मानिस यो संसारमा जन्मिएको प्राणी जगतमा सर्वश्रेष्ठ प्राणी हो । मानिस स्वभावैले परिवर्तनशिल हुन्छ । मानव जीवनमा अपरिहार्य चिज खोजिन्छ र छ भने त्यो परिवर्तन हो । मानिसले जन्मदेखि मृत्युुसम्म निरन्तर नयाँ र नवीन कार्यमा आफुलाई अन्तर्घुलित बनाउन चाहान्छ । मानिसले स्वयं परिवर्तन हुने प्रक्रियालाई अन्तर्हृदयबाट स्वागत गर्दछन् । आफु, आफ्नो गाउँ र समुदायले उचित मात्रामा परिवर्तनको स्वाद नपाएको पत्तो पाए मानिस विद्रोही बन्छन् । जुन विद्रोहले नेपालको हकमा सत्ता सामिकरण नै खल्बल्याउने सामार्थ्य राख्छ ।
पुरातनवादीहरुले उचित निकासको अभावले वर्तमानलाई नपच्याउने गरेका हुन्छन् । यथास्थितिवादीहरुले जस्तो छ त्यस्तैमा चित्त बुझाउनुको विकल्प देख्दैनन् । भने प्रगतिवादिहरुले वर्तमानमा भएका गतिविधि भन्दा भिन्न तर अस्वाभाविक परिवर्तन काल्पनिकताको रुप देखाउँछन् । यी तिनै स्वरुपका नेतृत्वबाट विकासको नामले फक्रीने अवसर नपाउने र नपाएको इतिहास बलेवामा छ । यहाँ कम्युनिष्टका नाममा धुरन्धर नेता कार्यकर्ताहरुको जमात छ । प्रजातान्त्रिक विचार धाराको भरोसामा बाँचेका मानिसहरू पनि प्रसस्तै छन् । भने यहीँ भुमिमा जन्मिएर देशविदेशमा ख्याती कमाउने मन्त्री, सांसद, नेता, कार्यकर्तादेखी उद्योगी, व्यापारी, डाक्टर, इन्जिनियर, शिक्षक, सामाजिक अभियान्ता लगायतका उच्च पदस्थ व्यक्तिहरुको परिचय सर्वत्र छ ।
जुन प्रशासनले शासन गरिरहेको छ । त्यही प्रशासनले आफ्नो समस्या नदेख्दा किन चुप लागि रहेछन् जनता? जुन जनप्रतिनिधि र नेताहरुलाई जनमत दियौं । तिनै जनप्रतिनिधिले किन देख्दैनन् जनताका दुख ? किन बुच्पच्याउछन् जनताका सेवकहरु ? किन सम्बोधन गर्न सक्दैनन् जनताका मागहरू ? आखिर विकासका पर्याय हुँ भन्नेहरुले किन दैनिक जीवनयापनको असहजता महशुस गर्न सक्दैनन् ? किन आफ्नो गर्विलो इतिहासलाई मेटाउन खोज्दै छन् ? म अचम्ममा परिरहे छु ।
आखिर विकेन्द्रीकरण किन ? संघ, प्रदेश र स्थानीय तहका सरकार बनाएर जनताका समस्या सम्बोधन गर्न होइन ? वडादेखि, पालिका, प्रदेश सभा र संघीय सरकारसम्म एउटै पार्टीको सरकार हुँदा समेत किन वलेवाली जनताले आफ्नो सरकारको महशुस गर्न पाएका छैनन् ? जनताको शासन भनेर बट्कारा मार्ने नेताले किन जनताको अनिवार्य आवश्यकता बुझ्दैनन् ?
