मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

किशोरावस्थाका परिवर्तन

किशोरावस्थाका परिवर्तन


  • माधव चापागाई
  • माघ १८ २०८०, बिहिबार

यस संसारमा जन्म लिएका प्राणीहरूमा मानिस सर्वश्रेष्ठ प्राणी हो । मानिस बुद्धि, विवेक र चेतनाशिल हृदयले पूर्ण हुन्छ । मानिसले यस संसारमा आश्रय लिएर जन्मने, हुर्कने, खेल्ने र बढ्ने अवसर प्राप्त गर्छ । प्रकृतिसंग सहकार्य गर्दै जीवन यथार्थमा तादात्म्यता मिलाउँछ र ऊ परिपक्व बन्छ । अरुको दुःख सुखमा तनमन, वचन र धनले सहयोग गर्नु, अरुको भलाइ हुने कार्यमा निस्वार्थ भावनाले लाग्नु उस्को दायित्व ठहर्छ । अनिश्चित जीवनमा निश्चित लक्ष्य लिएर सार्थक जीवनको परिकल्पना गर्ने महान परिकल्पनाकार मानव हो । यहीँ मानव जातिले जानअन्जानमा जीवन पाउने यथार्थ हामीसंग छ ।

प्रकृतिरुपी स्त्री र पुरुषको संसर्गबाट मानवको अस्तित्व उत्पन्न हुन्छ । ईश्वरको अनुकम्पा र मातृशक्तिको उदार भावनाका बिचमा हाम्रो जीवनले भरण पोषण पाउँछ । नौ महिना गर्भमा बसेर यस धर्तिमा एक शिशुको जन्म हुन्छ । त्यसपछि क्रमशः शिशुले आत्मनिर्भरताको मार्ग अवलम्बन गर्दछ । जसमा हुने वृद्धि र विकासलाई विभिन्न चरणमा विभाजन गरेर ती कालखण्डहरुको चर्चा गरिएको पाइन्छ ।

पुर्वीय दर्शनका अनुसार मानव गर्भमै बुद्धि र विवेकले पुर्ण हुन्छ । बाह्य जीवनको यात्रामा उस्ले देखेका, भोगेका र अनुभव गरेका तमाम गतिविधिले उस्लाई ताजकिकरणको शैलीमा मानस्पटललाई शुद्धीकरण गराउँछ । जसका कारण उसले दैनन्दिन क्रियाकलाप सञ्चालन गर्दछ । यसरी धर्तीमा जन्मिएको मानवको शारीरिक परिवर्तन निश्चित उमेरसम्म हुन्छ । त्यसैले वृद्धि जन्मदेखि मृत्युसम्म निरन्तर चल्ने प्रक्रिया होइन । यो निश्चित अवधिमा रोकिन्छ भने विकास मानिसको परिपक्वता र अनुभवको परिणाम हो । विकास मानिसका यावत् पक्षसँग सम्बन्धित हुन्छ । यो गर्भाधानदेखि मृत्युसम्म चलिरहने हुन्छ । फलस्वरूप मानव जीवनमा आउने बौद्धिक र चेतनशील परिवर्तनलाई विकास भनिन्छ ।

निरन्तर रूपमा प्राप्त हुने अनुभव र परिपक्वताको परिणामलाई विकासको पर्याय मानिन्छ ।
मानव विकासका चरणहरुमा यौवनावस्था र वयस्कावस्थाको मध्यकालीन कालखण्ड वा बिचको महत्वपूर्ण समयावधिलाई किशोरावस्था भनिन्छ । यस अवधिमा प्रवेश पाएका बालबालिकाहरु साथी समूहमा स्वतन्त्र स्वीकार योग्य व्यवहारका भोका हुन्छन् । प्रौढावस्थाको प्रवेशद्धार भनेर अथ्र्याइने यो समय १३÷१४ वर्षको उमेरबाट प्रारम्भ भइ १८ वर्ष पुर्ण हुनेबित्तिकै समाप्त हुन्छ । गर्भ धारणदेखि जन्म पूर्वको अवस्था गर्भावस्था हो ।

