राजनीतिक दलले जनताको चाहना पटक्कै बुझ्न सकेका रहेनछन् । विभिन्न समयमा गरिएका आन्दोलनले त नेताहरूको मात्रै सुख र समृद्धि बनायो, विभिन्न पदमा पु¥यायो, शासक बनायो, विभिन्न सुविधाहरू दिलायो तर देशले केवल भ्रष्टाचार, तस्कर र गद्धारीको मात्र सामना गर्न पुग्यो । देशमा स्थापना भएका कुनै पनि दलहरूले जनताको पक्षमा काम गर्न सकेनन् र देशलाई झन् झन् कङ्गाल बनाउँदै लगे । हुँदाहुँदा देशबाट युवा जनशक्ति पलायन हुँदै गयो र अहिले आएर त गाउँ शहर सबै रित्तिँदै जान थाले, कलेजहरूले पढ्ने विद्यार्थी पाउन छाडे, गाउँले सक्रिय युवा पाउन छाड्यो, खेतीपाती गर्ने व्यक्ति पाउन छाडियो, मर्दा पर्दा साथ दिने व्यक्ति पाउन छाडियो र घरपरिवारका सदस्य नै बिरानो बन्न थाले । देशको आर्थिक अवस्था क्षीण बन्दै गइरहेको, विकास निर्माणका कार्यहरू अवरुद्ध रहेका, सञ्चालनमा रहेका दुई चारवटा उद्योगसमेत बन्द हुन पुगेका, नयाँ उद्यमी र लगानीकर्तामा अनाकर्षण बढ्दै गई पलायन हुन थालेका र समग्रमा देश थिलोथिलो परेको अवस्था देखापर्न थालेको छ ।

यो सबै हुनुमा दोष कसको ? जनताको दोष हो र ? हामीले मुखमा झुण्ड्याइरहने शब्द देशलाई यो अवस्थामा पु¥याउने राजनीतिक दलहरू र नेताहरू नै हुन् भने तिनलाई जनताले कस्तो कारबाही गर्ने ? अबको मुख्य विषयवस्तु यही हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा विधिको शासन चलाउन र देश बनाउन यदि जनताले आफ्नो सार्वभौम अधिकारको रक्षा निर्वाचनमा गर्न सकेनन् भने पुनः देश दलदलमा फस्दै जाने सम्भावना देखिँदैछ । देशको यो अवस्था धेरै टिकिरहन पनि नसक्ने र असफल राष्ट्र घोषणा हुनसक्ने भएकोतर्फ ध्यान दिन जरुरी छ । निर्वाचन एउटा त्यस्तो अस्त्र हो जसबाट सही र सक्षम व्यक्ति शासनमा पुग्न सक्छ । यदि गलत कार्यहरू गरेको इतिहास छ भने त्यस्ता व्यक्ति चुनावमा आउँदा हामीले सिधै अस्वीकार गर्नुपर्छ र जनताको सच्चा जनप्रतिनिधि छान्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । जनताले पाएको यही एउटा मात्र मौकाको पनि हामीले सही सदुपयोग गर्न सकेनौं, जानेनौं वा पुनः झुठा आश्वासनमा फस्दै गयौं भने भोलिको नेपालको अवस्था के होला हामी सहजै अनुमान गर्न सक्छौं ।

अतः आफूलाई मन नपरिरहेका त्यस्ता व्यक्ति, दल वा दलालको पहिचान आजैदेखि गरेर त्यस्तालाई निषेध गर्ने र सक्षमलाई अवसर नदिने हो भने हामी अझै पछाडि परिने सुनिश्चित भएकाले जनताहरू विशेष चनाखो हुनु आवश्यक छ । आखिर जे जस्ता परिवर्तन गरे पनि, जुनसुकै व्यवस्था ल्याए पनि यदि सद्बुद्धि र सद्विचार भएको सक्षम प्रतिनिधि हामीले छान्न सकेनौं भने हाम्रो अवस्था कहिल्यै परिवर्तन हुन नसक्ने सन्देश अहिलेको अवस्थामा हामीले देखिरहेका छौं । यसपटकसम्म जे भयो भयो अबदेखि हामीले हाम्रो अधिकार र कर्तव्यलाई भुल्न छुट हुनेछैन । राम्रो काम गर्नेलाई प्रशंसा र स्याबासी दिँदै ऊर्जा भरिदिने र खराब काम गर्नेलाई खबरदारी गर्दै सजायँ दिने सोच हामीमा अब विकसित हुनैपर्छ । सबैमा कुनै न कुनै कमजोरीहरू अवश्य हुन्छन् तर समग्रमा ती क्रियाकलापको लेखाजोखा गरी राम्रा पक्षहरू बलिया भएमा हामीले निडर भई बोल्न सक्नुपर्छ र अब बोल्ने बेला पनि भैसकेको छ जस्तो लाग्छ । जसरी आज यस आलेखमा बालेनलाई स्याबास भनियो । आशा गरौं अब भविष्यमा अरुलाई पनि यसैगरी स्यावासी दिन पाइनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->