आफुले अभिमत दिएर जिताएका नेताहरु जनताका अभिभावक हुन् । स्थानीय जनप्रतिनिधि मात्र नभएर पालिका, प्रदेश र संघका लागि जिताएर पठाइएका नेताहरुप्रति जनताले अभिभावकिय दृष्टिमा सम्मान गरेका हुन्छन् । स्थानीय जनप्रतिनिधिहरु नजिकका अभिभावक हुन् । उनिहरुले जनताका ससाना समस्यादेखि पर्व, उत्सव र अन्य शुभाशुभ कार्यहरुमा समसाथ दिनुपर्छ । अन्य नेताहरुलाई संवेदनशिल अवस्थामा मात्रै सर्वसाधारणले सम्झिने गर्दछन् । स्थानीय स्तरका नेताहरूले चाहेर पनि टाढा भाग्ने अवस्था नहुने भएकाले जनतालाई जेनतेन मन बुझाउन राजी हुन्छन् तर अन्य नेताहरूले जनता चिन्न मुस्किल नै हुन्छ । चुनावदेखि नै अघिपछि लाग्ने चाप्लुसी प्रवृत्तिका कार्यकर्ता र अन्य व्यक्तिलाई आफ्नो स्वार्थ पूरा गर्ने हेतुले साटो हालेका मान्छे बाहेक अरुलाई चिन्ने चलन नेपालमा छैन ।
जन्मिएको गाउँको विकास र परिवर्तन नचाहने मानिस प्रायः यो भुमण्डलमा छैन नै, तर विडम्बना बलेवाबासी जनतालाई एउटै समस्याले वर्षौंदेखि पिरोली रहेको छ । रोग र भोकको चित्त बुझाउन नसक्नु जनताको कमजोर अवस्था हो । बा.न.पा १० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले वर्षौं अघिबाट बाल, वयस्क, कृषक, उद्योगी, व्यापारी, नेता, कार्यकर्ता सबैलाई दुख दिएको छ । रोगि, वृद्ध, अपाङ्ग, गर्भवती महिला र गरिब किसानहरुलाई पनि दुखबाट अछुतो राखेको छैन । भने अथाह धनसम्पत्ती भएका र ऐशआरामको जीवन ज्युँनेहरुको पनि रातको निद न दिनको भोक बनाएको छ । तर पनि किन यस्को उचित निकास खोज्न सबै सबै असमर्थ छन् ? जुन भुमिले नेपालको राजनैतिक इतिहासमा छुट्टै विरासत बोकेको छ । यसर्थ कि जन्मका हिसाबले बागलुङ जिल्लाको वलेवा क्षेत्र नेताहरूको उर्वर भुमी नै मानिन्छ । पुर्व शिक्षा मन्त्रीहरू द्वय दिनानाथ शर्मा र देवेन्द्र पौडेल यहि क्षेत्रका नेता हुन् । संघ र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु बलावती पौडेल, डिल्लीराम सुवेदी र कृष्ण पाठक लगायतका नेताहरू जन्माउने भाग्यमानी भूगोल बलेवा हो । त्यति मात्र नभएर आफ्नै ठाउँका युवा नेता पुर्व संघीय सांसद डा. सुर्य पाठकलाई पराजित गराएर राजमो अध्यक्ष चित्रबहादुर केसीलाई विजय गराउन निर्णायक अभिमत दिने जनता पनि यहीँ ठाउँका हुन् । त्यसो त समस्या समाधानका लागी चित्रबहादुर केसीको नाम लिनु पनि अनुचित हुँदैन ।
विकासका नाममा वलेवाली जनताले अर्धवार्षिक रुपमा सञ्चालन हुने सडक पाएका छन् । घण्टौंको यात्रामा दाउरा, घाँस गरेर वृद्धावस्थामा टेकेका वृद्धवृद्धाहरुलाई यो सुविधा जस्तो देखिए पनि, मुल सडकको नाजुक अवस्थाले दैनन्दिन क्रियाकलापमा असहज भने अवस्य भएको छ । जनताले हिउँदै सडकबाट केहि सुविधा पाए पनि बर्खे झरीमा नुनिलो मुख गराउन ज्यानको बाजी लगाएर सदरमुकाम पुग्नुपर्छ । उपचारका लागि डेढ घण्टाको यात्रालाई तय गर्नु सामान्य कुरा हो । यहाँका नागरिकले अञ्चल अस्पतालको परिवेश मात्रै भेट्न गाडीसङ्ग ५÷६ सयको सम्झौता गर्नुको विकल्प छैन । त्यस माथि पनि स्वास्थ्योपचारको सुविधाका विषयमा उत्पन्न चुनौती त कति छन् कति, दैनिक जसोको भिडका कारण एकै दिनमा अस्पतालबाट सामान्य बिरामीले समेत मुक्ति पाउदैनन् । अन्ततः आधा एक घण्टाको बाटोले नपाएको निकासमा पिल्सिनु उनिहरुको बाध्यता हुन्छ र आफ्नै उत्पादनले रत्तिभर बजार नपाउने शहरमा महङ्गो मुल्य तिरेर रात बिताउनु पर्छ । यो स्थिति आउनुमा आखिर कस्को दोष छ ? स्थानीय जनताले दोषीको पहिचान गर्न नसक्नु