बढिमा २८० दिनको गर्भावधि पश्चात बालकले जन्म लिन्छ । धर्तीको स्पर्शसंगै २ हप्ता शैशवावस्थाको परिचय पाएपछि दुइवर्षे उत्तर शैशवावस्थामा रमाउन थाल्दछ । आफू आत्मनिर्भर नबनेको तर स्वतन्त्र रहन खोज्ने अवास्तविक आधारशिलाको समयलाई बिदाइ गरेर जब बालबालिका तेस्रो वर्षमा प्रवेश पाउँछन् । तब त्यो समयलाई पुर्वबाल्यावस्था भनेर चिन्न थालिन्छ । यो समयमा बालबालिकाले केही चन्चले र नक्कले प्रवृत्तिलाई आत्मसाथ गर्न पुग्छन् । वृद्धि र विकास दुवै दृष्टिकोणले मुल्यवान ६ वर्षसम्मको उमेर पूरा भएपछि उनिहरु उत्तर बाल्यावस्थामा प्रवेश गर्छन् । व्यवहारमा परिपक्वता र सामाजिक समायोजनको दिशा अवलम्बन गर्ने यो उमेरमा धेरै परिवर्तनहरु आइपर्ने गर्दछन् । किशोरावस्थाको संघार र उत्तरबाल्यावस्थाको पुर्णता संगैको खप्टिएको अवस्था भनेर यौवनावस्थालाई लिइन्छ । १०–१२ वर्षदेखि १३–१४ वर्ष सम्मको यस अवधिमा बालबालिकाहरुले आत्मनिर्भर बन्ने चाहनाका साथमा आफ्नो छुट्टै अस्तित्व खोज्ने गर्दछन् ।

शारीरिक परिवर्तनमा आन्तरिक र बाह्य परिवर्तनका साथै मानसिक परिवर्तनको उत्कर्ष बिन्दुमा पुगेका बालबालिकाहरुले लगत्तै किशोरावस्थाको यात्रामा अगाडि बढ्ने अवसर पाउँछन् । उच्च महत्वाकांक्षा र मानसिक समायोजनको बाटो अवलम्बन गर्ने यस समयावधिभित्र अनुकूल वातावरणको खोजीमा उनीहरु हुन्छन् । वास्तवमै १३–१४ वर्षदेखि १८–१९ वर्ष सम्मको यस अवधि बालबालिकाका लागि अत्यन्तै महत्वपूर्ण र बाबुआमाको लागि समस्यापुर्ण अवधी हुन्छ । यस समयमा उनिहरु अन्तर्मुखी, स्वनियन्त्रित र रिसहा प्रवृत्तिका हुन्छन् । युवावस्थाको सन्धीको समय भएकाले उनीहरु स्वतन्त्रताप्रेमी हुन्छन् भने केही जिम्मेवारीका भावहरु देखाउँदै जाने पनि हुन्छन् । शारीरिक बनावटमा आउने तिव्र परिवर्तनले उनीहरुमा केही आश्चर्यका भावहरु उत्पन्न हुने गर्दछन् भने केही मात्रामा भय उत्पन्न हुने हुँदा आधीँ र तुफानको समय भनेर पनि यो अवधिलाई लिइन्छ । आफुले देखेका कामहरू स्वतन्त्र रुपमा गर्न रुचाउँले उनीहरुले बाह्य व्यक्तिको हस्तक्षेप सहदैनन् । आफ्नो इच्छा विपरीत पारिवारिक दमन र अन्य व्यक्तिको नियमन नरुचाउने स्वभाव हुने भएकाले किशोरावस्थालाई संक्रमणकालीन, समस्याग्रस्त र भयावह अवस्था भनिएको हो ।

यस अवस्थाका बालबालिकाहरु आफ्नो छुट्टै पहिचानका साथ समाजमा अस्तित्व खोज्ने, अधिक महत्वाकांक्षी प्रवृत्ती देखाउने, साथी समूहमा रमाउन चाहने र नयाँ मुल्यको खोजी एवं समझदारी पुर्ण व्यवहार गर्न रुचाउने हुन्छन् । यो समय अवास्तविक जीवन यथार्थको समय भएकाले उनीहरुले सकारात्मक र नकारात्मक दुवै पक्षका दिवास्वप्नहरुमा रमाउने गरेका हुन्छन् । जस्का कारण उनीहरु छिनभरमै प्रसन्न र हर्षित रहन्छन् भने कुनै समय डराउने, दुखी हुने र इष्र्यालु रुप धारण गर्ने हुन्छन् । तसर्थ यो अवस्थालाई समस्यापुर्ण अवस्था पनि भन्ने गरिन्छ ।

दौतरी समूहको प्रभाव ग्रहण गर्ने र तदनुकुल व्यवहार गर्न रुचाउने केटाकेटी विपरीत लिङ्गप्रती आकर्षित हुने गर्दछन् । वयस्क अवस्थाको निकट जिम्मेवारी र पारिवारिक पृष्ठभूमिमा समर्पणको भावना जागृत हुन्छ । आफ्नो भविष्यप्रती चिन्तित हुने र उद्देश्य निर्धारणको समय भएकाले यतिबेला केटाकेटी गम्भीर पनि देखिन्छन् । बाल्यावस्थामा सिर्जित मनोभावना र उत्पन्न जिज्ञासाको जवाफ आफैं खोज्न सक्ने भएपछि उनीहरु प्रसन्न बन्छन् । शारीरिक सुगठनले प्राप्त गर्ने आकार, तौल र उचाइ जस्ता पक्षले स्थायित्व प्राप्त गर्ने भएकाले उनीहरु परिपक्व देखिन्छ । आन्तरिक र बाह्य दुवै पक्षको परिवर्तन र परिणामले उनिहरु राम्रा र हृष्टपुष्ट पनि देखिन्छन् ।

किशोरावस्थाका रुचिहरुमा व्यक्तिगत, सामाजिक र शैक्षिक गरी तीन प्रकार हुन्छन् । साथी समुहको लवाइखवाई, राम्रो र अरुभन्दा फरक बन्ने हुटहुटी उनीहरुमा सिर्जना हुन्छ । जसको परिपुर्तिका लागि धनसम्पत्तिको अपेक्षा बढ्ने हुन्छ । आफू आत्मनिर्भर बन्न चाहने र सौन्दर्य प्रतिको रुचिका कारण अलिक प्रशंसाका भोका हुन्छन् । आफुले अपेक्षा गरेको वस्तु तत्कालै प्राप्त गर्न चाहने हुनाले केही जिद्दी र हठी स्वभाव देखा पर्छ भने उपलब्धिको मापन विन्दु पहिचान गर्न नसक्दा उनीहरु दुखी पनि बन्छन् । अरुको आलोचना र प्रशंसा गर्ने प्रवृत्तिले सामाजिक बन्ने हुन्छन् । कुलतमा लाग्न सक्ने सम्भावना हुने भएकाले यो जटिल समय हो भने सामुहिक जीवनशैली ज्युन चाहने भएकाले केटाकेटीहरु सहयोगी बन्छन् । समसामयीक घटनाक्रम र मनोरञ्जनका कार्यहरुमा अधिक रुचि देखाउँछन् । खेल खेल्न र भ्रमणमा रुचि देखाउने उनीहरुले सन्दर्भ अनुसारका नयाँ कुराहरू सिक्न पनि लागिपर्छन् ।

केटाकेटीहरु उमेरगत अवस्था अनुसार भिन्नाभिन्नै स्वभावका भए पनि समग्रमा अभिभावकको इच्छा र चाहना विपरीत कार्य गर्ने कमै हुन्छन् । बालबालिकाहरु बढ्दो उमेरसंगै उच्श्रृंखल हुन्छन् । विद्रोही र घमण्डीपनले गालेको हुन्छ । उनीहरुलाई वशमा राख्न सकिदैन भन्ने सोच्नु नादानी हुन्छ । उनीहरुलाई समस्याग्रस्त नजरले हेर्नू भन्दा संवेदनशिल, मायालु र करुणामय नजरले हेर्नू जरुरी हुन्छ । उनीहरुले अति आदर्शवादलाई रुचाउँदैनन् । स्वार्थी र भलाद्मीपनका विरुद्ध जस्तोसुकै तर्क गर्न पछि नपर्ने उनिहरु स्वतन्त्रताका पुजारी हुन्छन् । किनकी उनीहरुलाई निर्भयताको मार्गमा सत् प्रेरणा प्रदान गर्न सकेमा उनीहरुबाट जुनसुकै अपेक्षा पुर्ण गर्न सकिन्छ । बालबालिका इश्वरका निर्विकार अवतार हुन् । उनीहरुको मनोभावनाको कदर स्वरुप उपयुक्त वातावरण र व्यवहारले सम्बोधन गर्न सके भोलिको पुस्ता उदारणिय बन्ने अवश्य प्रायः हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->