नै दुख पाउने बाटो भएको छ । अन्यथा वलेवा क्षेत्रका जनता एकजुट भएर किन बोल्न सक्दैनन् ? कि स्थानीय स्तरमा देखिने यस्ता यावत् समस्याको समाधानमा राजनैतिक वृत्तले छेकेको हो ? यदि त्यस्तो हो भने “छोड्नु पर्छ राजनैतिक पार्टीको अनुशासन“ “बन्नुपर्छ स्वतन्त्र“ र “गर्नुपर्छ विद्रोह“ जनताले राजनैतिक पार्टीको झण्डा मात्रै परित्याग गर्न सके विद्रोही स्वरहरु फक्रिने अवसर अवस्य पाउँछन् । त्यसपछि न सत्तासिनको छाँया न प्रतिपक्षको उक्सावट जनताले आफ्ना माग स्वतन्त्रतापुर्वक राख्न पाउँछन् ।
समस्या कहिँ टाढा र दुर्गम गाउँको होइन । जहाँ सवारी साधन नै पुग्न नसकून् । यो त उचित निकास पाए दैनिक हवाई यात्राको सम्भावना रहेको ठाँउ बागलुङ जिल्लाको वलेवा क्षेत्रको हो । बागलुङ नगरपालिकाले समेटेको यस भूगोलका ३ वडा १२, १३ र १४ लाई पालिका कै वडा नं.१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले वर्षौंदेखि असहज बनाइ रहेको हो । उचित निकायबाट समुचित निराकरणको उपाय नखोजिदा पहिरोले बृहतआकार सहित भिमकाय रुप धारण गरेको छ । जसका कारण आसपासका मानिसहरुको धनजनको क्षती हुनुका साथै जीवन नै सङ्कट ग्रस्त भएको छ । भने सङ्गैका वडाहरुले पदमार्ग समेत नपाएको अवस्था छ । एउटै पहिरोले एउटै सडकको तीन ठाउँमा क्षति पु¥याउदा वैकल्पिक मार्गको सम्भावना समेत न्यून हुँदै गइरहेको छ । जसका कारण पहिरो रोकथामको निकास बिना बलेवा क्षेत्र लगायत बागलुङको समग्र दक्षिण भेग सडक संजाल बिहिन बन्दै गएको छ । वलेवा क्षेत्रको दूध, तरकारी जस्ता अत्यावश्यक वस्तु र अन्य उपभोग्य वस्तुको विनिमय प्रणाली चौपट भएको छ । अमलाचौर बासी जनताले घाटसम्म पुग्ने बाटो पाएका छैनन् । वडाहरुमा खनिएका मुल सडकदेखि सहायक सबै प्रकारका सडकहरु जिर्ण छन् ।
अमलाचौर र पैयुपाटको सिमानामा रहेको ढापा खोलाको वर्खे भेलले सवारी आवागमन अवरुद्ध हुन्छ । उता जैमिनी नगरपालिकासङ्ग जोडिएको अमलाचौर तारेभिर, कुस्मिशेरा खण्डको सडक मर्मत संहार नहुँदा दुई पालिकाबिचको दुरि बढ्दै गइरहेको छ । कुश्मिसेरादेखि बागलुङ जोड्ने वैकल्पिक मार्गका रुपमा रहेको यस सडकको दुख नदेखिनु दुःखद् छ । बागलुङ बासी जनताको विमान चढ्ने सपनालाई पूरा गर्न निर्माण सम्पन्न भएको वलेवा विमानस्थल सञ्चालनका लागि अब कति समय प्रतीक्षा गर्नु पर्ला ? वलेवाली जनताको पहिलो र अन्तिम वैकल्पिक मार्ग बनेको कैया बडागाउ झोलुङ्गे पुल जोड्ने पदमार्गले कहिले उद्घार पाउने ? यी र यस्ता अनेकौं समस्याका चाङ हुँदाहुँदै वलेवाली जनता किन चुप लागेर बसेका छन् ? किन तात्दैन बलेवाली जनताको रगत?
आखिर बलेवालाई बागलुङ नगरपालिकादेखि एउटै पहिरोले छेक्छ भने किन पालिकामा जोडिएको ? जैमिनी नगरपालिकाले छोडेको बागलुङ नगरपालिकाले बाह्रै महिना समेट्न नसकेको यस्तो जटिल परिवेशमा वलेवाको विकास कसरी हुन सक्छ ? कि छुट्टै गाउँपालिकाको अवधारणा आवश्यक छ । पहिरो नियन्त्रण र समग्र वलेवाको विकासका लागि वलेवा क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेता, कार्यकर्ता, समाजसेवी, सामाजिक अभियानता र स्थानीय जनप्रतिनिधिहरुले कस्तो खाका कोर्नु भएको छ ? कि त यसको उचित निराकरण खोजिनु पर्छ । कि प्रभावित क्षेत्रका पालिका र जनप्रतिनिधिहरुले उपल्लो निकाय समक्ष दबाब दिन सक्नु पर्छ । एम्बुलेन्स समेत हिंड्न नमिल्ने सडकको उद्धार गर्नु त परै जाओस् बाटो अबरुद्ध भएपछि मात्र एकतर्फी खुलाउने नियतले झनै समस्या उत्पन्न भएको छ ।





